आप्रवासी मुद्दामा ट्रम्प पछि हटे, डेमोक्रेट्स विधायकको पक्षमा आएसँगै अमेरिकी ‘सटडाउन’ फिर्ता

January 23, 2018

वासिङटन डिसी । अमेरिकामा केही दिन यता ठप्प सरकारी कामकाज शुरु हुने भएको छ । रिपब्लिकन र डेमोक्रेट्सका बीच सम्झौता भएपछि यो संकट केही दिनका लागि टरेको हो ।

प्रतिनिधिसभाले संघीय सरकारलाई फन्ड उपलब्ध गराउने अस्थायी बिल पास गराए पनि माथिल्लो सदनमा सिनेटले यसलाई रोके पछि केही सरकारी कार्यालय बन्द भएको थियो ।

संकट समाधानका लागि डेमोक्रेट्सका सांसदहरु रिपब्लिकनसँग सहमति गरेपछि  संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन् ।

शुक्रबार यो बिलको पक्षमा ४८ मत मात्र पाएको थियो। जबकि यो बिल पास हुन ६० मत आवश्यक हुन्छ। सोमबार भने यो बिलको पक्षमा ८१ जनाले मत दिएका थिए । १८ जनाको मत भने विपक्षमा परेको थियो ।

यद्यपि यो अस्थायी सम्झौता साढे दुई हप्ताको लागि मात्र हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक मञ्जुरीपछि ८ फेब्रुअरीसम्म संघीय सरकारको कामकाज विना वित्तीय संकट अन्त्य हुन सक्नेछ ।

रिपब्लिकन सिनेटरले आप्रवासीहरुको मुद्दामा डेमोक्रेट्सलाई साथ दिने भएकाले अब सरकारी सटडाउन नहुने अनुमान गरिएको छ।

-भ्वाइस अफ अमेरिका

 

सम्बन्धित समाचार