ट्रम्प र किमबीच तेस्रो ऐतिहासिक भेटवार्ता

July 4, 2019

-बीके नेवा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच तेस्रो पटक ऐतिहासिक भेटवार्ता भएको छ । यो भेटवार्ताले निश्कर्षमा पुग्न नसकेको भियतनाम शिखरवार्तालाई नयाँ गति दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै उत्तर कोरियाली नेता किमसँग दुई कोरियाबीचको सिमाना (असैनिक क्षेत्र)मा जुन ३० मा दुई नेताको भेट भयो । जहाँ दुई नेताले आपसमा हात मिलाएको क्षणलाई ऐतिहासिक भनिएको छ ।

 

लेखक

जापानको ओसाकामा सम्पन्न जी—२० शिखर सम्मेलनमा भाग लिई दक्षिण कोरियाको राजधानी सोल पुगेका ट्रम्पले उत्तर कोरियाली नेता किमलाई कोरियाली सिमाना पार गरेर नै भेट्नुभयो । ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बन्न पुग्नुभयो ।

दुई नेताबीचको डेढ वर्षको अन्तरालमा भएको यो तेस्रो आमने सामने भेट हो । उहाँहरुबीचको भेट त्यो स्थानमा भयो जुन सन् १९५३ को कोरियाली युद्धपछि विभाजित कोरियाली प्रायद्विपको प्रायः तनावग्रस्त रहँदै आएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेपछि हतारहतार आयोजना गरिएको भेटका क्रममा दुई नेताले दुई कोरियाबीचको सीमा रेखामा आपसमा हात मिलाउनुभयो । त्यसपछि ट्रम्प केही बेरका लागि उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिनुभयो जुन क्षणलाई दुई देशबीचको कूटनीतिको साङ्केतिक कोसेढुङ्गो मानिएको छ ।

सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सम्झौता गरिएको रेखासम्म कैयौँ अमेरिकी राष्ट्रपतिहरूले भ्रमण गरिसकेका छन् । ती सबै भ्रमणका बेला दक्षिण कोरियालाई अमेरिकाको समर्थन प्राप्त छ भन्ने सन्देशका रुपमा हेरिने गरिन्थ्यो ।

यसपटक ट्रम्पले त्यो सीमा क्षेत्रको भ्रमणलाई हेर्ने दृष्टिकोणमा नै केही फेरबदल ल्याइदिनुभयो । उहाँले दूरबिन र बमप्रतिरोधक ज्याकेटको सट्टा आफूले सधै लगाउने सुट लगाएर त्यहाँ पुग्नुभयो । किमसँगको उहाँको भेट र उत्तर कोरियाली भूमिमा उहाँले राखेको पाइलाले नयाँ इतिहास रचिदियो ।

‘यो ठूलो सम्मान हो । थुप्रै प्रगतिहरू हासिल गरिएको छ । यो वास्तवमै ठूलो मित्रता भएको छ’, उत्तर कोरियाली नेताका बारेमा ट्रम्पले भन्नुभयोे, ‘यो विश्वकै लागि ठूलो दिन हो ।’

ट्रम्पसँग भेटपछि मुस्कुराउँदै नेता किमले भन्नुभयो, ‘मलाई के विश्वास छ भने यो विगतको दुर्भाग्यपूर्ण इतिहासलाई नष्ट गर्ने र नयाँ भविष्यका लागि प्रस्थान गर्ने अभिव्यक्ति हो ।’ दुई नेताहरूले हात मिलाएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन पनि उहाँहरुसँगै रहनुभयो । त्यसपछि किम दक्षिण कोरियाली भूमिमा जानुभयो । ट्रम्पसँगै उभिएर पत्रकारहरू सामु विरल प्रतिक्रिया दिँदै आफूहरूबीचको भेट गजबको सम्बन्धको प्रतीक भएको बताउनुभयो ।

