स्थानीय तहको दोस्रो चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

June 28, 2017

काठमाडाैं । स्थानीय तहको दोस्रो चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३४ जिल्लामा भएको स्थानीय तहको निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अायोगले जनाएको छ ।

बुधबार साँझ निर्वाचन आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले ७०.५ प्रतिशत मत खसेको जनाकारी दिए।

उनले यो प्रतिशत अझै बढ्ने बताए। ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मत खसेको छ। सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै आयोग अब तेस्रो चरणको निर्वाचनको तयारीमा जुट्ने समेत यादवले बताए । आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।

उनले अब मतपेटिका संकलित भइसकेको भन्दै मतादेश सम्मान गर्न उम्मेदवारहरुलाई हार्दिक अपील गरेका छन् । उनले भने, ‘उत्तेजनामा नआउने र संयमता अपनाउन अपील निर्वाचन आयोग आग्रह गर्दछ ।’

सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नजनाएका हुन् ।

निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनपछि आवश्यक तयारी गरेर मत गणना सुरु हुनेछ ।सफल र सबैलाई स्वीकार्य हुने मत गणना हुने विश्वास आयोगले लिएको उनले बताएका छन् ।

दोस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको प्रतिनिधि छनोटका लागि निर्वाचन भएको हो । १५ हजार ३८ जनप्रतिनिधिका लागि ६२ हजार ४ सय ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । ४१ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले बताएको छ ।

देशभर चार हजार ५ सय ८१ मतदानस्थलमा आठ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

 

सम्बन्धित समाचार