महाभियोगमा सिनेटद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई सफाइ

February 6, 2020

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको सुनवाइमा अमेरिकी सिनेटले उनलाई सफाइ दिएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले बुधबार उनीमाथि लागेको सत्ता दुरुपयोगको आरोप ५२–४८ भोटले खारेज गरेको थियो भने ५३–४७ भोटले कँग्रेस अवरुद्ध गरेको आरोप पनि खारेज गरेको थियो ।

डेमोक्रेटिक सांसदले आगामी राष्ट्रपति चुनावमा आफ्नो सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न युक्रेनमाथि दबाब दिएको ट्रम्पमाथि आरोप लगाएका थिए ।

यही वर्षको नोभेम्बरमा अमेरिकीमा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । महाभियोगको सामना गरेपछि पनि चुनाव लड्न लागेका ट्रम्प राष्ट्रपतिका पहिलो उम्मेदवार हुन् ।

बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय लिएको छ । उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप थियो ।

यदि ट्रम्पमाथि लगाइएको कुनै पनि आरोप सिद्ध भएको भए उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई सुम्पेर राजीनामा दिनुपर्ने थियो ।

डेमोक्रेटिक पार्टीको नेतृत्व भएको हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी काँग्रेसको प्रतिनिधिसभा) ले गत १८ डिसेम्बरमा महाभियोगको मन्जुरी दिएको थियो ।

सम्बन्धित समाचार