‘दोभानमा बाढी आउँदा’का गीतकार बस्नेत भन्छन्, ‘धुरी चढ्ने प्रयास गरिनँ’

July 19, 2019

तुलसी बस्नेत परिचित सञ्चारकर्मी हुन् । रेडियो नेपालबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका उनी हाल बिएफबिएस रेडियोमा स्वर्णिम संगम कार्यक्रम सञ्चालन गर्छन् । देशविदेशका नेपालीलाई जोड्ने कार्यक्रम सञ्चालक उनको परिचय यतिमा सीमित छैन । उनी सञ्चारकर्मीसँगै गीतकार पनि हुन् ।

२०५५ बाट गीत लेखनमा सक्रिय रहेका बस्नेत उच्च शिक्षाका लागि इलाम जमुनाबाट काठमाडौं आइपुगेका थिए । मेची क्याम्पसबाट प्रमाणपत्र तह पार गरेपछि ल क्याम्पसबाट बिएल पुरा गरे उनले । त्यसपछि भने उनी गीत लेखन र सञ्चारक्षेत्रमै रमाए ।
२०५८ मा ‘मुहार’ एल्बम बजारमा ल्याएका उनले हालसम्म १२० बढी गीच रचना गरिसकेका छन् । २०५५ मा बस्नेतको गीत वातावरण गीत प्रतियोगितामा उत्कृष्ट बन्यो ।

२०५९ मा रेडियो नेपालले आयोजना गरेको सांगीतिक प्रतियोगितामा आधुनिकतर्फ उत्कृष्ट गीतकार बने उनी । २०६० सालमा भएको बालगीत प्रतियोगितामा पनि पहिले बने । उसो त उनी रेडियो नेपालबाट विशिष्ट गीतकारको दर्जा पाइसकेको गीतकारसमेत हुन् । सुमग संगीत, आधुनिक गीत र चलचित्रका गीतमा कलम चलाईसकेको उनै गीतकार÷सञ्चारकर्मी तुलसी बस्नेतसँग एभरेस्ट टाइम्सले गरेको कुराकानी:

गीत लेखन यात्रा कसरी शुरु भयो ?
मेची क्याम्पसमा पढ्ने क्रममा मुक्तक कविता लेख्न थाले । त्यहाँ साथीहरुबाट वाहवाही पाउन थालेपछि यही क्षेत्र राम्रो रहेछ भन्ठानें । अनि लागियो यही क्षेत्रमा ।

पढाई ल, क्षेत्र लेखन र सञ्चार, कसरी मिलाउनुभयो यो सबै ?
इलामदेखि काठमाडौंको यात्रामा अघि बढ्दा पढाई र काम नमिलेको हुन सक्छ । कामको खोज्दा रेडियो नेपालमा प्रस्तोताको जागिर पाएँ । पढाई ल थियो । पढाई पनि छाँडिनँ । काममा पनि निरन्तरता दिए । गीत लेखनलाई पनि जारी राखे । गीत लेखन र सञ्चारक्षेत्रबाट बाहिर निस्कन मन लागेन ।

भनेपछि यही क्षेत्रमा सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु । गीत लेखनले जनताको दुखेको घाउमा मल्हम लगाउन पाएको महसुस हुन्छ । वकिल वा न्यायाधीश भएको भए कोही एक पक्षको वकालत गर्दै हिड्नपथ्र्यो नि ।

अहिलेसम्म सर्वाधिक मन पराइएका तपाईंका रचना कुन कुन हुन् ?
भिज्ला है आँशुले पछ्यौरी, रोशन गुरुङले गाउनुभएको, निष्ठुरी मायाले रुवायो, राजेशपायल राईले गाउनुभएको, दोभानमा बाढी आउँदा बीचमा परी एक्लो म, रोशन गुरुङले नै गाउनुभएको, तिमीलाई भुल्दैछु किस्ताकिस्तामा यस्तै गीतहरु पनपराउनुभएको छ धेरै ।

अचेल गीतकार ओझेलमा परे भनेर आफै गाउने चलन बढेको छ नि, तपाईलाई कस्तो लाग्छ ?
अरु घोडा चढे भनेर मैले धुरी चढ्ने प्रयास गरिनँ । आफुसँग जे कला छ त्यो देखाउने हो । गीत लेख्नु आफैमा सम्मानजनक काम हो । गीत लेखेर बस्दैमा ओझेलमा पर्छजस्तो लाग्दैन ।

तर, गायकलाई त बढी नै अवसर पाउँछन् नि, देशविदेशमा स्टेज पाउँछन् ।
गीतका तीन सन्तान हुन्छन् । जेठो सन्तान गीतकार हो । माइलो संगीतकार र कान्छो गायक । कान्छोलाई त परिवारमा पनि माया गरिन्छ नि । हो त्यस्तै हो गायकले पाएको माया ।

अचेल कतिको लेख्नुहुन्छ गीत, कस्तो गीत बढी लेख्नुहुन्छ, बढीजसो कहिले लेख्नुहुन्छ ?
वर्षमा दुई चारवटा त लेखिन्छ नै । अब अर्को एल्बमको तयारीमा लागेको छु । बढी जसो सेन्टिमेन्टल गीतमै कलम चलाउँछु । गीत यही बेला लेख्छु भन्ने छैन । कथा भेटेको बेला वा गायकले उनीहरुको प्याटर्न अनुसारको लेख्न लगाउँदा लेखिन्छ ।

आफ्नो गीत संगीतबद्ध र स्वरबद्ध भएर आउँदा गुमाइएको छ कि कमाइएको छ ?
यो त कमाउने कुरा हो । यति दुःख गरी लेख्नुपर्छ गीत । एक किसिमको सम्पत्ति नै हो । त्यसैले गुमाउनमा लाग्नु हुन्न ।

सम्बन्धित समाचार