टिपिएसको म्याद थपियो

March 13, 2019

एभरेष्ट टाईम्स् /न्युयोर्क

टेम्पररी प्रटेक्टेड स्टाटस् (टिपिएस) को म्याद अब जुन २४, २०१९ मा समाप्त नहुने निश्चित भएको छ । टिपिएसको म्याद बढाउँने लगायत स्थाई समाधानको लागि पैरवी गर्दै आएका संस्था अधिकारका अनुसार उत्तरी क्यालिफोर्निया स्थित नवौ सर्किट अदालतमा नेपाल र होन्डुरसको टिपिएसको म्याद खारेज नगर्न मुद्दा दायर गर्ने ‘भट्टाराई बिरुध्द नील्सन’ विचमा सम्झौता भएको छ । सम्झौता बमोजिम नेपाल र होन्डुरसको मुद्दा पनि सुडान, एल साल्भाडोर, हैटी र निकारागुवासंगै निर्णय गरिने भएको छ । सो निर्णय नहुन्जेन नेपालको टिपिएस स्वत: कायम रहने भएको छ ।

“अदालतबाट ‘भट्टराई बिरुध्द नील्सेन’ मुद्दाको वादी र अमेरिकी सरकार बीचको सम्झौता भएकोले जुन २४, २०१९ पछिको समयावधि स्वतः लम्बिनेछ र अघिल्लो ‘रामोस् बिरुध्द नील्सेन’ मुद्दाको अन्तिम निर्णय नभएसम्मको अवधिको लागि हामी सुरक्षित भएका छौं,” अधिकारद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

‘रामोस् बिरुध्द नील्सेन’ मुद्दा सुनुवाईको मिति अहिलेसम्म तय भई सकेको छैन । आगमी गृष्म वा त्यसको केहि पछि हुने सम्भावनाको अपेक्षा गरिएको छ। यदि दुवै पक्षले उक्त निर्णयको फेरि उजुरी नगरेमा मुद्दा त्यहीं अन्त्य हुनेछ ।

‘रामोस् बिरुध्द नील्सन’ मुद्दाको अघिल्लो फैसलामा एलसाल्भाडोर, सुडान, हैटी र निकारागुवाको टीपीएस मुद्दामा उत्तरी क्यालिफोर्निया नवौ सर्किट अदालतका न्यायाधिसले अस्थायी आदेश जारी गर्दै एलसाल्भाडोर, सुडान, हैटी र निकारागुवाको टीपीएस समाप्त नगर्न अमेरिकी सरकारलाई आदेश दिएका थिए । अमेरिकी सरकारका तर्फबाट सो निर्णयको पुन: सुनुवाई माग गरेकोले अब नेपाल र होण्डुरसको टीपीएसबारेको फैसला पनि उल्लेखित चार देशको टिपिएस सम्बन्धमा लिइने अन्तिम फैसलासँगै हुने भएको छ ।

टीपीएसको सन्दर्भमा अहिले कुनै कदम चाल्नु नपर्ने र टीपीएसको सुविधा निरन्तरता रहने अधिकारले जनाएको छ । सेवाग्राहीबाट बिभिन्न फाईदा लिन अनेक शुल्क लिन खोज्ने व्यक्तिहरु र संस्थादेखि सावधान रहन अधिकारले अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार