बालबालिकाका लागि अमेरिकामा बोतल संकलन गर्दै उर्मिला

December 2, 2017

संगीनि रानामगर

काठमाडौंको तिनचुलीमा जन्मेकी उर्मिला लामा कामकै सिलसिलामा भारत हुदैं सन् १९९६ मा अमेरिका आइपुगिन् । विसं २०१३ सालमा जन्मेकी उनले स्कुलमा पाइला टेक्न पाइनन् । बाल्यकाल भाईबहिनी स्याहार्दैमा बित्यो । बाख्रा चराउँदैमा गयो ।
ठुलो भएपछि कामको खोजी गर्दा काठमाडौंमै एक भारतीयकहाँ काम पाइन् । ती भारतीय आफ्नै देशमा फर्के । इमानदारी देखेर भारतीयले आफ्नो देशमा पनि उनलाई सँगै ल्याएर आए । ती भारतीय जोडीको छोराछोरी अमेरिकामा रहेकाले उर्मिलालाई पनि अमेरिका ल्याए । यसरी अमेरिकासम्मको यात्रा तय गरिन् उनले ।

यसरी अमेरिका आएपछि अरुले अंग्रेजी बोल्ने, लेख्ने र पढ्ने गरेको देखेर भित्री मन दुख्ने गरेको उनले सुनाईन् । भनिन्, ‘आफू पनि त्यसरी नै बोल्न र लेखपढ गर्न सके पो । यसो कसैले सिकाईदिए हुन्थ्यो झै लाग्थ्यो । तर कसैले पनि सहयोग पाइएन ।’

उनको रहर त्यसै सेलायो । पढ्ने लेख्ने सपना अधुरै रहने भयो भनेर छट्पट् सुरु भयो उनको । यस्तैमा धेरै समयपछि नेपालीको हकअधिकारको पक्षमा वकालत गरिदिने संस्थाको कार्यक्रमसँग उनको सपना ठोक्कियो । र, पढ्न पाइन् । खुसी हुदै लामाले भनिन्, ‘धेरै समयपछि थाहा भयो नेपालीहरुले खोलेको संस्था अधिकारले अंग्रेजी पढ्न र लेख्न सिकाउँछ भनेर । म पनि पढ्न लेख्न भनेर छुट्टी मिलाएर जान थालें । यसले आत्मबल बढ्यो । साधारण अंग्रेजी बोल्न र बुझ्न थाले । अझै पनि मलाई पढ्न लेख्न अति नै मन लाग्छ ।’

अमेरिकामा मात्र होइन विश्वको नै कुनाकुना पुगेका नेपाली दिदीबहिनीहरु भाषा र राम्रो शिक्षाको अभावले अनेक दुःख र कठिनाईहरु झेलेर जीवन निर्वाह गर्ने मात्र होइन आफुले कमाएको आम्दानी नेपालमा परिवारलाई पाल्ने र छोराछोरीको शिक्षामा सहयोग गरिरहेका छन् ।
हजारौ नेपाली महिलाहरुले वैदेशिक रोजगारीबाट नेपाललाई सहयोग पु¥याई रहेका छन् । तर यी दिदीबहिनीहरुको मुल्य र मान्तयालाई भने नेपालले सम्मान गर्न सकेको छैन ।

सन् २००९ मा हेभेन्ली पाथ न्युयोर्कको संस्थामा आवद्ध भएपछि यस संस्थाले गरेको क्रियाकलाप आमा बाबु नभएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषणमा सहयोग गरेको देखेर आफुले पनि यी बालबालिकाको भविष्य र शिक्षाको लागि प्रत्येक शनिबार र आइतबार खाली बोतल संकलन गरेर जम्मा भएको पैसा बालबालिकाको लागि नेपालमा पठाउन थालेको लामाले बताइन् । उनी भन्छिन्, ‘यस वर्ष २०१७ मा १२०० डलर पठाएँ ।’

बचेको समयमा खाली बोतल संकलन गरी उक्त कामबाट आएको पैसा नेपाली बालबालिकाको शिक्षामा सहयोग गरी हजारौ नेपालीको लागि आज अमेरिकामा उदाहरण बनेकी छिन् उर्मिला ।

सम्बन्धित समाचार