Everest Times

हुम्लादेखि ओलाङचुङगोला एकै ठाउँ हुन सक्ला ?

हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङ । तिब्बती सिमानासँग जोडिएको भुभाग भएकोले मुस्ताङबासीको दैनिक जनजीवनमा बढी तिब्बतीयन शैलीको प्रभाव हुनु नौलो होईन । तथापी मुस्ताङ्गीहरुको आफ्नै मौलिक भाषा, भेषभुषा तथा कला कौशाल र सँस्कृती बोकेको पहिचान छ । यसलाई हेर्न सँसार भरका मान्छेहरु महङ्गो शूल्क तिरेर मुस्ताङ पुग्छन् । न्युयोर्क आसपासमा बसोबास गर्ने मुस्ताङ्गीहरुले उक्त मौलिक सँस्कार र सँस्कृतीलाई हरेक बर्ष लोसारको अवसर पारेर अमेरिकामै प्रस्तुत गर्दै आएका छन् । अमेरिकामा बसोबास गर्ने मुस्ताङ्गीहरुको साझा सँस्था मुस्ताङ किदुग युयसएले बर्षेनी लोसार साँझ आयोजना गरेर मनोरञ्जनात्मक पारामा मुस्ताङलाई न्युयोर्कमा उतार्नको साथै मौलिक पहिचानको आफ्नो आवाजलाई बुलन्द बनाउँछन् ।
मुस्ताङसँग मेरो पारिवारिक सम्बन्ध पनि जोडिएको हुँदा मुस्ताङ्गीहरुको उच्च आतिथ्य सत्कार सँस्कृती मेरो लागि नौलो भने होईन । तथापी पारिवारिक तथा परिचित निकट्तामा हुने सत्कार र सार्वजनिक समारोहमा हुने आम सत्कारमा भिन्नता हुन्छ होला भन्ने मेरो अनुमानलाई गत बर्ष र यसपालीको लोसार साँझ कार्यक्रममा उपस्थित भए पछि गलत साबित पारेको छ । उस्तै हार्दिकता, त्यस्तै आतिथ्य सत्कार ! कुनै कमी लागेन । न त फरक नै ।
मुस्ताङ्गीहरुको शुभ कार्यमा स्वागतार्थ छ्याङ्गो (चामाल पकाएर बनाएको गुलियो जाँड) र डेसिन (भात भुटेको अर्थात फ्राई राईस्) खुवाईन्छ । मेरो मन पर्ने खाना मध्येमा पर्ने छ्याङ्गो मैले यसपालीको लोसारमा थपेरै खाएँ । यसका साथै श्यादोक (मासुको परिकार) सहितको अन्य खानेकुराहरु बसेकै टेबलमा आई पुगिन्छ । परम्परागत मौलिक पहिरनमा सर्लक्क खुलेकी मुस्ताङ्गी दिदी बहिनीहरुले पटक पटक थपेर लिन प्रेरित गर्नु मुस्ताङको अर्को मौलिकता लाग्छ । यो उनीहरुको घरबाटै सिकेको सँस्कार पनि हो । पन्ध्र सयको हाराहरीमा न्युयोर्क आसपासमा मुस्ताङ्गीहरुको बसोबास रहेको अनुमान छ । लोसारको कार्यक्रम म्यानहटन स्थित महङ्गो हलमा आयोजना हुन्छ, हल खचाखच भरिन्छ । यो नै उनीहरुको एकताको प्रमाण हो । ब्यक्ती बिशेषको बैचारिक भिन्नताहरु उनीहरुमा पनि छन् होला, राजनीतिक बिचारण मतभिन्नता होला, तर आफ्नो मौलिक परम्परा अनुसारको सँस्कृती र चाड पर्व मिलेर एकसाथ मनाउँन एकताबध्द हुन्छन् । आपस्तमा सहयोग गर्छन् । एक अर्कालाई सम्मान गर्छन् । यो मुस्ताङबाटै लिएर आएको उनीहरुको सँस्कार हो । उनीहरुका मौलिक सँस्कार अरुलाई पनि बाँढेर सामाजिक सद्भव बढाउँन लोसारमा अन्य नेपाली समुदायका प्रतिनिधिहरुलाई आमन्त्रण गरिन्छ । नेपाल सरकारको प्रतिनिधीलाई प्रमुख अतिथीको आसन ग्रहण गराएर मुस्ताङको मौलिक पहिचान बारे सरकारको धारणा बोल्न लगाईन्छ । यसपालीको लोसारमा पनि नेपाल सरकारको प्रतिनिधि नेपाली बाणिज्यदुताबास न्युयोर्कका बाणिज्यदूत कृष्ण कुमार सुबेदीले बोलेका थिए । उनले मुस्ताङको मौलिक सँस्कार सँस्कृतीको प्रशंसा गरे, मुस्ताङमा स्थानीय राज्य सँचालन प्रथा र यसले मुस्ताङ्गीलाई एकताबध्द हुन सहयोग गरेको कुरा उल्लेख गरे । मुस्ताङ्गीहरुको ईमान्दारिता र नेपाल