६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक, निषेधाज्ञा घोषणा



मिनियापोलिस । संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा जारी जातिभेद विरुद्धको प्रदर्शन िहंसात्मक बनेको छ । हिंसा नियन्त्रणको लागि कतिपय शहरमा निषेधाज्ञा (कर्फ्यु) लगाइएको छ ।

गत सोमबार मिनियापोलिस राज्यका प्रहरीले एक अश्वेत जर्ज फ्लवाइडलाई पक्राउ गरेर लैजाने क्रममा अनावश्यक वल प्रयोग गरेर हत्या गरेपछि न्यायको माग गर्दै प्रदर्शनहरु सुरु भएको थियो । यही अवसरमा वर्षौदेखिको जातिभेदलाई अन्त्य हुनुपर्ने माग गर्दै सुरु भएको प्रदर्शन विभिन्न सहरमा अशान्ति लुटपाट तथा आगजनीमा रुपान्तरण भएको हो ।

अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।

जर्ज फ्लोएड

लस एन्जलस, शिकागो र एटलान्टा समेतका दुई दर्जन शहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा बिरलै देख्न सकिने घटना हो ।

सियाटलदेखि न्यूयोर्कसम्म दशौं हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुको एकमात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस् ।

मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ९ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयबिदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ ।

लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरुलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए ।

शिकागो र न्यूयोर्क लगायतका धेरैवटा शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए ।

अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ ।

प्रदर्शनकारीहरूले “अश्वेतको जीवनको महत्व छ”, “म सास फेर्न सक्दिन” भन्ने जस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाईहरु अहिले प्रहरी क्रुरताको नयाँ प्रतीक बनेका छन् ।

मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन १३,००० शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताए ।

मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गहरुमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए ।

यसैबीच, अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाभर जारी जातीय प्रदर्शनसँगै भएको हिंसात्मक घटनाको निन्दा एवं भर्त्सना गरेका छन् । तर उनले अन्यायका विरुद्धमा आवाज उठाउने अमेरिकीहरुको अधिकार भएको पनि बताए ।

“यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्न अधिकार र आवश्यक दुबै हो । तर आगजनी र अनावश्यक तोडफोड जरुरी होइन । मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेको होइन । मानिसको जीवनमा अत्यावश्यक व्यवसाय बन्द हुने हिंसा अक्षम्य हो ।” उनले भनेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  २ : २४ बजे