चालिस हजार नेपाली फर्कन तयार, शुक्रबारदेखि ल्याउन सुरु हुने

June 5, 2020

काठमाडौं । सरकारले भारत बाहेकका मुलुकमा कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा रहेका नेपालीको उद्दार शुक्रबारदेखि सुरु गर्ने भएको छ ।

पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाबाट दुई सय भन्दा बढी र बर्माबाट ईट जना नेपालीलाई काठमाडौं उतािरने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । दुवै देशले आफै फसेमा नेपालीलाई ल्याइदिन लागेका हुन् । बर्माबाट नेपाली िलएर त्यहाँको सैनिक जहाज आउने छ भने यूएइबाट एयर अरेवीयको चार्टर फ्लाइटबाट नेपालीहरु ल्याइनेछ । यो दुवै चार्टर फ्लाइटको शुल्क तिर्नु पर्ने छैन ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण र समन्वयको जिम्मेवारी पाएका परराष्ट्र र पर्यटन मन्त्रालयले प्राथमिकताका आधारमा नेपालीलाई ल्याउन आवश्यक गृहकार्य गरिरहेको छ ।

श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ ।

विदेशबाट फर्किएका सबैलाई क्वारेन्टिनमा राखिनेछ । त्यसअघि उनीहरूलाई ल्याउनुअघि जहाँबाट आउने हो त्यही नै स्वास्थ्य परीक्षण गरिनेछ भने नेपाल आएपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टिनको प्रक्रिया पूरा गरेपछि मात्र उनीहरूलाई आ–आफ्नो घर पठाइनेछ ।

विदेशबाट नागरिक नेपाल ल्याएपछि सम्बन्धित प्रदेशमा पठाउन सातवटै प्रदेशका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकिएको छ । तोकिएका मन्त्रीहरूले नै आफ्नो प्रदेशमा रहेका स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा बसिसकेकाहरूलाई घर पठाउने व्यवस्था गर्नुहुनेछ । प्रदेश नं १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, प्रदेश नं २ मा श्रममन्त्री रामेश्वर राय, वाग्मती प्रदेशमा महिला बालबालिका मन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश नं ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा उद्योगमन्त्री लेखराज भट्टलाई फोकल पर्सन तोकिएको छ ।

यसैबीच, परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार ४० हजारको हाराहारीमा विदेशमा रहेका नेपाली नागरिकले स्वदेश फर्कन चाहेका छन् । सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा उनीहरूको विवरण सङ्कलन भइरहेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा विदेशबाट आउने नेपालीका लागि ‘होल्डिङ सेन्टर’को व्यवस्था गरिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ । एनआरएनएले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपछि सरकारले नेपालीलाई स्वदेश फर्काउन शुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताएका छन् ।

संघले नेपालीलाई तत्काल स्वदेश फर्काउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पटक पटक छलफल गरेको एनआरएन, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

संघले विश्वभर छरिएका नेपाली दूतावाससंँग सहकार्य गर्दै नेपालीको फिर्तीका लागि सहयोग गर्न सबै शाखालाई निर्देशन दिइसकेको छ । अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारामा परेका सबै नेपालीलाई धैर्य गरी जहाँ आफू रहेको हो त्यहीँ रहन र एकार्कालाई सहयोग पुर्याउनसमेत आग्रह गरे ।

यसअघि संघका विदेशस्थित शाखाले नेपाल फर्कन चाहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । तथ्यांकानुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएइमा १८ हजार, कतारमा आठ हजार चार सय, मलेसियामा ६ हजार दुई सय, साउदी अरेबियामा ६ हजार पाँच सय, बहराइनमा तीन सय र ओमनमा सात सय जनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको सङ्घले जनाएको छ ।

सम्बन्धित समाचार