सी जिनपिङको बास सोल्टी होटलमा, विभिन्न विषयमा सम्झौता हुने

October 12, 2019

काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङ आज साँझ काठमाडौं आइपुग्दैछन् । उनको स्वागतका लागि काठमाडौंका सडक चिटिक्क पारिएको छ ।

शुक्रवार भारत पुगेका उनी त्यतैबाट काठमाडौं आउन लागेका हुन्।

चीनका तर्फबाट २३ वर्षपछि राष्ट्रप्रमुख स्तरीय भ्रमण हुन लागेकोले पनि यसलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ। हाल सी भारत भ्रमणमा छन् ।

सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । सीको भ्रमणका क्रममा केही घण्टा सडक खाली गराउने हुँदा सर्वसाधरणलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

सी दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन् । उनी काठमाडौंको सोल्टी होटलमा बस्ने छन् ।

सीले बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा बेलुकी ७:३० बजे  सोल्टी होटलमा ‘स्टेट डिनर’ आयोजना गर्नेछिन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सीले शनिवार नै भेट गर्नेछन्। राष्ट्रपति सीले आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नेछन् । त्यसपछि करिब ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्वीपक्षीय वार्ता हुनेछ । त्यसक्रममा केही सन्धी- सम्झौतामा हस्ताक्षर हुनेछ ।

सी जिनपिङसँगको वार्तामा नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई मुख्य एजेन्डा बनाउने तयारी गरिरहेको छ । ‘मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत मुख्यरुपमा कनेक्टिभिटीका कुराहरु पर्दछन् । यसमा रेलवे, सडक, फाइबर, विद्युत ट्रान्समिसन पर्छन् । जसबाट दुई देशका नागरिकहरु बीचको व्यापार, सम्बन्ध आदिलाई टेवा पुग्ने नेपालले विश्वास लिएको छ ।

यस्तै, भूकम्पपछिको पुनर्निमाण, लुम्बिनीको विकास, अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौं रेलवे निर्माण, क्रस बोर्डर विद्युत् लाइन, सीमा व्यवस्थापन लगायतका विषयमा पनि दुई राष्ट्रबीच छलफल हुने अपेक्षा गरिएको छ ।

आइतवारै दिउँसो १ बजे चीनका राष्ट्रपति सी स्वदेश प्रस्थान गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार