६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

खाना बनाउँदा पनि गुनगुनाउँछु–मिङ्स लामा, गायिका


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

मिङ्स लामा लोक पप गायनमा परिचित नाम हो । ६ वर्षको यात्रामा उनले एक दर्जन गीत गाएकी छन् । सेलो र रोमान्टिक गीतमा पनि उनले आफ्नो बेग्लै छवि बनाएकी छन् । काठमाडौंको बौद्धमा जन्मेकी मिङ्स सानैदेखि नाचगान मनपराएकोले यो क्षेत्रले आकार्षित गरेको बताउँछिन् ।
बुवा ज्ञानबहादुर वडाध्यक्ष भएकोले उनलाई यो क्षेत्रमा आउन सजिलो भएको उनले सुनाईन् । परिवार नै संगीतप्रेमी भएकोले आफु गायनमा आएको उनको भनाई छ । त्यसो त उनले आफै गीत पनि लेख्छिन् । ‘पहिलो माया’ बोलको गीत उनी आफैले लेखेकी हुन् ।
मिङ्स कुनै समय कोरियोग्राफी पनि गर्थिन् भने कुनै समय ब्युटिसियन पनि भइन् । यतिबेला भने उनी गायनमै आफ्नो सयम लगानी गरिरहेकी छन् । ‘च्याङ्बा हो नाचौं’ बोलको गीत उनले गाएकोमध्येमा चर्चा कमाउन सफल गीत हो । उनै गायिका मिङ्स लामासँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
तपाईं कस्तो खालको गीतहरु गाउन रुचाउनुहुन्छ ?
प्रायः लोकपप नै हुन्छन् । सेलो र रोमान्टिक गीतहरु गाउन मन पराउँछु । ‘कस्तो माया बस्यो’ बाट गायन यात्रा सुरु भयो । एकमहिना अघिमात्र ‘सम्झना’ बोलको गीत आयो । अब केही गीतहरु चाँडै नै सार्वजनिक गर्ने योजनामा छु । यी सबै गीतहरु प्रायः डान्सिङ नम्बरका र लोक पपमा आधारित छन् ।
सम्झनाको बारेमा अलिकति बताईदिनुस न ।
यो गीत सेप्टेम्बर अन्तिममा रिलिज गरेको पप गीत हो । यसमा नवीनमान ब्लोनको शब्द÷संगीत रहेको छ । म्युजिक भिडियो रायन कार्कीले गर्नुभएको हो । महेन्द्र गुरुङ र दीपेन श्रेष्ठले स्पोन्सर गर्नुभएको छ ।
तपाईंले गाउनुभएको गीतहरु तपाईं आफैंलाई कतिको मनपर्छ ?
सबै गीतहरु एकदमै मनपर्छ । मैले मन पराएरै गाएकी हुँ । आफ्नो गीतलाई पहिले आफैंले माया गर्नुपर्छ । अनि पो अरुले मन पराउन थाल्छन् ।

आफ्नो गीत प्रमोसनमा कतिको समय दिनुहुन्छ ?
रेडियो, टेलिभिजनदेखि सोसल साइट्सम्म प्रचारमा खट्छु । आफ्नो गीतको प्रमोसनमा जतिसक्दो सञ्चारमाध्यममा पुग्ने कोसिस गर्छु । फेसबुक, युट्युबतिर पनि सक्दो सेयर गर्छु ।
तपाईं एकजमाना ब्युटिसियन पनि हुनुहुन्थ्यो, गायिका र ब्युटिसियनबीच के फरक पाउनुहुन्छ ?
केही वर्ष अघि आफ्नै ब्युटि पार्लर थियो । गायनमा लागेकोले यसलाई निरन्तरता दिन सकिनँ । ब्युटिसियन राम्रो पेसा हो । आम्दानी राम्रो हुन्छ । गायन नामको लागि हो । सम्मान पाइन्छ । आफुले राम्रो गीत पस्केमा श्रोतादर्शकले मनपराउनुहुन्छ । यही खुसीको कुरा हो ।
आम्दानी हुने पेसा चटक्क छाडी गायनमा लाग्दा पछुतो छैन ?
कुनै पछुतो छैन । किनभने, आफ्नो सपना पुरा गर्न नै यही क्षेत्रमा छु । घरको सपोर्ट छ । यही क्षेत्रमा आएर मलाई धेरैले मिङ्स लामा भनेर चिन्न थालेका छन् । अर्को कुरा अत्मसन्तुष्टि हो । जुन मलाई मिलेको छ । यही क्षेत्रमा आएर समाजसेवा पनि लाग्न थालेकी छु । कमाईको केही भाग विभिन्न अनाथ गृहहरुमा गएर खर्च गर्छु । कहिलेकही अनाथ बालबालिकाका लागि फन्ड राइजिङ कार्यक्रममा पनि गाउन पुग्छु ।

स्टेज कार्यक्रमहरुमा कतिको पुग्नुहुन्छ ?
अहिले त गायकगायिकाको स्टेज पुग्नैपर्ने बाध्यता छ । म नपुगिकन बसुँला र । उपत्यकामा दिनमै दुई–तीनवटा कार्यक्रममा पुग्नुपर्छ । उपत्यकाबाहिर पनि गाइरहेकी छु ।
स्टेजमा भोग्नुपरेको समस्याहरु के के हुन् ?
स्टेजमा दर्शकको वाहावाही र ताली पाइन्छ । यो खुसीको कुरा हो । कहिलेकही चै साउन्ड सिस्टम बिग्रेर र ट्रयाकले धोका दिन्छ । यस्तो बेला निकै दुःख लाग्छ । यसैले आफ्नो तर्फबाट चै मिस्टेक नहोस भनेर सिडी, पेनड्राइभ र मोबाइलमा साउन्ड ट्रयाक बोकेर स्टेज पुग्छु ।

गायनबाहेक तपाईंको दैनिकी कसरी बित्छ ?
बिहान साढे दुई घन्टा रियाज गर्छु । घरको काम गर्दागर्दै, खाना पकाउँदापकाउँदै गीतहरु गुनगुनाउँछु । फुर्सद मिल्यो भने बेलका पनि एकछिन् रियाज गर्छु । यसरी नै बित्छ दैनिकी ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ८ : ०९ बजे