जसवन्तदेव श्रेष्ठको हलिउड प्रवेश पाँच वर्ष पुग्यो । बलिउडमा तीन वर्ष बिताएका जसवन्तदेव हलिउडमा एक्ला नेपाली हुन् । हालै अमेरिकाको प्रतिष्ठित नेसनल एकेडेमी अफ टेलिभिजन आर्टस एन्ड साईन्सेसले प्रदान गर्ने एमी अवार्डमा उनी मनोनयनमा परेका थिए ।
इन्टरनेट मुभी डाटावेसकाअनुसार एमी अवार्ड मनोनयनमा पर्ने पहिलो नेपाली अभिनेता तथा निर्माता उनी नै हुन् । भलै उनी उक्त विधामा छानिएनन्, तर यो मनोनयनले हलिउडमा उनको उपस्थिति र छाप फैलन मद्दत पुगेको छ । जसवन्तदेव अभिनय मात्र गर्दैनन्, आफै कथा लेख्छन् र निर्देशन पनि भ्याउँछन् । टेलिभिजन सोमा ढल्केका उनले ‘सर्ट फिल्म’ लाई आफ्नो मुख्य विधा बनाएका छन् ।
सन् २०१४ मा कोलोराडोमा आयोजित ब्लिस फेस्ट–३३३ मा उनले बनाएको सर्ट फिल्म ‘दि ट्रिजन’ बाट उनले उत्कृष्ट अभिनेता अवार्ड पाए । त्यस पछि पनि जसवन्तले अन्य विभिन्न भूमिका तथा विभिन्न योगदान गरेवापत दुई दर्जन अवार्ड पाइसकेका छन् । पछिल्लोपटक क्यालिफोर्नियाको एक फिल्म फेस्टिबलमा ‘जर्नी उइथ जज’ टेलिभिजन सिरिजका लागि दुईवटा अवार्ड हात पारे । १४ अगस्टमा उनले बेस्ट सर्ट फिल्म कम्पिटिसन अवार्ड र ग्लोबल कम्पिटिसन अवार्ड हात पारेका हुन् ।
‘द फस्ट डेट’ फेसबुक विज्ञापनमा पनि उनको अभिनय हेर्न सकिन्छ । हालसम्म उनी अभिनित यो विज्ञापन ५ करोडभन्दा बढी पटक हेरिएको छ । डाटावेसकाअनुसार हलिउडको कलाकार संघ स्क्रिन एक्टर्स गिल्डको सदस्यता पाउने पहिलो नेपाली अभिनेता पनि जसवन्त नै हुन् ।
ललितपुरको तिखेदेवलमा जन्मिएका उनलाई सानैदेखि घुमघामको मौका मिल्यो । बुवा बेलायती सेना र आमा पोखराको एक विद्यालयको प्रधानाध्यपक भएकोले आफुले घुम्ने मौका पाएको जसवन्तले सुनाए । यसै क्रममा उनले हलिउडमा नेसनल अवार्डमवाट सम्मानित चलचित्र निर्माता कल्पना लाम्जीसँग पनि ३ बर्ष सहायक निर्देशकको रुपमा काम गरे ।
नेपालमा उनले सन् २००५ मा सुर्य प्लाइउडको विज्ञापनमा अभिनय गरे । जसवन्तले पोखरा डटकम नामको यात्रा संस्करणमा आधारित सांगीतिक टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रसारण गरे । यो कार्यक्रम नेपाल वान टेलिभिजनमा एक सय भागसम्म प्रसारण भएको थियो । जसवन्त घुमफिरमा सौखिन छन् । हाल उनी ट्राभल सोको तयारीमा छन् । जसका लागि अमेरिकाका ५८ वटा नेसनल पार्कमा पुगिसकेका छन् । यसै सोको तयारीमा रहेका उनले यसअघि पनि यात्रासम्बन्धी वृत्तचित्र बनाएका थिए ।
त्यो थियो, स्वर्गजस्तै मनाङ । ७६ मिनेट लामो यो वृत्तचित्रमा चारवटा मौसममा परिवर्तन हुने तालको रंग, मनाङको स्थानीय जीवनशैली, रहनसहन, संस्कृति, शैक्षिक अवस्थाजस्ता पक्षलाई जीवन्त शैलीमा देखाइएको छ ।
न्युयोर्क फिल्म फेस्टिभल, युरोपियन फेस्टिभल, हिमालय फेस्टिभलजस्ता विश्वका ठूलठूला महोत्सवमा पनि स्क्रिनिङको अवसर पायो, स्वर्गजस्तै मनाङले । सन् २००७ को न्युयोर्क फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्रीको अवार्ड जित्यो यसले । त्यसलगत्तै जसवन्तले ९० मिनेट लामो अर्को डकुमेन्ट्री तयार पारे, ‘मुस्ताङ ः सेक्रेट्स वियोन्ड द हिमालय’ । यी दुई डकुमेन्ट्री स्क्रिनिङको सिलसिलामा उनी अमेरिका पुगेका थिए । त्यही बेला कोलोराडोको एक फिल्म प्रोडक्सन कम्पनीबाट उनलाई कामको प्रस्ताव आयो ।
ट्रिजनमा जसवन्तदेव ।
अभिनयको हुटहुटीले पछ्याएपछि उनी हलिउडको ‘बेवर्ली हिल्स प्ले हाउस’मा अभिनयको अध्ययन गरे । जसवन्तले युनिभर्सिटी अफ कोलोराडो र डेनभर सेन्टर फर पर्फमिङ आर्टसका क्रिस थ्याचरसँग मेस्नर तथा चेखोव स्टाइलका अभिनय कलाहरु रकि माउन्टेन थिएटरमा अध्ययन गरेका छन् । विभिन्न चलचित्रहरुमा सह—निर्देशकको आफ्नो हलिउड यात्रा सुरु गरे । उनले अभिनय गरेका दि ब्रेकडाउन अन हाइवे सेभेन दि ट्रिजन (फिचर) अमेजन डटकममा उपलब्ध छन् । उनै हलिउडका नेपाली आइकन जसवन्तदेवसँग एभरेस्ट टाइम्सले केही प्रश्न सोधेको थियोः
….
