प्रथम शहिद लखन थापाको १ सय ४३ औं स्मृति दिवस न्युयोर्कमा

February 18, 2020


नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) ले नेपालको प्रथम शहिद लखन थापाको १ सय ४३ औ स्मृति दिवस विशेष कार्यक्रमको साथ मनायो । कार्यक्रम फिप्नाको आफनै कार्यालयमा भएको थियो । कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिहरुले प्रथम शहीद थापाको तस्बिरमा फुल र खादा चढाएका थिए । नेपाली कन्सुलेट न्युयोर्कका वाणिज्यदुत गणेशप्रसाद अधिकारीले प्रथम शहीद थापा सबैको आदरणीय र राष्ट्रको विभुतिको रुपमा चिनिएको बताए । ‘ राणाशासन कालमा नेपाली जनताले भोग्नु परेको दमन र अत्याचारको विरुद्ध लडेका स्वतन्त्र सेनानी लखन थापाको बारेमा हामीले जति भने पनि शब्दमा कमी नै हुन्छ’ बाणिज्यदुत अधिकारीले भने(‘आगामी दिनमा उहााको सम्मानमा थप प्रभावकारी कार्यहरु गर्नुपर्छ’ ।
आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोगंले पहिलो शहीद लखन थापाको स्मृतिमा आगामी दिनमा छात्रावृत्ति कोषहरु निर्माण गरी विभिन्न गतिविधिहरु गर्ने योजना रहेको बताए । कार्यक्रममा फिप्नाका सल्लाहकार तथा एनआरएनएका पुर्वक्षेत्रीय उपसंयोजक नविन शेरचनले एनआरएन र नेपाल सरकारले पहिलो शहीद लखन थापाको स्मृतिमा देशविदेशमा विशेष कार्यक्रमहरु गर्नुपर्ने धारण राखेका थिए ।

फिपनाका महासचिव नरेन्द्र थापाद्धारा सञ्चालन गरेको कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, आदीवासी जनजाती महिला महासंघकी अध्यक्ष संगिनी राणामगर, युनाइटेड किरात अर्गनाइजेसन न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, ग्याल्सुम्दा सेवा सस्थाका अध्यक्ष निमा लामा, मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप मगर, किरात यक्थुङ चुम्लुङका महासचिव सुमन थामसुङ लिम्बु लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले प्रथम शहिद लखन थापाको बारेमा मन्तव्य दिएका थिए । गोर्खा जिल्लामा जन्मेका पहिलो शहीद लखन थापालाई सहादत प्राप्त गरेको १सय २५ वर्षपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले वि.सं. २०५६ सालमा शहीद घोषणा गरेका थिए । त्यसपछि नेपाल मगर संघ र आदिवासी जनजाती महासंघले गर्दै आएको माग अनुसार गणतन्त्रपछि पहिलो शहिदको रुपमा घोषणा गरेका थिए ।

सम्बन्धित समाचार