२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

टायरको धुवाँ र मसालको ज्वालासँग विद्यार्थीको जवानी नबितोस्


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)की नवनिर्वाचित अध्यक्ष नवीना लामा २० वर्षदेखि निरन्तर अखिलको राजनीतिमा छिन् । काभ्रे–मादनकुडारीकी लामा महेन्द्र मावि मादनकुँडारीको प्रारम्भिक कमिटीदेखि, जिल्ला कमिटी उपाध्यक्ष, बानेश्वर क्याम्पसको स्ववियु सचिव, सभापति भएर साझा विद्यार्थी फोरममा पनि निर्वाचित हुदैं केन्द्रमा आइपुगिन् ।

केन्द्रीय सदस्य हुँदै दुई कार्यकाल सचिवालय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव बनेकी उनी २० औं राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षको बनेकी थिइन् । आफु अनेरास्ववियुको अध्यक्ष भई छाड्ने लक्ष्य बोकेकी उनी २१ औं राष्ट्रिय सम्मेलनमा दीपक गौतमले भन्दा २१६ बढी मत ल्याएर अध्यक्षमा निर्वाचत हुन सफल भइन् । नवनिर्वाचित अनेरास्ववियु अध्यक्ष नवीना लामासँग एभरेस्ट टाइम्सका नेत्र तामाङले गरेको कुराकानीः

अध्यक्षमा निर्वाचित हुनुभयो, अब काम देखाउने बेला आएको छ, के–के गर्ने योजना छ तपाईंको ?

देशको राजनीतिक परिस्थिति पहिलेभन्दा फेरिएको छ । देश संघीयतामा जाँदै गर्दा संगठनलाई संघीयताको संरचनामा लाने पहिलो काम हुदैछ । त्यही केही दिनमै छिनोफानो हुन्छ । विद्यार्थी युवालाई नवनिर्माणमा लाग्न प्रेरित गर्ने, शिक्षा नीतिमा परिमार्जन गराउने, शैक्षिक विभेदलाई अन्त्य गराउने र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने यी चार विषय अहिलेको प्राथमिकतामा छन् । यी काम मैले गर्नैपर्छ । अर्को मैले २० वर्षसम्म संगठनमा सिकेको सीप र अनुभवलाई पनि प्रयोग गर्छु ।
नवनिर्माणको कुरा गर्नुभयो, यो कसरी सम्भव छ ?
मैले अघि नै भनिसकें, देशको राजनीतिक परिस्थिति फेरिएको छ । अब हिजोजस्तै तालाबन्दी र टायर बालेर विद्यार्थी अराजक बन्नु हुन्न । आफ्नो दिमाग र बल निर्माणमा लाउनुपर्छ । अखिलका विद्यार्थीहरु देश निर्माणमा लाग्नेछन् । देशले आयोजना गरेको विकासका विभिन्न कार्यक्रमलाई साथ दिएर निर्माणमा विद्यार्थी अघि बढ्न सक्छन् ।
भनेपछि, अब तालाबन्दी र सडकमा टायर बाल्ने काम अनेरास्ववियुबाट हुदैंन ?
म चाहान्छु, त्यस्तो गर्नु नपरोस । टायरको धुवाँ र मसालको ज्वालासँग विद्यार्थीको जवानी नबितोस । देशलाई सक्षम नेतृत्व उत्पादन गर्ने कारखाना विद्यार्थी संगठन हो । यसमा यस्ता विकृत कामहरु गर्नु नपरोस ।
nabina-lama-oneसक्षम नेतृत्व उत्पादन गर्ने कारखाना भन्नुहुन्छ, तर स्ववियुको चुनाव नभएको कति भइसक्यो ?
हो, अब मेरो दबाव पनि यसैमा रहन्छ । स्ववियु चुनाव जसरी भएपनि सक्दो चाँडो हुनुपर्छ । किनभने यो लाखौं विद्यार्थीको वैधानिक मञ्च हो । गतिशिल संस्था हो । अखिलमात्र होइन, नेविसंघ र क्रान्तिकारीको मञ्च पनि यही हो । अब स्ववियु चुनाव हुन्छ । म ढुक्क छु ।

शैक्षिक विभेदको कुरा गर्नुभयो, नीजि विद्यालय र सरकारी विद्यालय नै भन्नुभएको होला, यो त धेरै अघिदेखिको विभेद हो, यसको अन्त्य होला र ?
नीति नै सबैभन्दा ठुलो कुरा हो । यहाँ प्रतिभावान मान्छेहरु पढ्न पाएका छैनन् । त्यसैले सरकारी शिक्षालाई गुणस्तरीय बनाउनेमा हाम्रो जोड रहन्छ । नीजि विद्यालयहरु पारदर्शी छैनन् । उनीहरुलाई पारदर्शी बनाउने र शैक्षिक समानता बनाउन हामी जोडबलका साथ लाग्ने छौ ।
नेपाली शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्नुभयो, तर सेमेस्टर प्रणालीहरु लागु हुन सकिरहेका छैनन् नि ?
नेपालको वैज्ञानिक शिक्षामा अखिलको सहयोग रहन्छ । सेमेस्टर प्रणालीलाई सबैभन्दा पहिले हामीले स्वागत गरेका हौं । तर, विश्वविद्यालयको नेतृत्वको अक्षमताकै कारण यस्तो भएको हो । विश्वविद्यालयको नेतृत्वले शैक्षिक माफियाहरुसँग साँठगाँठ गरेर यस्तो भएको हो । यस्तो हुन नदिन हामी दबाव दिन्छौं ।
एमाले जनजातिलाई स्थान नदिने पार्टीका रुपमा हेरिन्थ्यो, जब तपाई अनेरास्ववियुको चुनावमा तपाईं निर्वाचित हुनुभयो, अहिले जनजातिको दृष्टिकोण फेरिएको छ, यो साँचो हो ?
एमाले जनजातिलाई स्थान दिने पार्टी हो । म महिला पनि हुँ । जनजाति पनि हुँ । यी दुई मेरो लागि प्लस प्वाइन्ट हो । तर, २० वर्षदेखि नलागेको भए, दुःख नगरेको भए के म यसका लागि योग्य हुन्थें र ? म जित्थे र ?
तपाईं प्रतिस्पर्धामा हुनुहुदाँ एउटा नारा ‘ब्युटि उइथ ब्रेन’ पनि थियो, यो तपाईंलाई कतिको राम्रो लागेको थियो ?
नराम्रो लागेको थिएन । अहिलेको राजनीतिमा नेतृत्व स्मार्ट नै हुनुपर्छ । विचारको सुन्दरता पनि हुन्छ । विचार र शरीरको सुन्दरता राजनीतिमा आवश्यक छ ।
प्रधानमन्त्री बन्ने तपाईको लक्ष्य पुरा गर्ने कस्ता योजना छन् ?
मलाई अखिलमा अध्यक्ष बन्न गाह्रो थियो । सचिव, उपाध्यक्ष, महासचिव बन्न कुनै गाह्रो थिएन । म अध्यक्ष बनें । पार्टीमा अध्यक्ष र प्रधानमन्त्री हुन गाह्रो छ । केन्द्रीय सदस्य, सांसद बन्न र मन्त्री बन्न सजिलो छ । त्यसैले मेरो सपना छ, योजना छ, प्रधानमन्त्री बन्नेछु । एकदिन अवश्य प्रधानमन्त्री बन्छु ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ६ : ५९ बजे