न्युजिल्यान्ड मस्जिद आक्रमणमा ४९ जनाको मृत्यु, आक्रमणको विश्वभरीबाट आलोचना

March 15, 2019

न्युजिल्यान्ड: न्युजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ ।

यो समाचार तयार पार्दा सम्म ४९ जनाको मृत्यु भएको सो घटनाको आलोचना गर्दै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले न्युजिल्यान्डप्रति सहानुभूति प्रकट गरेका छन् ।

न्युजिल्यान्डकै राष्ट्र प्रमुख समेत रहनु भएकी रानी एलिजावेथ द्धितीयले घटनाबाट आफुलाई गहिरो दुःख लागेको बताएकी छिन् ।
उनले प्रकाशित गर्नु भएको शोक वक्तव्यमा भनिएको छ, “यो दुःख घडीमा म सम्पूर्ण मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उहाँका आफन्त, साथी र सम्पूर्ण देशबासीमा समवेदना व्यक्त गर्दछु ।”  उनले आफु र आफ्नो छोरा राजकुमार फिलीपको तर्फबाट पनि घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको समाचारमा जनाइएको छ ।

न्युजिल्यान्डसहित बेलायत, अष्ट्रेलिया, क्यानडालगायत १६ देशकी ९२ बर्षीया रानी एलिजावेथ द्वितीयले सन् २००२ मा पछिल्लो पटक न्युजिल्यान्ड भ्रमणमा गएको स्मरण पनि गरेकी छिन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनालाई भयानक नरसंहारको संज्ञा दिएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्, “यस दुःखद घडीमा न्युजिल्यान्डका जनता र मृतकका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु । ”

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले न्युजिल्यान्डमा भएको घटना थाहा पाएर आफुलाई ज्यादै दुःख लागेको बताएका छन् । न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डेनलाई पठाएको पुटिनको सन्देशमा घटनामा संलग्न हरेकलाई कारबाहीको भागिदार बनाउन आग्रह गरेका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तएप एड्रोगानले पनि दुई ओटा मस्जिदमा भएको दुखद् घटनाको कडा शब्दमा भत्सर्ना गरेका छन् । अङ्ग्रेजी र टर्किस भाषामा ट्वीट गर्दै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डको सरकार, जनता र पिडितहरुप्रति समवेदना व्यक्त गरेका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि गहिरो सहानुभूति व्यक्त गरेका छन् । यस्ता घटना न्युजिल्यान्ड मात्र नभई सिङ्गो विश्वलाई नै चिन्ताको विषय भएको उनले उल्लेख गरेका छन् ।

फिजिका प्रधानमन्त्री भोरेक बैनिमारामाले शुक्रबार सम्प्रेषण गरेको सन्देशमा दुई मस्जिदमा भएको दुखदायी घटनाबाट आफु मर्माहित भएको उल्लेख गरेका छन् ।

घटनाप्रति पाकिस्तानले पनि दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले जारी गरेको वक्तव्यमा दुखदायी घटनाको पाकिस्तानले भ्रत्सर्ना गर्ने उल्लेख छ ।

यसैगरी क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले पनि न्युजिल्यान्डको दुई ओटा मस्जिदमा भएको आक्रमणमा परी ४९ जना भन्दा बढीको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

अन्य देशका सरकार तथा राष्ट्रप्रमुख र विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा निकायहरुले पनि शोक वक्तव्य प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । त्यसैगरी सो घटनाप्रति सामाजिक सञ्जालमा पनि धेरैले दुःख व्यक्त गरेका छन् ।  प्रधानमन्त्री आर्डेनले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ’आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताएका छन्  । उनले न्यूजिल्यान्डको इतिहासमा यो सबैभन्दा घातक हमला भएको उल्लेख गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डेर्नले भने, “आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।”

अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रत्यक्षदर्शीहरूले आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको भिडियोमा बताएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको बताएको छ ।

