६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आयोजकलाई हराउँदै नवलपुर बन्यो च्याम्पियन, मन्त्रीले भने-‘क्लबलाइ सघाउँछु’


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

नवलपुर । आयोजक नवलपुर युनाइटेड क्लबलाई हराउँदै नवलपुर युवा क्लब, टाकुरे नवलपुर क्षेत्रीय कपको च्याम्पियन बनेको छ । शनिबार सिन्धुपाल्चोकको बाँडेगाउँस्थित डडुवाखर्क मैदानमा भएको फाइनल खेलमा १–० अन्तरले नवलपुर युवा क्लब विजयी भएको हो । विजयी गोल क्लबका स्ट्राइकर सुरेश खत्रीले प्रहार गरेका थिए ।
विजयी क्लबले उपाधिसहित एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार प्राप्त गरेको छ । च्याम्पियन क्लबलाई प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाँले शिल्ड प्रदान गरे भने वल्ड ट्रेल फाइन्डर एन्भेन्चर्सका प्रबन्ध निर्देशक सुदिप मोक्तानले चेक हस्तान्तरण गरे ।
क्याप्टेन सुरेन श्रेष्ठको नेतृत्वमा मैदानमा उत्रेको टोलीलाई दर्शकदीर्घबाट उल्लेख्य हुटिङ मिलेको थियो । फाइनल खेलमा ३ हजार दर्शक उपस्थित रहेको अायोजकको दाबी छ । खेलाडीको लय मिलेकोले खेल जित्ने आशा पहिलेदेखि नै गरेको विजेता टोलीको प्रशिक्षक समीर लामाले बताए । क्बलले अब माघको २१ गते नै जिल्ला लिग खेल्ने उनले बताए । जिल्ला लिग लामोसाँघुमा हुदैछ ।

अायोजक नवलपुर युनाइटेड क्लब

दोस्रो भएको आयोजक नवलपुर युनाइटेड क्लब ‘ए’ लाई एन्फाका पूर्वउपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले शिल्ड प्रदान गरे भने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं समाजसेवी वंशलाल तामाङले चेक प्रदान गरे । दोस्रो हुन सफल ५१ हजार एक सय ५१ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी तेस्रो हुन सफल सिपाघाट युवा क्लबलाई नगद २१ हजार एक सय २१ प्रदान गरियो । तेस्रो क्बलका खेलाडीलाई कांग्रेस महाधिवेशन प्रतिनिधिद्वय बिलबहादुर तामाङ र श्री लामाले शिल्ड तथा नगद पुरस्कार प्रदान गरेका थिए ।


माघ १ बाट सुरु भएको खेलका सर्वाधिक गोलकर्ता आयोजक नवलपुर युनाइटेक क्लब ए का सञ्जु काफ्ले घोषित भए । २२ टोली सहभागी खेलमा काफ्लेले ६ गोल गरेका थिए । त्यसैगरी फाइनल खेलमा सुरेन्द्र गुरुङ म्यान अफ दि म्याच घोषित भए । आयोजक क्लबकै प्रदीप मगर उत्कृष्ट खेलाडी दरिए । रामेश्वर श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट गोलकिपरको उपाधि भने वाङ्जु लामाले हात पारे । म्यान अफ दि म्याच र उत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी प्राप्त गरे भने उत्कृष्ट डिफेन्डर रामेश्वर श्रेष्ठ र उत्कृष्ट गोलकिपर वाङ्जु शेर्पाले पाँच हजार नगदसहित ट्रफी प्राप्त गरे । नवलपुर पाडामारुवाका खेलाडी गम्भीर लामालाई पनि नगद पाँचहजार सहित सम्मान गरियो । सबै खेलाडीलाई प्रायोजक वल्ड ट्रेल फाइन्डरका प्रबन्ध निर्देशक सुदिप मोक्तानले सम्मान गरेका थिए ।

खेलमा अनुशासित र दर्शकको मन जित्न सफल थकनी क्लब, तालामाराङ क्बल, एनटिवाइसी क्लबलाई पनि नगद पाँचहजारसहित सम्मान गरियो ।

आयोजक क्लबलाई सघाउँछु–राज्यमन्त्री बानियाँ

प्रमुख अतिथिका रुपमा डडुवाखर्क मैदान पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाँले फाइनल खेल उद्घाटन गर्दै आयोजक क्लबलाई सघाउने वचन दिए । उनले क्लबले उत्कृष्ट खेलाडी उत्पादन गर्ने आशा गरेको उल्लेख गर्दै सक्दो सहयोग गर्ने वचन गर्दै देश चुनावी माहोलमा जान लागेको उल्लेख गरे । त्यसैगरी मन्त्री बाँनियाँले यो भेग पर्यटन र संस्कृतिका लागि भर्जिन क्षेत्र भएकोले यसको विकासमासमेत ध्यान दिने बताए । भृकुटी पर्यटकीय मार्ग बनाउन सकिने र खेल मैदानलाई विस्तार गर्ने उल्लेख्य सम्भावना भएकोले हामी यसमा सक्दो सहयोग गर्नेछौ ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि वंशलाल तामाङले प्रसिद्ध खेलाडी पेलेको उदाहरण दिर्दै आयोजक क्लबले देशभर चिनाउने काम र युवा शक्ति रचनात्मक काममा लागेकोमा खुसी व्यक्त गरे । गाउँमा थुप्रै पेलेहरु भएकोले पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न क्लब सफल हुनेमा विश्वास व्यक्त गर्दै उनले खेलले सबैलाई जोड्ने भनाइ राखे ।
कार्यक्रमका अर्का विशेष अतिथि एन्फाका पूर्व उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले आयोजक क्लबलाई सक्दो सहयोग गर्ने वचन दिए । उनले फुटबल खेलमा करोडौं रकम आउने र जिल्लामा आउँदा पनि क्लब स्वयंले खर्च गरेर जिल्लाकै सर्वाधिक राशिको खेल आयोजना गर्नु उदाहरणीय भएको बताए ।

फुटबलका जिल्ला र केन्द्रीय पदाधिकारीहरुलाई यस्तो खेलले कटाक्ष गरेको र अबका दिनमा जिल्लामा पनि क्लबले बजेट दाबी गर्नुपर्ने उनको सुझाव थियो ।

जिल्लाका स्थानीय युवा खेलाडीलाई खेलमा प्रतिभा तिखार्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ । यसअघि गत दशैंमा क्लबले इलाकास्तरीय खेलको आयोजना गरेको थियो ।
क्लबका महासचिव क्षेत्र तामाङले स्वागत गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधिद्वय विलबहादुर तामाङ, श्री लामा, रेडक्रस जिल्ला अध्यक्ष राजेन्द्रमान ताल्चाभाँडेललगायतले मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष चिन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्तिममा ल्होछार साँझ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १ : ०१ बजे