तपाईं अहिले कुन फिल्ममा व्यस्त हुनुहुन्छ ?
अहिले म टेलिभिजन कार्यक्रम शोको तयारीमा छु । यो ट्राभल शो हुनेछ । ५८ वटा नेसनल पार्कको बारेमा यहाँ समेटिनेछ । जलवायु पविर्तनलगायतका विषयलाई यहाँ समेटेको छु । यो पहिलो शृखंला हुनेछ ।
हलिउड प्रवेश गर्नुभएको कति समय पुग्यो, कस्तो लागिरहेको छ ?
अहिले त लगभग पाँच वर्ष पुगिसक्यो । एक नेपाली भएर हलिउडमा प्रवेश गर्ने पहिलो नेपाली भनेर चिनिदाँ एकदमै गर्व लाग्छ । तर, गारो पनि उत्तिकै छ । साथीहरु, दर्शकहरुले मेरो देशबारे सोध्छन् । बुद्ध र सगरमाथाको देश भनेपछि मात्र चिन्छन् ।
कस्तो विधामा अभिनय गर्नुहुन्छ, भूमिका पाउन कतिको कठिन हुन्छ ?
अहिले त एनिमेसन मुभीहरुमा काम धेरै पाइरहेको छु । बलिउडबाट प्रियंका चोपडासँगै पनि काम गर्ने अवसर पाएँ । म बढी जसो टिभी सोहरु र सर्ट फिल्महरुमा अभिनय गर्छु । एउटा रोल पाउनका लागि अडिसन त दिनैपर्छ । एउटा रोलका लागि ४ हजारभन्दा बढी प्रतिस्पर्धीलाई पन्छाउनुपर्छ ।
तपाईंले नेपालमा पनि काम गर्नुभयो, बलिउडमा पनि र अहिले हलिउडमा हुनुहुन्छ, के फरक पाउनुभयो, यी तीन पृथक डबलीमा ?
कलिउडमा नेपालभरका कथाहरु प्रतिस्पर्धामा आएर दर्शकसामु आइपुग्छ । बलिउडमा भारतभरका कथाहरु प्रतिस्पर्धामा हुन्छन् भने हलिउडमा विश्वभरका कथाहरु आइपुग्छन् । यी मध्येबाट छानिएर दर्शकसम्म पुग्नु निकै सकसपूर्ण हुन्छ । यसैले काम गर्दा हलिउडमा निकै दुःख गर्नुपर्छ । मैले ट्रिजन लेख्दा नौ महिना बिताए । कथामा निकै मेहेनत गर्नुपर्छ । शब्दशब्दमा दुःख गरेमा बल्ल हलिउडको स्तरमा पुग्न सफल हुन्छ ।
हलिउडमा उभिएर नेपाली फिल्मको अवस्था नियाल्दा कस्तो लाग्छ ?
अहिले नेपाली फिल्म फिचरहरु राम्रा बनेका छन् । क्वालिटीका बनेका छन् जस्तो लाग्छ । बेलामौकामा अमेरिकामै पनि मैले नेपाली फिल्म हेरेको छु । तर, कलिउडको मुलधारमा म प्रवेश नगरेकोले यसको वास्तविकता भने मलाई त्यति थाहा छैन ।
दोस्रो नेपाली हलिडउमा प्रवेश गर्न के–के गर्नुपर्छ होला ?
अर्काको देश, अर्काको भाषा, अर्काको कथामा चल्नुपर्छ । यसले गर्दा दुःख त अवश्य गर्नैप¥यो । पहिलो कुरा भनेको कलाकारितालाई माया गरेर लगनशीलता, धैर्यताकासाथ काम गरेमा दोस्रो, तेस्रो र अरु नेपालीले पनि हलिउडमा स्थान पाउनेछन् ।