अमेरिकामा मौलिकता जोगाउन जाग्दै नेपाली : विभिन्न राज्यमा बन्दै सामुदायिक भवन

July 5, 2019

आङछिरिङ शेर्पा/न्युयोर्क

अमेरिकामा नेपाली समुदायको जनसंख्या बढेसँगै विभिन्न राज्यमा नेपाली समुदायको सामुदायिक भवन र मन्दिर बन्न थालेका छन् । आफ्नो मौलिक धर्म र संस्कृतिको संरक्षणका लागि यस्ता भवन र मन्दिर बन्न थालेका हुन् । न्युयोर्कमा शेर्पा समुदायको साझा संस्था शेर्पा किदुगले भवन खरिद गरेको एक दशकभित्र अहिले विभिन्न राज्यमा यस्ता भवन बन्न थालेको हो । पछिल्लो पटक बन्न लागेका नेपाली कम्युनिटी सेन्टरमा पशुपतिनाथ र बौद्धको स्तुपा राख्ने तय भइसकेको छ ।

शेर्पा किदुगले सन् २०१० मा खरिद गरेको भवन अमेरिकी नेपाली समुदायमा सम्भवत पहिलो हो । त्यही भवन न्युयोर्कमा अहिले सामुदायिक कामका लागि उपयोगी बनेको छ । विशेषगरी हिमाली समुदायहरुको धार्मिक तथा साँस्कृतिक कार्यक्रमका लागि किदुगको भवन लोकप्रिय छ । ज्याक्नस हाइटको मुटुमा रहेको शेर्पा किदुगको गुम्बा कुनै बेला चर्च थियो । त्यही चर्च किदुगको तत्कालीन कार्यसमिति र ट्रस्टी बोर्डको पहलमा १२ लाख ५० हजार नगद तिरेर खरिद गरिएको थियो । उक्त भवन खरिद गर्न न्युयोर्कवासी शेर्पा समुदायभित्र सदस्यलेमात्र आर्थिक संकलन गरेका थिए ।

शेर्पा किदुगको बोर्ड अफ ट्रस्टीका निवर्तमान संयोजक कल्साङ छोपेल लामाका अनुसार बोर्ड अफ ट्रस्टी र आजीवन सदस्यहरुबाट संकलन भएको रकमले किदुगले भवन किन्न सफल भएको हो । उनकाअनुसार सन् २००७ मा बोर्ड अफ ट्रस्टी गठन गरेपछि ३ वर्ष लगातार रकम संकलन गरेर गुम्बा किन्न सफल भएको थियो ।

गुम्बा किन्नकै लागि त्यसबेला एक सय ५० जना ट्रस्टी मेम्बरले ५ हजार डलरदेखि २० हजारसम्म दान दिएका थिए भने आजीवन सदस्यहरुले १५ सय डलरदेखि पाँच हजारसम्म दान दिएका थिए । शेर्पा गुम्बा खरिद गर्न किदुगले रकम संकलनका लागि कार्यक्रम गर्नु परेन । ‘प्रवासमा हाम्रो समाज ठुलो हुँदै गएपछि गुम्बाको खाँचो महसुस गरी सबैको सहयोगमा सबै रकम एकमुष्ट तिरेर गुम्बा किन्न सफल भएको हो,’ ट्रस्टीका निवर्तमान संयोजक लामाले भने, ‘समाजमा गुम्बा बनाउने अभियानमा सबै न्युयोर्कवासी शेर्पा दाजुभाई दिदीबहिनीले दिएको आर्थिक सहयोगले हाम्रो सपना पुरा भएको हो,’ लामाले भने ।

टेक्सासवासी पशुपतिनाथ, बुद्ध मन्दिरसँगै सामुदायिक भवन बनाउँदै

न्युयोर्कपछिको धेरै नेपाली बसोवास रहेको राज्यको रुपमा चिनिन्छ टेक्सास । टेक्सासस्थित नेपाली समाज टेक्सासले सन् २००७ बाट नेपाली मन्दिर बनाउन शुरु गरेको अभियान २०१२ मा पुरा भएको थियो । ‘समाजले ५ वर्षभित्र आफ्नै समाजका सबै सदस्यलाई आर्थिक सहयोगको आग्रह गरेअनुसार ३० हजार वर्ग क्षेत्रमा रहेको वेयर हाउस किनेर मन्दिरको रुप दिएको थियो,’ नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष कृष्ण लामिछानेले भने । उनका अनुसार सबैको सहयोगमा संकलन भएको करिब १० लाख डलर खर्चेर मन्दिर बनेको हो ।

