एमाले र माओवादीबीच एकीकरण : बालुवाटारमा ओली र प्रचण्डले खुवाए शपथ

May 17, 2018

काठमाडाैं । शंकाकाबीच नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार एकता भएको छ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले शपथग्रहण गरेका छन् ।

उनीहरुलाई प्रधानमन्त्री एवं पूर्व एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।केन्द्रीय समितिको शपथग्रहण अघि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराएका थिए ।

एमाले माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति  र ४५ सदस्यीय स्थायी कमिटी रहनेभएको छ ।

स्थायी कमिटीमा एमालेका तर्फबाट २६ र माओवादी केन्द्रका तर्फबाट १९ नेताहरु रहने छन् ।

पहिलो बैठक सम्पन्न, आठ निर्णय

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय बैठकले ८ वटा निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुवै पार्टीको नाममा रहेका चल तथा अचल सम्पत्ति नेपाल कम्युनिष्ट पार्टीका नाममा गर्ने निर्णय गरेको हो । त्यस्तै विभिन्न ठाँउमा दुई पार्टीका नाममा दर्ता भएका नाम नेपाल कम्युनिष्ट बनाउन कानुनी प्रकृया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

नाम परिवर्तन गर्ने जिम्मा नेकपा एमालेका तर्फबाट नेता सुबास नेम्वाङ र केन्द्रको तर्फबाट देव गुरुङलाई दिइएको छ। उनीहरुले अधिवक्ता मुक्ति प्रधानको नेतृत्वमा रहेको तीन सदस्यले सघाउने छन् ।

बैठकले आज नै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै एकतापछि बनेको ४ सय ४१ केन्द्रीय सदस्यले बालुवाटारमा सपथ समेत लिएका छन् ।

एकतापछि ९ जनाको सचिवालय, पार्टी प्रवक्ता नारायणकाजी

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ बन्ने नेपाल कम्युनिस्ट पार्टीमा ९ जनाको सचिवालय हुने तय भएको छ ।

पार्टीको हाइ कमाण्डका रुपमा लिइएको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल (महासचिव) रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

उनका अनुसार नयाँ पार्टीको स्थायी कमिटीमा ४५ सदस्य रहनेछन् ।

पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठ  रहने छन् ।

निर्वाचन आयोजमा दलका लागि निवेदन

पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

केपी ओली र प्रचण्डसहितका नेताहरु आयोग पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ । उक्त पार्टी यसअघि नै दर्ता रहेकाले अन्डरलाइन गरी निवेदन दिएको हो ।

सम्बन्धित समाचार