राष्ट्र निर्माणमा उनीहरुले खेलेको भुमिकाको सह्राना गरे । गैर आवासिय नेपाली सँघका उत्तर अमेरिकी क्षेत्रिय सँयोजक एवं मुस्ताङ किदुग युएसएका सँस्थापक अध्यक्ष सोनाम लामा, नेपाल आदिवासी तथा जानजाती महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा, हिमालायन बुध्दिष्ट एसोसियनका अध्यक्ष तेन्जिङ उक्यापले पनि आ(आफ्ना मन्तब्य राखेका थिए । पहिलो सत्रको औपचारिक कार्यक्रम समापन घोषणा गर्दै लोसार कार्यक्रमका सभापती मुस्ताङ किदुग युएसएका अध्यक्ष राजकुमार बिष्टले मीठो बोलेका थिए । उनको छोटो, सटिक तर गहण भाषण सुनेर तमु सोसाईटी प्रतिनिधि प्रेम गुरुङ भन्दै थिए, ’वाह ! कस्तो स्ट्रङ्ग भाषण !’ उनका भाषणमा सँस्थामा आफु सबै सदस्यहरुको सहयोगीको भुमिकामा भएको भन्दै सबै सदस्यहरुको सहयोगबाट सँस्थाले नेपालमा भुकम्प पिडितको लागि घर बनाउँने अभियान देखि, गुम्बा निर्माण सहयोग गर्ने लगायतका अन्य धेरै सहयोग कार्यहरु सम्भावना भएको बताए । मुस्ताङका अमेरिकाबासी उपल्लो मुस्ताङ आमा समुह, चाराङ माराङ समुह, ब्रुकलिन समुह लगायत सोनाम टासी ब्यान्डसँग मुस्ताङ किदुगको राम्रो सहकार्य रहेको उनले खुलाए ।
मुस्ताङ्गी लोसारमा मलाई उल्लेख गर्न मन लागेको कुरा अमेरिकामा हु्र्कदै गरेका स(साना बालबालिकाहरुलाई परम्परागत मौलिक पोशाक लगाउँनु पनि हो । मौलिक पोशाक लगाएर यताउता कुदीरहँदा उनीहरु युनिक देखिएका थिए । यति नै बेला स्टेजमा बडेमानका दुई सेता सिंह देखा परे । बालबालिकाहरु पहिले त तर्सिए तर उनीहरुको बाल मनोबैज्ञानिक कौतुहलता तुरुन्तै सल्बलाए र उनीहरु के हुन् यी अजिवका जनावर भनेर बुझ्न नजिक हुन खोजे । दुबै सिंह पनि बालमनोबिज्ञान बुझे झै गरी तल बालबालिकाहरु भए ठाउँतिरै ओर्लिए । बालबालिकाहरु भागाभाग भए, फेरि सिंहहरु अर्को्तिर लाग्दा उनीहरुले पछ्याए । यो उनीहरुको उमेर समुहको लागि निकै मनोरञ्जनात्मक देखियो । उनीहरु खुशी देखिए । मलाई लाग्छ, यस्तो रमाईलोपनले उनीहरुलाई लोसार बारेमा राम्रो छाप बस्छ । अर्को पटक लोसार आउँन उनीहरु उत्साहित हुनेछन् । आजिवका जनावरसँग लुकामारी खेलेको उनीहरुले सम्झने छन् । यसपाली मलाई भाग्यवस बिभिन्न समुदाय अन्तरगतका पाँच ओटा लोसार कार्यक्रमहरुमामा सरीक हुने अवसर जुरेको थियो । सबैमा आ(आफ्नै परम्परा मौलिकता र सुन्दरता थिए । तर स(साना बालबालिकालाई लक्षित मनोरञ्जनात्मक प्रस्तुती सिंह नृत्य नै लाग्यो । अमेरिकामा हुर्कदै गरेका दोस्रो पुस्ताका नेपाली अमेरिकानमा नेपाली मौलिक परम्पराका सँस्कार सँस्कृतीहरु पुस्तान्तरण गर्नु चुनौतीकै रुपमा म देख्दछु । पुस्तान्तरण नभई संरक्षणको कुरा आउँदैन । यसैले पनि लोसार, दशै, तिहार, फागु जस्ता नेपाली मौलिक पर्वहरुमा बिभिन्न उमेर समुहलाई लक्षित गरेर कार्यक्रमहरु बनाउँदा उनीहरुको आकर्षण त्यता जाने हुन्छ । सन्दर्भबस सहकर्मी तेम्बा दोङबा ह्योल्मोले लोसारमा आफ्ना छोराछोरीलाई उपहारहरु दिएको प्रसंग उल्लेख गर्दछु । यसले निश्चय नै पश्चिमा सँस्कार अनुसार क्रिस्मस उपहार पछ्याई रहेका हाम्रा बालबालिकाका बालसुलभ मनोबिज्ञानमा लोसारमा पनि उपहार पाउँछन् भन्ने छाप बस्छ र लोसार उनीहरुको सम्झनामा पर्छन् ।

