लक्यान लामाको नेतृत्वमा तमाङ सोसाईटी अफ उत्तर अमेरिकाको नयाँ कार्यसमिती

January 17, 2018

न्युयोर्क— सन २००२ मा स्थापित तामाङ सोसाईटी अफ अमेरिकाको कार्यक्षेत्रलाई फराकिलो बनाईएको छ । न्युयोर्क र आसपासका तामाङहरुलाई मात्र समेट्दै आएको तामाङ सोसाईटी अफ अमेरिका अब अमेरिकाभरी र उत्तर अमेरिकामा बसोबास गर्ने तामाङहरुलाई समेत सँस्थाभित्र अटाउँने गरी बिस्तारित भएको छ । न्यूयोर्कमा शनिबार र आईतबार सम्पन्न दुई दिने उतर अमेरिका तामाङ सम्मेलनबाट आयोजक तामाङ सोसाईटी अफ अमेरीकाको कार्यक्षेत्र बिस्तार गरिने निर्णय भएको हो । सम्मेलनमा अमेरिकाका १३ वटा विभिन्न राज्यबाट १ सय २४ जना प्रतिनिधीहरु र १३ जना पर्यवेक्षक तथा नेपाल, जापान र कुवेत गरी सातजना अन्तराष्ट्रिय सहित १ सय ३७ जनाको सहाभागिता रहेको आयोजकले जानकारी दिएका छन् । सम्मेलनमा भएको छलफललाई आधार बनाएर तामाङ समुदायको हितमा विभिन्न क्षेत्रलाई समेट्दै ११ बुँदे न्युयोर्क घोषणा-पत्र २०१८ जारी गरिएको थियो । घोषणा-पत्रमा उल्लेख भए अनुसार तामाङ सोसाईटी अफ अमेरिकाको सँशोधित नाम ‘तामाङ सोसाईटी अफ उत्तर अमेरिका’ रहेको नव निर्वाचित अध्यक्ष लक्यान लामाले बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष लक्यान लामा तामाङ

सवल समुदाय निर्माणको लागि हाम्रो सँयुक्त अभियानभन्ने नाराका साथ गरिएको सम्मेलनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितीमा लक्यान लामाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा क्यालिफोर्नियाबाट शेर थोकर तामाङ, नर्थ ईस्ट रेजनल उपाध्यक्षमा न्यूयोर्कबाट मनमोहन वाईबा तामाङ, वेस्ट कोस्ट रेजनल उपाध्यक्षमा क्यालिफोर्नियाबाट टेक वाईबा तामाङ, साउथ रेजनल उपाध्यक्षमा ईलिनोसबाट सिर्जना घ्लान तामाङ रहेका छन् । त्यस्तै, महासचिवमा क्यालिफोर्नियाबाट डोल्मा घिसिङ तामाङ, सचिवमा न्यूयोर्कबाट प्रेम स्याङतन तामाङ, कोषाध्याक्षमा न्युयोर्कबाट नाम्गेल लामा तामाङ, सह-कोषाध्यक्षमा न्युयोर्कबाट उमा तामाङ, मेडिया कोअर्डिनेटरमा न्युजर्सीबाट ङिमा पाख्रिन तामाङ चयन भएका छन । कार्यसमितीका सदस्यहरुमा पेन्सलभेनियाबाट मथु लामा तामाङ, टेक्सासबाट सूर्य मोक्तान तामाङ र शंकर तामाङ, मिनिजोटाबाट डिम्पल योन्जन तामाङ र क्यालिफोर्नियाबाट गोबिन्द लामा तामाङ रहेका छन् । नेत्र घिसीङ तामाङको संयोजकत्वमा पवन योन्जन र बिनिता तामाङ सम्मिलित तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरिएको थियो ।

तस्बीर: अशोक पन्त, हाम्रो फोटो
तस्विर: अशोक पन्त, हाम्रो फोटो

उत्तर अमेरिकी तामाङ सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल सरकारका महाबाणिज्यदूत मधुकुमार मरासैनी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका लुईसाङ वाईबा, तामाङ सोसाईटी अफ अमेरिकाका संस्थापक अध्यक्ष सुवास लामा, तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ घेदुङ कुवेतका सल्लाहकार राम लामा, जापानका लागि पूर्व नेपाली राजदूत डा. गणेश योञ्जन, भाषाविद् अमृत योञ्जन, तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व अध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत मोक्तान, सूर्य तामाङ लगायतको सहभागिता रहेका थिए । सम्मेलनमा पूर्व राजदुत डा. गणेश योञ्जनले तामाङको सामाजिक, राजनीतिक अवस्थाको बारेमा, भाषाविद अमृत योञ्जनले तामाङ भाषा र लिपीको बारेमा र मिङमार तामाङले तामाङको आर्थिक पक्षको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

गायक सागर वाईबा, तस्वीर: अशोक पन्त, हाम्रो फोटो

सम्मेलनको अन्तिम दिन आईतबार साँझ ब्रजेश मोक्तान तामाङको संयोजकत्वमा साँस्कृतीक कार्यक्रम डम्फु साँझ सम्पन्न भयो । डम्फु साँझ कार्यक्रमका लागि नेपालबाट आईपुगेका अतिथी कलाकार गायक सागर वाइवा तामाङले मौलिक म्हेन्दोमाया, साईकोले, सेलो लगायत प्रस्तुत गर्दा अधिकाँश नाच्न झुमेका थिए । कार्यक्रममा गायक संजोग योञ्जन, गोमा योन्जन लगायतका स्थानिय कलाकारहरुले पनि जोड्दार प्रस्तुती दिएका थिए । त्यसैगरी कलाकारहरुले तामाङ समुदायको मौलिक संगीत डम्फु र टुङना धुनमा सेलो नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा दुई पत्रकार मानछिरीङ तामाङ र मच्छे गुरुङलाई तामाङ सोसाईटी अफ  अमेरिकाले प्रशंसापत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार