काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सङ्क्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने बताएका छन् ।
महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि मंगलबार प्रहरी मुख्यालयमा मातहतका प्रहरी अधिकारीसमक्ष प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै महानिरीक्षक अर्यालले संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी सङ्गठनले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
सङ्गठनको व्यावसायिकता र प्रभावकारिता बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै अर्यालले भने, “म तपार्इंहरूको प्रिय महानिरीक्षक बन्ने प्रयास गर्नेछु । जुनसुकै दर्जाका प्रहरी कर्मचारीको गुनासो सुन्न सक्ने गरी अभिभावकीय भूमिका निर्वाह गर्नेछु ।”
प्रहरी महानिरीक्षक अर्यालले साङ्केतिक रूपमा आफ्नो प्रतिस्पर्धी रहेकाहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले भने, “नेतृत्वमा प्रतिस्पर्धा हुनु प्रकृतिको नियम हो, प्रतिस्पर्धा भइसकेपछि दौडमा एक जना मात्रै पहिलो हुन्छ, प्राकृतिक कुरालाई अरुले स्विकार्न सक्नुपर्छ ।”
उनले थपे, “म र मेरो भावनाभन्दा माथि उठी एकताबद्ध भएर अघि बढ्न मेरा सहकर्मी र समकक्षीलाई आग्रह गर्छु ।”
कार्यक्रममा महानिरीक्षक अर्याललाई स्वागत तथा बधाई दिँदै यसअघि निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हालेका डा दिनेशचन्द्र पोेखरेलले प्रहरी सङ्गठनमा अनुशासन र ‘चेन अफ कमान्ड’ खुकुलो बन्दै गएको गुनासोलाई नयाँ महानिरीक्षकले विशेष रूपमा लिन आग्रह गरे ।