स्टेजमै माया पाइरहेकी छुः याङजोम शेर्पा, उद्घोषिका

May 18, 2017

ताप्लेजुङको घुन्सामा जन्मेकी याङजोम शेर्पा ४ वर्षदेखि उद्घोषण पेसामा आवद्ध छिन् । उद्घोषिकाकै रुपमा पूर्वदेखि सुदुरपश्चिमसम्म यात्रा गरिसकेकी शेर्पाले सामाजिक, राजनीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुमा उद्घोषण गर्दै आएकी छन् ।
याङजोम आफ्नो उद्घोषणबाट बचेको समयलाई आफ्नो गाउँका जनतासम्म स्वास्थ्य सुविधा पु¥याउन पेसाबाट बचेको समय र उद्घोषणबाट प्राप्त हुने आम्दानीलाई पनि लगानी गरिरहेकी छिन् । विकट गाउँमा आदिवासी समुदायमा जन्मिएर दुःख र अभावसँग संघर्ष गर्दै देश विदेशमा परिचित, शालीन स्वभाव र व्यवहारिक ज्ञानले पूर्ण यमजोङसँग एभरेस्ट टाइम्सका लागि वसन्त खड्काले गरेको कुराकानीः
उद्घोषण क्षेत्रमा लागेको कति वर्ष भयो ?
व्यवसायीक रुपले यस क्षेत्रमा लागेको लगभग ४ वर्ष जति भयो ।
केले आकर्षण ग¥यो यो क्षेत्रमा आउन ?
उद्घोषण पेसामा मेरो आगमन संयोगले भएको हो ताप्लेजुङ सरोकार केन्द्र नामक संस्थामा आवद्ध भएँ । संस्थाको कार्यक्रहरु हुँदा प्राय कार्यक्रमहरु पूरुषहरुले नै सञ्चालन गर्नुहुन्थ्यो । पछि महिला सहभागितामा पनि जोड दिइयो । त्यसपछि उक्त संस्थाका कार्यक्रमहरुमा मलाई उद्घोषण गर्न आग्रह गरियो । सुरु सुरुमा केही अफ्टेरो पनि भयो । तर, कार्यक्रम सञ्चालन गर्दै जाँदा यस क्षेत्रमा रुची बढ्दै गयो । अन्ततः मेरो उद्घोषणलाई सबैले मन पराउन थालेपछि मलाई पनि यसै क्षेत्रमा लाग्ने हौसला जाग्यो ।

तालिम लिएरै लाग्नु भएको कि नलिइकन ?
उद्घोषण मेरो पेसा भएपनि मैले यसका लागि सामान्य तालिम समेत लिएको छैन । एकपटक तालिम लिन भनेर हेम सुवेदी सरकोमा गएको थिएँ । तर त्यतिबेलासम्म मैले कैंयौ कार्यक्रमहरु सञ्चालन गरिसकेको थिएँ । उहाँले केही उद्घोषण सम्बन्धी टिप्सहरु दिनुभयो । तालिम लिइरहनु जरुरी छैन भन्नुभयो । जसले गर्दा मैले आफ्नो उद्घोषण कलामा थप निखारता ल्याउन सफल भएँ ।
शेर्पा परिवारमा जन्मिनुभएका तपाईलाई नेपाली भाषा गाह्रो लागेन ?
म ताप्लेजुङको दुर्गम गाउँ घुन्सा–९ लेलेवमा जन्मिएकी हुँ । निकै विकट मेरो गाउँलाई विकासका पूर्वाधारले छोएको समेत छैन । मेरो गाउँमा सबैजसो शेर्पाहरुको मात्र बसोबास छ । तर त्यो गाउँमा मैले ३ कक्षासम्म अध्ययन गरें । त्यसेपछि म तेह्रथुमको आठराई संक्रान्ति बजारमा झरें । त्यहाँ ब्रामह्ण, क्षत्री, राई, लिम्बुहरुको बाहुल्यता रहेको छ । म पनि त्यही गाउँमा हुर्कें । शेर्पा समुदायमा जन्मिएर पनि फरक समुदायमा हुर्के, बढेकाले मेरो लवज र भाषालाई प्रष्ट नेपाली बनाउन सहयोग ग¥यो ।
यो पेसामा टिकिरहन कत्तिको सहज हुँदोरहेछ ?
