२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

सैनिक मञ्च टुँडिखेलमा १० औं गणतन्त्र दिवस


१५ जेष्ठ २०७४, सोमबार  

0
Shares

काठमाडौं । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाए ।

सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो ।संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

 

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ ।

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो । सो अवसरमा राष्ट्रिय गानको धुन बजाउनुका साथै मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्मान र सम्झनामा मौनधारण गरिएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार  १ : ४९ बजे