यता, डेली मेलले ट्वीटरमा बर्टन टरानर्ट नाम गरेका अस्ट्रेलियाका २८ वर्षे युवकले मस्जिदमा गोली चलाएको बताएको छ । उनी आप्रवासी हुनसक्ने अनुमान गरिएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि आक्रमणकारी एक अस्ट्रेलियन भएको बताएको बीबीसीले उल्लेख गरेको छ । तर उनले नाम भने नखुलाएको बताइएको छ ।

टरानर्टले मस्जिदमा प्रार्थना भइरहेको अवस्थामा फेसबुकबाट लाइभ गर्दै गोली चलाएका हुन् ।

फेसबुकले हाल त्यो भिडियो आफ्नो सर्भरबाट हटाएको बताएको छ । यद्यपी आक्रमणकारीले लाइभ स्ट्रिमिङ गरेको भिडियो ‘सेन्सर‘ गरेर केही संचार माध्यमहरुले प्रकाशित गरेका छन् ।

आक्रमण गर्न जाँदा उनले सैनिकले लगाउने खालको पोशाक लगाएको र मस्जिदसम्म यात्रा गर्दा ‘लोक गीत’हरु सुनिरहेको मेलले जनाएको छ ।

उनको गाडीमा ६ वटा राइफल रहेको र त्यसमध्ये एउटा लिएर उनी सिधै मस्जिद तिर लागेको र गोली चलाएको भिडियोमा देखिएको छ ।

उनले गोलीबाट बचेर छटपटाइरहेका व्यक्तिहरुमाथि पुन: गोली चलाएको र मस्जिद भित्र सबै जना मरेको निश्चित गरेपछि बाहिर आएर फेरि गोली चलाएको बुझिएको छ ।

उनले प्रयोग गरेका हतियारहरुमा पहिला नरसंहार गरेका व्यक्ति र स्थानको नाम लेखिएको पाइएको छ ।

१७ मिनेटको लाइभ स्ट्रिमिङमा उसले १०० पटक भन्दा बढी गोली प्रहार गरेको देखिएको उल्लेख गरेको छ । टरानर्टले ‘सेमिअटोमेटिक सटगन’ प्रयोग गर्दै मस्जिद भित्र प्रवेश गरेर गोली चलाएका थिए । उनको हेल्मेटमा ‘लेस्टस गेट डिस पार्टी स्टार्टेड’ लेखिएको र उनले गाडी र फेसबुकमा समेत सोही कुरा दोहोर्‍याइरहेका थिए ।

आक्रमण पूर्व यस घटनालाई टरानर्टले ‘आतंकवादी आक्रमण’ भन्दै ७३ पानाको मेनिफेस्टो ट्वीटरमा पोस्ट गरेको मेलको दाबी छ ।

टरानर्टले ट्वीटरमा राखेको मेनिफेस्टोमा आफू अन्ड्रेस ब्रेरिभिकबाट प्रभावित भएको उल्लेख गरेका थिए। ब्रेरिभिकले सन् २०११ मा  नर्वेको ‍ओसलोमा ७७ जनाको हत्या गरेका थिए ।

उनले आफूले यो आक्रमण दुई वर्षदेखि योजना बनाइरहेको र आफू कुनै संस्थासँग आबद्ध नभएको उल्लेख गरेको बताइएको छ ।

उनले आफूले गरेको कार्यमा कुनै पश्चाताप नरहेको समेत बताएका छन् ।

टरानर्टले  आफूलाई मुस्लिमहरु मन नपर्ने भन्दै इस्लाम धर्ममा रुपान्तरण गरेकाहरुप्रति आफू घृणा गर्ने उल्लेख गरेका थिए । उनले धर्म रुपान्तरण गर्नेहरुलाई ‘ब्लड ट्रेटर’ को संज्ञा दिएको बताइएको छ ।

हाल उनको ट्वीटर अकाउन्ट सस्पेन्ड गरिएको छ।

(रासस÷सिन्ह्वा÷एएफपी)

सम्बन्धित समाचार