हरेक पेसामा जस्तै यसमा पनि परिश्रम र लगनशिलताको आवश्यकता पर्छ । अन्य पेसामा भन्दा यसमा थप केही अतिरिक्त क्षमता हुन आवश्यक छ । ती हुन मासमा बोल्नका लागि आत्मविश्वास र कमान्ड भ्वाइस । यसबाहेक पनि मास सेन्टीमेन्ट बुझ्न सक्नुपर्छ । स्टेजमा उद्घोषण गरिरहेका बेला मानिसहरुले विभिन्न सोंचले हेरिरहेका हुन्छन् । यस्तो अवस्थामा आफूलाई जोगाएर प्रभावकारी प्रस्तुती दिनसक्नु नै यो कलाको विशेषता हो । जहाँसम्म लामो समयसम्म टिक्ने प्रश्न छ, लामो समयसम्मै यही पेसामा लागिरहन सहज हुँदैन । जस्तो विवाह बन्धनपश्चात व्यवहारिक जीवनमा प्रवेश गरेपछि समय व्यवस्थापनको कुरा हुन्छ, त्यस्तै उदघोषण गर्ने मानिस सुन्दर र आकर्षक पनि हुनुपर्छ । त्यसैले उमेर बढदै जाँदा आवाजले पनि साथ नदिन सक्छ । तथापि सामान्य किसिमका कार्यक्रमहरु भने लामो समयसम्म पनि सञ्चालन गर्न सकिन्छ जस्तो लाग्छ ।
उद्घोषणका शिलशिलामा कहाँ कहाँ पुग्नु भएको छ ?
पूर्वी नेपालका सबै जसो जिल्लाहरु, पश्चिमका केही जिल्ला, सुदुरपश्चिम लगायतका करिब ४०÷४५ जिल्ला तथा विदेशमा हङकङ तथा सिंगापुर पुगेको छु ।
फरकफरक ठाउँमा जाँदा त्यहाँको स्थानीय भाषा, संस्कृति र रहनसहनलाई मध्यनजर गर्नुपर्छ होला ? त्यसलाई कसरी व्यवस्थापन गर्नुुहुन्छ ?
ठाउँ अनुसार त्यहाको भाषा, संस्कार फरक हुन्छ । जस्तो पूर्वमा बोलिने भाषा र सुदुर पश्चिममा बोलिने भाषा तथा लवजमा समेत फरक हुन्छ । कार्यक्रम सञ्चालन गर्दा उद्घोषकले स्थानीय भाषा, लवज र भेषभुषालाई सबैभन्दा धेरै ख्याल गर्नु पर्छ । अन्यथा दर्शक तथा सहभागिहरु सन्तुष्ट हुँदैनन् । त्यसका लागि म आफूलाई जहाँ कार्यक्रम सञ्चालन गर्ने हो त्यहाँको भाषा, सस्कृति र लवजसँग परिचित गराउँछु र उहाँहरुकै शैलीमा कार्यक्रम सञ्चालन गर्छु ।
कार्यक्रममा उद्घोषण गर्दा स्थानीय सहभागिहरुको भावनालाई पनि बुझ्न आवश्यक हुन्छ । जस्तो पूर्वमा कार्यक्रम सञ्चालन गर्दा भद्र स्वभावले कार्यक्रम सञ्चालन गर्नुपर्छ । तर पश्चिममा भद्र स्वभावले मात्र कार्यक्रम चलाउँदा उहाँहरु सन्तुष्ट हुनुहुन्न । उहाँहरु कार्यक्रम सञ्चालिका रोमान्टिक मुडमा देखियोस्, अलिकति भल्गर शब्दहरु उच्चारण गरोस् भन्ने अपेक्षा गर्नुहुन्छ । यस्तो अवस्थामा उहाँहरुको मनोविज्ञानलाई बुझेर कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
स्टेजमा सम्मान र माया कत्तिको पाउनुहुन्छ ?