ट्रम्पले यो भेट ‘साँच्चै नै ऐतिहासिक’ क्षण भएको बताउँदै आफू दुई कोरियाबीचको सीमा पार गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो । सिमानामा हात मिलाएको क्षण जत्ति नै अनौठो लागे पनि अमेरिका र कोरियाबीच अझै कार्यगत तहमा वार्ता गर्नुपर्ने अवस्था छ । अझै पनि दुवै देशले परमाणु अस्त्र निशस्त्रीकरणको मुद्दालाई गहन ढङ्गले हेर्नेपर्ने भएको छ । उत्तर कोरियासँग परमाणु अस्त्र छ । त्यसलाई नष्ट गर्नेतर्फ प्रगति हुन सकेको छैन ।

परमाणु विवाद आफ्नो ठाउँमा भए पनि जुन ३० को ऐतिहासिक ट्रम्प—किम हात मिलाईको क्षणलाई ठूलो उपलब्धि मानिएको छ । त्यसले दुई नेताबीच व्यक्तिगत रूपमा मेलमिलाप हुन सक्ने देखाएको छ ।

उत्तर कोरियासँगका वार्ता र उसलाई विवादास्पद परमाणु अस्त्र कार्यक्रम परित्याग गर्न मनाउने प्रयास गत वर्ष सिङ्गापुरमा ट्रम्प र किमबीच भएको ऐतिहासिक बैठकको बेला उत्कर्षमा पुगेको थियो । त्यतिबेला दुवै पक्षले कोरियाली प्रायद्विपको पूर्ण निशस्त्रीकरणका लागि प्रतिबद्धता जनाएका थिए ।

गत फेबु्रअरीमा भियतनामको हनोइमा भएको दोस्रो शिखर बैठकमा त्यस विषयमा थप प्रगति हुने आशा गरिएको थियो । तर त्यतिबेला उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने र त्यसको बदलामा ऊमाथि लगाइएका प्रतिबन्धहरू हटाउने गरी सहमति हुनपर्नेमा त्यसो हुन सकेन । हनोइ वार्ता विना कुनै सहमति टुङ्गिएकाले उत्तर कोरियामाथिका प्रतिबन्धहरू फुकुवा हुने गतिका विषयमा कुनै टुङ्गो लागेन । त्यसपछि दुईपक्षीय वार्ता भएको थिएन । तथापि ट्रम्प र किमले हालै आपसमा पत्रहरू आदानप्रदान गर्दै सम्बन्ध सामान्यीकरण गर्ने प्रयास जारी राख्नुभयो ।

अङ्ग्रेजीमा डिमिलिटराइज्ड जोन वा डीएमजेड भनिने यो दुई कोरियाबीचको सीमा क्षेत्रको असैनिकीकृत क्षेत्र हो । दुई देशबीचको सम्बन्ध राम्रो भएको बेला यस क्षेत्रमा पर्यटक पनि जान सक्छन् । यो असैनिकीकृत क्षेत्र करिब ४ किलोमिटर चौडा र २५० मिटर लामो छ । सन् १९५३ मा दुई कोरियाबीचको युद्धको समाप्तिपछि त्यसले नै दुई कोरियालाई विभाजन गरेको छ । असैनिकीकृत क्षेत्र भन्नाले त्यहाँ कुनै सैनिक वा सैन्य सामग्री राखिनु हुँदैन । तर वास्तविकता के हो भने यो नै विश्वकै सम्भवतः सबैभन्दा धेरै सैन्य क्रियाकलाप हुने सीमा क्षेत्रहरू मध्येको पर्दछ । यो पान्मुन्जोम गाउँमा रहेको संयुक्त सुरक्षा क्षेत्र सैन्य सीमा रेखा नजिकै पर्दछ । यही क्षेत्रमा दुई कोरियाबीचका वार्ता हुने गरेका छन् ।