बढ्दो जनसंख्यासँगै पार्किङलगायतको क्षेत्रफलको अभावको कारण अब ९ हेक्कड जमिनमा नयाँ मन्दिर बनाउन लागेको निवर्तमान अध्यक्ष लामीछानेले बताए । उनकाअनुसार अब ४० लाख डलरमा नेपालीहरुको घना बस्ती रहेको युलेस जहाँ अहिले मन्दिर भएको ठाउँबाट १० माइलको दुरीमा सामुदायिक भवन बनाउने योजना रहेको छ । लामिछानेका अनुसार उक्त जग्गा सन् २००७ मा ५ हेक्कड र दुई बर्षअघि ४ एक्कड किनिसकेका थिए ।

नयाँ मन्दिर निर्माण आर्थिक संकलन समितिको संयोजकसमेत रहेको लामिछानेकाअनुसार सामुदायिक भवन बनाइसकेपछि अहिलेको मन्दिर बिक्री गर्ने योजना रहेको छ । ‘नयाँ बन्न लागेको सामुदायिक भवनका लागि अहिलेसम्म ९ लाख डलर स्वतस्फुर्त रुपमा उठिसेको छ,’ संयोजक तथा निवर्तमान अध्यक्ष लामिछानेले भने, ‘यो अभियानमा टेक्सासवासीले स्वतस्फुर्त रुपमा दिएको आर्थिक सहयोगले हो । कुनै पुराण लगाएर होइन ।’

उनकाअनुसार अब बन्ने मन्दिरमा बुद्धको स्तुपा, पशुपतिको मन्दिर, नेपाली पाठशालाको १० वटा कक्षा, लगभग १ हजार जना पढ्ने हल, पण्डितलाई बस्ने दुई वटा कोठा र नेपाली धर्मअनुसार १९ वटा देवीदेवताको मूर्ति राख्ने ठाउँ, युवाका लागि भलिबल, बास्केटबल र टेबलटेनिस कोर्ट बन्नेछन् । दुई वर्षभित्र बनाइसक्ने योजनासहित कम्युनिटी सेन्टर निर्माण अभियानमा करिब १ सय जनाले १५ हजार दिएर बोर्ड अफ ट्रस्टी र ३ सय जनाले १५ हजार डलर दिएर फाउन्डिङ मेम्बर बनेका छन् ।

लस एन्जलसमा ६ वर्षदेखि पशुपतिनाथ तथा बुद्ध मन्दिर सञ्चालनमा
लस एन्जलसमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरले सन् २०११ को जुलाईमा त्यतिखेर भारती मुलका स्वामी मन्दिर भाडामा लिएर एकहप्ते महापुराण लगाएको थियो । पण्डित दीनबन्धु पोखरेलको उपस्थितिमा भएको महापुराणबाट १० लाख डलरभन्दा बढी बोलकबोल गरी उठाएको थियो । त्यतिखेर कमैलेबाहेक धेरैजसोले बोलकबोल नै गरेको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरको पूर्व संस्थापक वरिष्ठ उपाध्यक्ष एवं वर्तमान बोर्ड अफ डाइरेक्टर वासुदेव घिमिरले बताए । उनकाअनुसार समाजमा गर्न लागेको पुण्य कार्यमा त्यतिखेरको महापुराणमा दिन्छु भनेर बोलकबोल गर्नेहरु अधिकांशले आर्थिक सहयोग गरेकै कारण सन् २०१३ मा चर्च खरिद गरेर मन्दिर बनाउन सफल भएको हो । चर्च किनेर मन्दिरको रुप दिएको केही समयपछिबाट मन्दिर सञ्चालनमा ल्याएको घिमिरेले बताए । लस एन्जलसको नरवर्कमा रहेको एक तल्लाको यो मन्दिरमा २ सय ५० जना बसेर पूजा गर्न मिल्ने हलसँगै डाइनिङ कोठा र पुजारी बस्ने कोठा रहेको घिमिरेले बताए । यसको साथै मन्दिरसँगै जोडिएको घर भाडामा दिएको छ । ‘मन्दिर र घरसँगैको यो सम्पत्तिको रकम तिर्न अब १ लाख ४० हजारमात्र बाँकी छ । त्यो पनि चाँडै तिर्न हामीले समुदायलाई अनुरोध गरिसकेका छौ ।’

बोस्टनमा सामुदायिक भवनका लागि अन्तिम प्रक्रिया
बोस्टनमा रहेका सबै नेपाली समुदायको अग्रसरतामा सन् २०१२ मा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्ड गठन गरेको थियो । सानो आकारको पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपासहितको नेपाली समुदायिक भवन निर्माणका लागि उक्त कमिटी गठन गरिएको थियो । फाउन्डेसनले बेलाबेला कलाकार ल्याएर विभिन्न आर्थिक संकलनको कार्यक्रम गरे पनि सन् २०१७ को बोस्टन सप्ताहबाट संकलित रकमले मन्दिरसहितको भवन बन्ने सपना पुरा हुनेतर्फ अग्रसर रहेको पशुपतिनाथ बुद्ध फाउन्डेसन न्युइल्यान्डका अध्यक्ष विष्णुमणि आचार्यले बताए । उनकाअनुसार त्यतिखेरको महापुराणले १६ लाख दिने वचनबद्धता दिएको थियो । जुन ३ बर्षभित्र दिने भने वचनअनुसार अहिलेसम्म ६ लाख उठिसकेको आचार्यले बताए । ‘हामीले अहिलेसम्म संकलित रकमबाट १७ लाख ५० हजार डलरको चर्च खरिद गर्न लागेको छौ,’ अध्यक्ष आचार्यले भने, ‘उक्त भवनका लागि चर्चलाई ८ लाख डलर डाउनपेमेन्ट गरी किन्ने सम्पूर्ण प्रक्रिया पुरा भइसकेको छ ।’ १४ हजार ४ सय स्क्वायर वर्गफिटको क्षेत्रफलमा फैलिएको भवन हाइवे नाइन्टिथ्री र नाइन्टीफाइभको नजिकै ब्यानट्री भन्ने टाउनमा रहेको छ । जुन डाउनटाउन बोस्टनबाट १० मिनेटको दुरिमा रहेको अध्यक्ष आचार्यले बताए ।

न्युयोर्कमा दुईटा सप्ताह गरेर जग्गा खरिद
न्युयोर्कमा मन्दिर बनाउनकै लागि रिज्युउड नेपाली सोसाइटीले दुई पटक पण्डित दीनबन्धु पोखरेलको उपस्थितिमा महापुराण लगाइसकेको छ । दुबै पुराणबाट जग्गा खरिद गरे पनि मन्दिर बनाउन सकेको छैन । सोसाइटीले पहिलो पुराणबाट जग्गा खरिद गरे पनि दोस्रो पुराणबाट बोलकबोल गरेको रकम अहिलेसम्म उठाउन सकेको छैन । दोस्रो महापुराणमा प्रतिस्पर्धात्मक रुपमा बोलकबोल गर्नेमा व्यक्तिहरुसँगै राजनीतिक दल नेपाली कांग्रेसको भार्त संगठन नेपाली जनसम्पर्क समितिले १ लाख २५ हजार र एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १ सय ११ डलर दिने कबोल गरेका थिए । सोसाइटीका उपाध्यक्ष भुवनेश्वर अधिकारीका अनुसार संस्थागत रुपमा धेरै बोल्ने जनसम्पर्क समितिले अहिलेसम्म ५ हजार डलर र प्रवासी मञ्चले २० हजार दिएको छ । अधिकारीका अनुसार सोसाइटीले पहिलो पुराणबाट रिज्युउडको हेनककको साइप्रास र वाइककको वीचमा रहेको १ सय फिट लम्बाई र ४३ फिटको जग्गा खरिद गरिसकेको छ ।

सन् २०१० मा लगाइएको महापुराणबाट उठेको रकमले खरिद गरेको जग्गा ४ लाख १९ हजारमा खरिद गरेका थिए । दुई वर्षअघि पुन सन् २०१७ मा लगाएको महापुराणबाट बोलकबलसमेत गरी १५ लाख बोलकबोल भए पनि करिब साढे २ लाखमात्र नगद संकलन गरेको थियो । ‘जग खनेपछि पैसा दिन्छु भन्नेहरु छन् । अब जग खन्नेबितिकै उधारो उठ्ने क्रम शुरु हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ,’ रिज्युउड सोसाइटीका उपाध्यक्ष भुवनेश्वर अधिकारीले भने । उनकाअनुसार अहिलेसम्म मन्दिर निर्माणका लागि सोसाइटीले बनाएको मन्दिरको नक्सा सिटीबाट एप्रुभ भएको छैन । नक्सा एप्रुभ हुनसाथ जग खनेर मन्दिर तयार गर्न खासै समय लाग्दैन । तर जग खन्ने र अन्डरग्राउण्ड बनाउन समय लागे पनि पुरै मन्दिर तयार हुन करिब डेढ बर्ष लाग्ने देखियो । अब बन्ने मन्दिरमा बेसम्यानमा किचन डाइनिङ र समान राख्ने स्टोर हुन्छ । त्यसमाथि कार्यालय र दोस्रो तल्लामा मन्दिरको स्वरुप दिइने भएको छ । सन् १९९८ देखि कार्य गर्दै आएको रिज्युउड नेपाली सोसाइटी सन् २००३ मा न्युयोर्कमा गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको संस्था हो ।

डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवनको लागि २० लाख संकलन
डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन निर्माणका लागि पण्डित दीनबन्धु पोखरेलको उपस्थितिमा २० लाख डलर संकलन भएको छ । उक्त रकममध्ये १० लाख नगद संकलन भएको र बाँकी १० कबोल गरेको महापुराण आयोजक समितिको संयोजक अरुण रुपाखेतीले बताए । उनका अनुसार ८ सय २० जना दाताबाट उक्त रकम जुटेको हो । डिसी मेट्रो सप्ताहको आयोजना यस क्षेत्रमा सामुदायिक भवन बनाउन सहयोग जुटाउने उद्देश्यले नेपाल अमेरिका सामुदायिक केन्द्र (एनएसीसी)ले गरेको थियो ।

वाचन प्रवीण पोखरेलले सात दिनको सप्ताह वाचन गरेका थिए । पण्डित पोखरेलले वैज्ञानिक पद्दतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरिकाले प्रस्तुत गर्दै रकम संकलनमा महत्वपूर्ण भुमिका निभाएका थिए । फेरफेक्स काउन्टीमा खरिद गरेको १० एक्कड जग्गामा बन्न लागेको सामुदायिक भवनमा सामुदायिक गतिविधि हुने पार्टी हल, पढाउने कक्षा, क्रियापुत्री होम, दाहसंस्कार गृह बनाउने योजना रहेको संयोजक रुपाखेतीले बताए ।

 

क्यालिफोर्नियामा कम्युनिटी सेन्टर बन्दै
क्यालिफोर्नियामा सन् २०११ को जुलाईमा २ दिन महापुराण लगाउँदा २ लाख २५ हजार बोलकबोल गरेकोमा करिब ९० प्रतिशत संकलन भएको नेपाली एसोसियन अफ नर्देन क्यालिफोर्नियाका अध्यक्ष इश्वर सिटौलले बताए । उनकाअनुसार सन् २०१६ मा पनि ९ दिन देवीभागवत लगाएर ४५ हजार डलर संकलन गरेका थिए । त्यतिखेर खासै तयारी विना स्थानीय पण्डितको सक्रियतामा गरेको उनले बताए । त्यसलगतै गत वर्ष २०१८ मा पण्डित पोखरलेको उपस्थितिमा धर्मिक महोत्सवको रुपमा सप्ताह पुराण आयोजना गरिएको थियो । विभिन्न धार्मिक समुह तथा व्यक्तित्वको उपस्थिति रहेको उक्त कार्यक्रमबाट १० लाख १२ हजार बोलकबुल भएकोमा करिब ६० हजार डलर संकलन भएको थियो ।

अरु सबै उधारो रकम न्यान्स र न्यान्सको विशेष समिति एनसिसी मिलेर घरदैलो गरी अन्य सहाभागी संस्थाहरुसँग समेत हातेमालो गरी सहयोग संकलन गर्न लागेको अध्यक्ष सिटौलाले बताए । क्यालिफोर्नियामा कम्युनिटी सेन्टर बनाउन सन् २०१८ को जनवरीमा क्यालिफोर्नियास्थित इस्टवे एल सब्रान्तेमा करिब १ एक्काड जग्गा खरिद गरिसकेका छन् । ३ लाख ५० हजार डलर तिरेर किनेको यो जग्गामा बौद्ध स्तुपा, पशुपतिनाथको मन्दिरसहितको कम्युनिटी सेन्टर बनाउन लागेको उनले बताए । ‘दुई वर्षभित्रमा बनाइ सक्ने गरी हामीहरु यो अभियानमा लागेका छौ,’ अध्यक्ष सिटौलले भने, ‘यो अभियानमा एनआरएनका अभियन्ताहरुले पनि सहयोग गर्ने वचन दिएकोले हामीले चाँडै बनाउनतिर लाग्ने छौ ।’

यो पनि : अमेरिकाको न्युयोर्कमा ह्योल्मो जातिको आफ्नै सामुदायिक भवन

सम्बन्धित समाचार