सुदुर पूर्वमा जन्मिएको केटीलाई सुदुरपश्चिमका मानिसहरुले कार्यक्रम उद्घोषणका लागि बोलाउनुहुन्छ । यो त माया गरेरै हो नि ? म पूर्वमा जन्मिएपनि सुुुदुरपश्चिमसँग मेरो सम्बन्ध विशेष छ किन भने उहाँहरुले कार्यक्रम गर्दा प्राय मलाई नै बोलाउनु हुन्छ । यतिमात्र होइन उहाँहरुले त मेरो निक नाम नै राखिदिनु भएको छ । म सुदुरपश्चिममा याङजोम नामले होइन धौली नामले परिचित छु । उहाँहरुको भाषामा धौली भनेको गोरी हो । त्यस्तै पूर्व पश्चिम सबैतिर मलाई माया र सम्मान गर्नुहुन्छ । विदेशमा पनि नेपाली दाजुभाई, दिदिबहिनीहरुले निकै माया गर्नुहुन्छ । यसले मलाई निकै ठूलो खुसी दिन्छ र आफूलाई भाग्यमानी सम्झिन्छु ।
समाजसेवातिर पनि लाग्नु भएको रहेछ, केले आकर्षण ग¥यो ?
मेरो गाउँमा पुग्न सदरमुकामबाट चार दिनसम्म हिड्नु पर्छ । विकासका पूर्वाधारहरु शुन्य जस्तै छन् । गाउँमा कोही बिरामी भएर गाविसमा रहेको स्वास्थ्य चौकिमा सिटामोल लिन जानका लागि समेत दुई दिन हिड्नुपर्छ । यस्तो गाउँमा जन्मिएकी मैले शिशु कक्षामा पढ्दै गर्दा प्रशव पिडाका कारण आमालाई गुमाउनु प¥यो । सायद मेरो गाउँमा स्वास्थ्य सेवा राम्रो भइदिएको भए मैले यती सानै उमेरमा आमालाई गुमाउनु पर्ने थिएन । अहिले पनि मेरो गाउँमा कोही विरामी हुँदा वा प्रशव पिडाले छटपटाउँदा उपचारको सुविधा छैन । यातायातको सुविधान नभएकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ ल्याउनुको विकल्प हुँदैन तर त्यसका लागि महंगो खर्च हुन्छ । जुन सामान्य मानिसको पहुँचभन्दा बाहिरको कुरा हो । यही दुःख र आमा गुमाउनुको पिडाले मलाई गाउँमा जसरी पनि स्वास्थ्य सुविधा पु¥याउनुपर्छ भन्ने सोँच आयो । अहिले आफ्नै गाउँमा अस्थायी स्वास्थ्य चौकि निर्माण गरेर त्यसका लागि आवश्यक औषधी उपकरण तथा जनशक्तिको व्यवस्थापनमा लागिरहेकी छु ।
मेरो सानै देखिको लक्ष्य स्वास्थ्य परिचालिका बनेर गाउँमा सेवा गर्ने थियो । सोही अनुरुप मैले एएनएम पनि अध्ययन गरेँ । अहिले फरक पेशामा लागेपनि मेरो सानै देखिको सपना स्वास्थ्य परिचालिका बनेर गाउँमा सेवा गरी आफूले जस्तो पिडा अरुले सहन नपरोस भन्ने थियो । त्यसैले अहिले पनि फरक पेशा अंगाले पनि गाउँमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यमा अघि बढीरहेको छु ।
तपाईको जीवन के हो ? जीवनमा सबैभन्दा महत्वपूर्ण पक्ष के हो जस्तो लाग्छ ?
जीवन सुख दुःखको समिश्रण हो । मानिसले जीवनमा भोग्ने दुःख नै उसलाई सुख प्राप्तीको शिक्षा हो । हामीले विगतमा भोगेका दुःख र अभावले नै हाम्रो भविष्य सुखी र सबल बनाउन सहयोग गर्छ । त्यसैले दुःख भयो भनेर आत्तिइहाल्नु हुँदैन । अर्काे कुरा जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको संस्कार र व्यवहार हो । किन भने हाम्रो संस्कार र व्यवहारले नै हामीलाई जीवन जिउनुको अर्थ र महत्व सिकाउँछ । संस्कार विनाको जीवनको कुनै महत्व हुँदैन ।

सम्बन्धित समाचार