आजको खल्ति रित्याएर
भोलिको ढुकुटी भर्छन् ।
भोलि नै सर्वस्व हो ठान्छन् र
भोलिको लागि आजै मर्छन् ।
नदेखिएका भोलिको खुशीका लागि
आज मरी मरी दुःख गर्दछन् ।
स्वपनील त्यो भोलिलाई दैख्नै नपाई
दुःख र कष्टमा आजै मर्छन् ।
आजको सत्यतालाई अस्वीकार गरी
अनिश्चित भोलिको लागि हजारौ सपना बुन्छन् ।
तिनै स्वप्नील खुशीको जालोमा फसेर
भोलिको लागि आज रुन्छन् ।
भोलि जिउला भन्दै आजको जिन्दगी विर्सन्छन्
जिउला भन्दा भन्दै जिन्दगीले बिट मारेको देख्छन् ।
अनि हिजो किन जिउन सकिन भनेर आज पछुताउदै मर्छन् ।
बैशमा जिउछु भनेर बाल्यकाल खर्चिन्छन्
अनि बुढेसकालको लागि भनि बैश बिर्सन्छन् ।
केही गर्नै नसक्ने बुढेसकालमा
खेरा गएको बाल्यकाल र वैशलाई सम्झेर मर्छन् ।
भोलिको खुशीहरुका लागि आज रुन्छन् ।
अनिश्चित भोलिको लागि आज दुःख गर्छन् ।
अन्तमा भोलिलाई देख्नै नपाई आजै मर्छन
फेरि पनि जिउने जति सबै भोलिकै लागि जिउछन् ।
-सेर्माथाङ, सिन्धुपाल्चोक÷हाल न्यूयोर्क, अमेरिका