तामाङ समुदायले मनाए ल्होछार

February 9, 2020

ङिमा पाख्रिन

न्युयोर्क । ‘कुटुमा कुटु’ बोलको गीतमा बालबालिकाहरु छमछमी नाचेर सक्न साथ राम पाख्रिन हातमा डम्फू बोकेर स्टेजमा उत्रे । उनले भने, ‘अब हाम्रा नानीहरुलाई डम्फूमा सेलो नाच्न सिकाउनु पर्छ ।’ हलमा तालीको आवाज गुञ्जियो । उनले थप केहीलाई समेत स्टेजमै बोलाए ।

सबैले डम्फू बोकेर ‘नाची देउ मैच्याङ तिमी डम्फूको तालैमा’ गाउँदै सेलो पारामा कम्मर मर्काए । तामाङ मौलिक भेषभुषामा सजिएका भाइबहिनीका एक समूहले पनि उनीहरुको नाचलाई दुरुस्तै पछ्याए । समूहमा अमेरिकामा जन्मेका पुस्ताका रिचा तामाङ, अमिस लामा, आर्चिन तामाङ, विमर्श तामाङ, डाईलन तामाङ, जेसोन तामाङ, कुन्साङ गोले, अमिशा तामाङ, विशेषता तामाङ, जस्मिन शेर्पा, परिसा रुम्बा, निना तामाङ लगायत थिए ।

 .              

उल्लेखित माहोल न्युयोर्कस्थित ज्याक्सन हाईटमा गत शनिबार देखिएको हो । तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा तामाङ जातिको महान् पर्व सोनाम ल्होछार (२८५६औं जीवा ल्हो (मुसा वर्ष)को शुभारम्भ अवसरमा ‘ल्होछार शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम’ हुँदा देखिएको उक्त माहोलले निकै नै वाहवाही पायो । हुन त, उक्त कार्यक्रममा पस्किएका सबै नृत्यहरुलाई कुन भन्दा कुन कमको रफ्तारमा सबैले निकै रुचाए, ताली बजाए अनि भरपूर मनोरञ्जन लिएको देखियो । तर उल्लेखित दृश्यले चाहिँ मनोरञ्जनका साथै तामाङ मौलिक संस्कृति बचाउन सही ढंगमा पुस्तान्तरण हुनु पर्ने जरुरी रहेको सन्देशसमेत दिएको थियो ।

पहिलो नृत्य कोसेलीको रुपमा गायिका जिग्मे छ्योकी घिसिङको आवाजमा रहेको ‘डम्फू र टुङ्नामा आम्मैले’ बोलको गीतमा रिन्चेन योञ्जन तामाङ, रिया तामाङ, रिनाश्री लामा र दावा शेर्पाले आकर्षक नाचेर दर्शकहरुको ध्यान ताने । रिन्चेन योञ्जन तामाङ र प्रिया खड्काको जोडीले गायिका मिङ्स लामाको आवाजमा रहेको ‘डम्फुमा सेलो’ बोलको गीतमा नाच्दा दर्शकहरु गज्जबले रमाएका देखिए । सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘हातैमा डम्फु बजाउँदै’ भन्ने गीतको बोलमा गणेश ग्लान, भीमबहादुर तामाङ, अरुसा मोक्तान र रेणु मोक्तान तामाङको समूहले दमदार नृत्यकला प्रस्तुत गरेका थिए । त्यसै गरी ‘घोडाको लगाम ठोकेर’ बोलको गीतमा पेमा योन्जन तामाङ र गीता राईबाट आकर्षक युगल जोडी नृत्य प्रस्तुत गरे ।

मिमा बल, रिया तामाङ, फुरसाङ डोल्मा तामाङ र मिङमा ग्याल्मो तामाङको समूहले चाहिँ गायिका निर्मला घिसिङको ‘चु सेम’ भन्ने बोलको गीतमा नृत्य देखाए । अग्रज गायकद्वय जयनन्द लामा र मीरा राणाको चर्चित गीत ‘हेर्दामा राम्रो’ मा चाँदनी योञ्जन लामा र रोज ङ्याङजोले नाच्दा अधिकांश दर्शकहरुले पनि उठेर नाच्दै साथ दिएका थिए ।

यी आकर्षक नृत्यहरुको कोरियोग्राफी चर्चित नृत्य निर्देशकद्वय धर्मवीर लामा र बिजय नकर्मीले गरेका थिए । मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन रोज ङ्याङजो र अरुसा मोक्तानले अत्यन्तै रोचक पाराले गरेका थिए ।

