जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिल दोस्रो साता

February 19, 2020

न्युर्योक । नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन आगामी अप्रिल दोस्रो साता हुने भएको छ ।

समितिको फेब्रुअरी ५ तारिखमा बसेको कन्फरेन्स बैठकले अप्रिल ११ र १२ तारिखमा अधिवेशन गर्ने निर्णय गरेको हो । प्रचारप्रसार विभाग प्रमुख गौतम दाहालले निकालेको विज्ञप्तिअनुसार केन्द्रीय अधिवेशनका लागि मार्च २८ र २९ तारिखका दिन सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गरिने छ ।

समिति सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकले केन्द्रीय अधिवेशनको मिति प्रस्ताव गरी पार्टीलाई जानकारी गराउने, केन्द्रीय पर्यवेक्षक र प्रतिनिधिका लागि पार्टी केन्द्रसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेको प्रचारप्रसार विभाग प्रमुख दाहालले जानकारी दिए ।

कांग्रेस विधानअनुसार अधिवेशन मिति प्रस्ताव गरी केन्द्रीय पर्यवेक्षक र प्रतिनिधि पठाइदिन जनसम्पर्क समितिले अनुरोध गर्नुपर्दछ । पार्टीको गत कार्तिक ५ को परिपत्रअनुसार ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गरिएको समितिले प्रस्ट पारेको छ । यसका लागि पार्टी निर्देशनअनुसार क्रियाशील सदस्यता आवेदन वा नवीकरणका लागि सूची संकलन गरी पार्टीलाई प्रेषित गरिने र मार्च १५ सम्म समितिका च्याप्टरमार्फत साधारण सदस्यता वितरण गरिने जनसम्पर्क समिति अमेरिकाले जनाएको छ ।

जनसम्पर्क समितिले सार्वजनिक गरेको अधिवेशन कार्यतालिकाअनुसार २०२० मार्च १५ तारिखसम्म सम्पूर्ण च्याप्टर मातहत समितिको साधारण सदस्यता वितरण र मातृ पार्टीको क्रियाशील सदस्यता सूची संकलन, मार्च २८ र २९ मा सम्पूर्ण च्याप्टरको अधिवेशन गर्ने र केन्द्रीय अधिवेशन अप्रिल ११ र १२ मा गर्ने प्रस्तावको निर्णयसहित पार्टीलाई पत्राचार गर्ने र केन्द्रीय पर्यवेक्षक र प्रतिनिधिका लागि अनुरोध गरिने छ । साथै अधिवेशन सम्पन्न गर्न स्थानीय व्यवस्थापन समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति, आर्थिक समिति, सदस्यता वितरण एवं छानबिन समिति र अनुगमन एवं परामर्शलगायतका समिति पनि गठन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा ३४ सदस्यीय वर्तमान कार्यसमितिका सभापति आनन्द विष्ट, वरिष्ठ उपसभापति धनञ्जय नरसिंह केसी, उपसभापतिहरु धर्मराज श्रेष्ठ, भगवान मैनाली, चेतप्रसाद पौडेल, केशब बराल, महासचिव मुनिन्द्र नेम्बाङ, सचिवहरु भोजराज थोकर, सचिव ईश्वर सापकोटा सहभागी थिए ।
त्यस्तै सदस्यहरु ज्ञानेन्द्रराज कार्की, सुवास लामा, लोक लामा, गोपाल विश्वकर्मा, सुन्दर गुरुङ, गौतम दाहाल, परमानन्द खनाल, गोविन्द लम्साल, पिताम्बर भुषाल, रविन बस्नेत, सुभेन्द्र रानाभाट, पविता परिवार, मान्ती शाह, ओम भट्टराई, किलन राई, हरि शर्मा, विष्णु सुवेदी र प्रमोद सिटौला उपस्थित थिए । सदस्यहरु सुवेदी र सिटौला भने निर्णय प्रक्रियामा असहमति जनाएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार