केटु अारोही भेनिसा सम्मानित

November 17, 2017

न्युयोर्क । अमेरिकन अल्पाइन क्लबकी सदस्य तथा चर्चित आरोही भेनिसा ओबरेनले माउन्ट केटु आरोहण गर्दाका अनुभवहरु बाँडेकी छन् । केटु आरोहण अविष्मरणीय रहेको उनको भनाई थियो ।

पाकिस्तानमा रहेको माउन्ट केटु सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो । ‘अरु हिमालभन्दा केटु हिमालको आरोहणको बेग्लै अनुभव मिल्यो,’ भेनिसाले भनिन्, ‘यो हिमालको शिखर पुग्न नजिककै कठिन मार्गहरु निकै जोखिम लाग्यो,’ अमेरिकन अल्पाइन क्लबको ३७ औं बार्षिक कार्यक्रममा भेनिसाले केटु आरोहणको अनुभव र त्यहाँको बारेमा जानकारीमुलक अनुभवहरु सुनाएकी थिइन् ।


उनी केटु पहिलो आरोहण गर्ने पहिला ब्रिटिस अमेरिकन महिला हुन् । तेस्रो प्रयासमा यसपटक आरोहण गर्न सफल भइन् । कार्यक्रममा भेनिसासँगै साइकलयात्री ग्रेक मोरिसेले पनि क्यानडादेखि तिजुना मेक्सिकोसम्मको १८ सय माइल साइकल यात्रा गर्दाको अनुभव सुनाएका थिए । क्लबका सयौं सदस्यहरु उपस्थित कार्यक्रममा भेनिसालाई युएस नेपाल क्लाइबर्स एसोसियसनले सम्मान गरेको थियो । भेनिसा एसोसियसनकी सल्लाहकार हुन् ।

भेनिसा केटुको पहिलो आरोहीको साथै २ सय ९५ दिनमा सात महादेशमा रहेको हिमाल चढ्ने आरोही हुन भने नर्थपोलदेखि साउथ पोलसम्म स्कीमा कीर्तिमान कायम गर्ने साहसी महिला हुन् । भेनिसालाई आरोहण बेलामा एसोसियसनबाट अध्यक्ष पासाङ रिन्जी शेर्पा, महासचिव आङ ग्याल्जेन शेर्पा, उपाध्यक्ष पेमछोङ शेर्पा, सल्लाहकारहरुमा ङवाङ ङिमा शेर्पा र आङछिरिङ शेर्पाको उपस्थिति थियो । कार्यक्रममा अमेरिकन अल्पाइन क्लबको मेट्रो न्युयोर्कका चेयर हवार्ड सेबोल्डले उपस्थित क्लबका सदस्यहरुलाई स्वागत गदै मन्तव्य राखेका थिए । त्यस्तै क्लबका एक्जुकेटिभ अफिसर फिल पावरले पनि क्लबको बारेमा मन्तब्य राखेका थिए । कार्यक्रमको अन्त्यमा भेनिसाले उपस्थित पाहुनालाई केटुको बारेमा क्वीज प्रतियोगिता गरेका थिए । विजयी टेबलको पाहुनाहरुलाई विशेष पुरस्कारको व्यवस्था पनि गरेका थिए ।

तस्बिरः पासाङनिमा शेर्पा

सम्बन्धित समाचार