१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तामाङ समाज उत्तर अमेरिकाको १६औ बार्षिकोत्सव सम्पन्न


२२ चैत्र २०७४, बिहिबार  

0
Shares

एभरेष्ट टाईम्स / न्युयोर्क

डम्फुको तालमा सेलो घन्कियो । उपस्थित मध्ये केही उठेर कम्मर मर्काउन लागे । अन्यले तालसँगै तालीको साथ दिए । सेलो घन्काउँदै थिए तामाङ समाज उत्तर अमेरिका (तत्कालिन तामाङ समाज अमेरिका) का संस्थापक महासचिब तथा पुर्व अध्यक्ष राम तामाङ र पुर्ब उपाध्यक्ष लालमान तामाङ । तामाङ मौलिक पहिरनमा सजिएका यी दुई डम्फुरेले ताल मिलाएका डम्फु र सेलो भाकाले उपस्थित सबैलाई उर्जा भरी रहेको महसुस गराउँथ्यो । तामाङ समाज उत्तर अमेरिकाको सोह्रौ बार्षिकोत्सव मनाउँने समारोहमा हालै ज्याक्सन हाईट स्थित एक हलमा देखिएको दृश्य थियो यो ।

कार्यक्रममा छोटो औपचारिकता पछि अनौपचारिक प्रस्तुतीहरु रहेका थिए । औपचारिक सत्रमा शुभकामना मन्तब्यहरु राखिएका थिए । सँस्थाका उपाध्यक्ष मोहन तामाङको सभापतित्वमा भएको औपचारिक सत्रको संचालन सचिव प्रेम स्याङतान तामाङले गरेका थिए । सँस्थाका सञ्चार संयोजक ङिमा पाख्रिन तामाङले स्वागत मन्तब्य राखे पश्चात पुर्व अध्यक्षहरु सुर्य पाख्रिन तामाङ, भरत मोक्तान तामाङ, नेपाल आदिवासी जानजाती महासँघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ, तामाङ समाज न्युयोर्क तदर्थ समितीका संयोजक छेमाङ तामाङ र संस्थाका संस्थापक अध्यक्ष सुवास लामा तामाङले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाका पुर्व महासचिव पवन योन्जन तामाङले तामाङ भाषामा सञ्चालन गरेका अनौपचारिक सत्रमा सहभागीहरुले मनका भावनाहरु तामाङ भाषामै पोखाएका थिए । संस्थाको बार्षिकोत्सव अवसर पारेर “तामाङ घ्योई थेन सेमल्हेङ” नाम दिएको यो कार्यक्रम तेह्रौ बार्षिकोत्सवबाट शुरु भएको प्रस्ट्याउँदै सञ्चालक तामाङले हरेक बर्षको कार्यक्रममा तामाङ भाषामा साहित्य प्रस्तुत हुँदै आएको र यो पटक झन अनिवार्य रुपमा तामाङ भाषा मात्र प्रयोग हुने नियम बताएका थिए । कार्यक्रममा लगभग एक दर्जन बढी सहभागीहरुले गीत तथा कविताहरु प्रस्तुत गरेका थिए । महिला र पुरुष सहभागीहरु लगभग बराबरी रहेका थिए । चार बर्ष अगाडी केहि शब्द मात्र तामाङ बोल्न सक्नेले पनि अहिले धेरै प्रगति गरेको देखिदाँ खुशी लागेको सञ्चालकले बताए । बौध्द धर्म परम्पराको मोलम वाचन सहित केक काटेर सबैले रमाईलो गर्दै कार्यक्रमको समापन गरिएका थिए ।

नेपाल तामाङ घेदुङ, तामाङ पत्रकार संघ, तामाङ समाज युएई लगायतबाट तामाङ समाज उत्तर अमेरिकाको १६औ बार्षिकोत्सबको अवसरमा प्राप्त भएको शुभकामना सन्देश पढेर सुनाईएका थिए ।

सन २००२ मा सुवास लामाको नेतृत्वमा गठन गरी न्युयोर्क राज्यमा दर्ता गरिएको तत्कालिन तामाङ समाज अमेरिका १६औ बार्षिकोत्सव मनाउँदा नाममा उत्तर थपेर तामाङ समाज उत्तर अमेरिका भएको छ । उत्तर अमेरिकी देशहरुमा बसोबास गर्ने तामाङहरु सबैलाई संस्थाभित्र अटाउँन समय सापेक्षा संस्थाको कार्य क्षेत्र बिस्तारसँगै नाममा समेत उत्तर थपिएको अध्यक्ष लक्यान लामा तामाङ बताउँछन् । उनका अनुसार हाल संस्थाको कार्य समितीमा अमेरिका भरीबाटै प्रतिनिधित्व भएका छन् र निकट भविश्यमा क्यनाडामा समेत च्याप्टर गठन गर्ने पहल भैरहेको छ । तामाङहरु बसोबास गर्ने उत्तर अमेरिकी देश तथा शहरहरुमा संस्थाको च्याप्टरहरु रहने ब्यवस्था भएको अध्यक्ष तामाङले प्रस्ट्याए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार  १२ : २३ बजे