प्राविधिक रूपमा अहिले पनि युद्धकै अवस्थामा रहेका दुई कोरियाबीच सम्बन्ध सुधार भएको अवस्थामा यो क्षेत्रमा पर्यटकहरू पनि जान सक्छन् । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले एक समय यसलाई विश्वकै सबैभन्दा डरलाग्दो ठाउँ भन्नुभएको थियो । त्यही ठाउँमा ट्रम्प सहजै पुगी उत्तर कोरियाली नेतासँग हात मिलाएर उत्तर कोरियाली भूमि टेक्नुभयो । यो वास्तवमै महत्वपूर्ण क्षण भएको छ ।
ट्रम्प र किमबीच सन् २०१८ को जुनमा सिङ्गापुरमा पहिलो ऐतिहासिक शिखरवार्ता भयो । यो वार्तासँगै आणविक युद्धको अवस्था नाटकीय ढङ्गले परिवर्तन भयो । अमेरिका र उत्तर कोरियाबीचको कटुतामा कमी आयो ।

दुई कोरियाबीच नाटकीय ढङ्गले तनावमा कमी आयो । उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता भयो । शत्रुतापूर्ण सम्बन्धबीच भएको वार्ताले उल्लेख्य प्रगति गरेसँगै कोरिया प्रायद्वीपमा स्थायी शान्ति कायम हुने आशा पलाएको छ । दुवै कोरिया शान्ति सम्झौता गर्न तयार भएका छन् । यो सबैका लागि खुसीको विषय हो । वार्ता नभई आणविक युद्ध हुन्छ कि भन्ने त्रास फैलिएका बेला भएको शिखर वार्ताले सुखद सन्देश दियो ।
उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच सन् २०१८ को सेप्टेम्बर १८—२० मा प्योङयाङमा दोस्रो शिखर वार्ता सम्पन्न भयो । दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तर कोरिया जानुभयो ।। उत्तर कोरियाका नेता किम र मुनबीच पहिलो शिखर वार्ताको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भयो । दुवै नेताले दुई कोरियाबीचको तनाव हटाई मेलमिलाप कायम गर्न सहमत हुनुभयो ।

यसअघि सन् २०१८ को अप्रिल २७ मा उहाँहरुबीच पहिलो शिखर वार्ता भएको थियो । शिखर वार्ताका लागि पहिलो पटक उत्तर कोरियाली नेता किम दक्षिण कोरियाली भूमिमा जानुभयो । ६५ वर्षपछि उहाँले दक्षिण कोरियाली भूमिमा पाइलो राख्नुभयो । दुवै नेताबीच दक्षिण कोरियाको पान्मुन्जोमस्थित शान्तिगृह(पिस हाउस)मा सौहार्दपूर्ण वातावरणमा चरण चरणमा वार्ता भयो ।

यो शिखर वार्ताले ६५ वर्ष लामो युद्ध अन्त्यको घोषणा गर्यो । दुवै नेता शान्ति सम्झौतामा हस्ताक्षर गर्न दुवै नेता सहमत हुनुभएको छ । शिखर वार्ताको अन्त्यमा पान्मुन्जोम घोषणा पत्रमा दुवै नेताले हस्ताक्षर गर्नुभयो । दुवै नेताले अब युद्ध नगर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । साथै, कोरिया प्रायद्विपलाई आणविक अस्त्र मुक्त क्षेत्र बनाउने,दुई कोरियाबीचको सीमा सैनिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने प्रण गर्नुभयो ।

फलस्वरुप दुई कोरियाबीचको तनाव घटेको छ । कोरिया प्रायद्विपमा तनाव कम गराउन अमेरिकी राष्ट्रपति ट्रम्पले खेल्नु भएको ऐतिहासिक भूमिका आफैमा महत्वपूर्ण छ । अब उत्तर कोरियामाथिको अमेरिकी नाकाबन्दी हटाउँदै सम्बन्ध सुधार गर्न सकेको खण्डमा आणविक युद्धको खतरा टरेर जानेछ ।