ल्होछार कार्यक्रमकै लागि पोर्तुगलबाट आइपुगेका चर्चित गायक कुन्साङ वाइबा र वाशिङ्टन डिसीबाट आएका गायक विनोद मोक्तानले मीठामीठा गीतहरु गाएर थप मनोरञ्जन दिलाए । गायक वाइबाले आधा दर्जनभन्दा बढी गीत गाएपछि पनि दर्शकहरुबाट ‘वान्स मोर’ भन्ने ध्वनीले पटक पटक बेलोजिनो हल गुन्जियो । उनले थप केही गीतहरु गाएपछि मात्र बिदा पाए ।

औपचारिक सत्रको कार्यक्रममा स्वागत मन्तब्य दिँदै ल्होछार कार्यक्रम संयोजक निमा गोले तामाङले आ–आफ्ना तह तप्काबाट कार्यक्रमका लागि सहयोग गरेका सबैलाई धन्यबाद दिइन् । उनले भनिन्, ‘हाम्रो टिम स्पिरिटको प्रतिफल नै हाम्रो सफल्ता हो ।’

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष गोमा योञ्जनको अध्यक्षतामा सम्पन्न ल्होछार कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई तथा विशेष अतिथिहरु एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष बाबुराम लामा, नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा थिए । उपस्थित अन्य अतिथिगणमा आयोजक संस्थाका संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु इन्द्र तामाङ, राम तामाङ, भरत मोक्तान, शान्त थोकर, भिजिट नेपाल २०२० का सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठ, ब्रुकलिन बोरो प्रेसिडेन्ट एरिक एल आडम्स, क्विन्स बोरोका एक्टिङ प्रेसिडेन्ट श्यारोन लि, सिनेटर जेसिका रामोस्, एसेम्बलीम्यान ब्राइन ब्रानवेल, क्विन्स बोरो प्रेसिडेन्टका लागि उम्मेदवार एलिजावेथ क्राउली, ब्रुकलिन बोरो साउथ ईस्ट एशिया अफेयर निर्देशक दिलीप चौहान लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु थिए ।

ल्होछार कार्यक्रम औपचारिक सत्रको सञ्चालन आयोजक संस्थाका सदस्य सचिव दीपेन्द्र लामाले गरेका थिए । नेपालमा तामाङ समुदायको सरोकार रहेको प्रदेश ३ को नामकरण नेवा–ताम्सालिङ नगरिएकोमा नेपाल तामाङ घेदुङ लगायत विभिन्न तामाङ संघसंस्थाहरुले गर्दै आएको विरोधको तामाङ सोसाइटी अफ अमेरिकाले पनि समर्थन गरी ऐक्यबद्धता जनाएको उद्घोष गर्दै सञ्चालक लामाले विरोधस्वरुप स्टेजमा कालो पर्दाको पृष्ठभूमि रहेको बताएका थिए ।

शुभकामना मन्तव्यको राख्ने क्रममा प्रमुख अतिथि अमृत राईले समुदायको हित हुने कुराका लागि राज्यले आवश्यक सहयोग गर्ने बताए । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले तामाङ समुदाय अब ल्होछारमा रमाउने मात्र नभई, नेपालमा पहिचानको संघर्ष चलिरहेको अवस्था भएकोले समर्थन, साथ र सहयोगको लागि अपिल गरे । उनले भने, ‘यो हाम्रो तामाङ समुदायको गौरव जोडिएको विषय हो, हामी जहाँ पुगे पनि, बसे पनि हामीसँग गाँसिरहेको हुन्छ । त्यसैले हाम्रो सरोकारको विषय बन्दछ ।’

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले शुभकामना मन्तव्य राख्दै तामाङ जातिको बलिदानको राज्यले कुनै कदर नगरेको बताए । राज्य र राजनीतिक दलहरुले अब यसको क्षतिपूर्ति तामाङ समुदायलाई दिनु पर्ने तर्क राखे । अन्य वक्ताहरुले सोनाम ल्होछारको शुभकामना दिँदै मौलिक कला, संस्कृति, भाषा तथा प्रचलनको विकास र संरक्षणको सेरोफेरोमा मन्तव्य राखेका थिए ।

सहभागीहरु खचाखच भरिएको हलमा कार्यक्रमको अन्त्यमा डिजे एलएसको म्युजिक प्रस्तुतिमा धेरैले भरपूर नाचेर रमाएका थिए । ठाउँ ठाउँमा आ–आफ्नो समूहमा नाचेर रमाएको माहोल निकै रमाइलो देखिएको थियो । एक कुनामा नाचीरहेको समूहमा फोटो खिच्न पुग्दा पसिना पुछ्दै सोम पाख्रिनले भने, ‘हाम्रो चै सिन्धुली समूह हो है !’

 

 

सम्बन्धित समाचार