 

स्टेजमा कार्यक्रमहरु एक पछि अर्को थपिदँ गए, कार्यक्रम हेर्ने उत्साह मलाई झन झन बढेर आयो । धेरै प्रस्तुतीहरुले मुस्ताङको मौलिकता बोकेका थिए भने केहि अन्य । सबै मनोरञ्जानपुर्ण थिए । तर मेरो कौतुहल्ता भने युवाहरुमा मौलिकता प्रस्तुती तिर प्रेरणा कसरी भयो भन्नेमा केन्द्रित भयो । उमेरमा बीस नकटेका युवायुवातीहरुले मौलिक बाजा डाम्ङे (टुङ्ना) बजाएर मुस्ताङको भाका गाउँदै गर्दा मलाई चाँहि मौलिकताको पुस्तान्तरण सम्भावना बढ्दै गरेको आभास पनि भयो । मौका मिल्नसाथ अध्यक्षसँग मैले खुसुक्क सोधी पनि हालेँ । उनका अनुसार उपल्लो मुस्ताङका समुदायहरु मिलेर हरेक आईतबार सँचालन हुने अनौपचारिक स्कुल खोलेका रहेछन्, जहाँ मुस्ताङको मौलिक परम्परा, भाषा, कला तथा सँस्कृती र सँस्कार सिकाईदा रहेछन् । उनीहरुका भाषामा यस्तो स्कुललाई रिक्सुङ स्कुल भनेर चिनिन्छ । शेर्पा समुदायमा पनि यस्तै स्कुलको शुरुवात भैसकेको छ । फलस्वरुप शेर्पा समुदायको लोसार साँझ कार्यक्रममा यो पटक बालबालिकाबाटै बौध्द धर्म परम्परा अनुसारको प्रार्थना मन्त्रोच्चारण भएको थियो । सामुदायिक पहलमा सँचालित यस्ता स्कुलहरुलाई थप स्तरीय बनाउँने आर्थिक स्रोतहरु अब न्युयोर्क शहरका बजेटबाट समेत गराउँन कदम अगाडि बढाईनु पर्दछ ।

यसका लागि नेपाली मौलिक कार्यक्रमहरुमा न्युयोर्क शहरका प्रतिनिधिहरुलाई बोलाउँनु पर्दछ र हाम्रा आवाजहरु उनीहरुलाई सुनाउँनु पर्दछ, हाम्रा मौलिक विशिष्टताहरु उनीहरुलाई देखाएर न्युयोर्क शहरका बिविधताभित्र हामी समावेश हुन आवश्यक छ । शेर्पा समुदायको लोसारमा मेयरको प्रतिनिधी उपस्थित भई मेयरको सन्देस पढेर सुनाएका थिए । यो एउटा राम्रो खुड्किलो हो । तर हामी बिचमा हुने बिभिन्न लोसार कार्यक्रमले उनीहरु झुक्किने सम्भावना पनि उत्तिकै छ । यसैले लोसार मान्ने समुदायहरु मिलेर एकै पटक एकै ठाउँमा सँयुक्त बृहत लोसार मनाउँदा बलियो देखिन्छ र उनीहरुलाई पनि उपस्थित हुन सजिलो हुन्छ । सँयुक्त लोसार मनाउँने बारेमा छलफल शुरु भैसकेको जानकारी पाएको छु । अबको लोसारमा मैले पाँच ठाउँमा उस्तै लोसार मनाउँन जानु पर्ने छैन । एकै ठाउँमा एकै दिनमा हुम्ला देखि ओलाङचुङगोला घुम्दै रमाउँन पाउँनेछु । यो आशा मेरो मात्र नभई अरु धेरैको हुन सक्छन् ।

प्रतिकृया दिनुहोस्