ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक सम्भावनालाई मूर्त रुप दिन स्थानीय तहको जनप्रतिनिधिहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा राखेका छन् ।
ललितपुर उद्योग वाणिज्य संघले महासंघका नवनिर्वाचित पदाधिकारीहरु र जिल्लाका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजित स्वागत तथा बधाई समारोहमा उहाँले सो धारणा राख्नुभएको हो ।
कला, संस्कृतिले भरिएको ललितपुर जिल्लामा हस्तकला, पर्यटन प्रर्वद्धन र दक्षिणी भेगमा कृषिजन्य उत्पादनको प्रबल सम्भावना रहेको जनाउँदै महासंघका अध्यक्ष राणाले त्यसलाई मूर्तरुप दिएर आर्थिक विकास गर्न जनप्रतिनिधिहरुले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले एक जिल्ला एक उत्पादन अन्र्तगत ललितपुरलाई हस्तकलाको जिल्ला घोषणा गरिएकोले लुभू र बुगंमतीलाई हस्तकलाको ग्रामको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले विगतमा उद्योग वाणिज्य संघ र महानगरपालिकाको बीचमा भएको सहमति अनुरुप महानगरको आर्थिक विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । प्रमुख महर्जनले जिल्लामा व्यावसायिक वातावरण तयार गर्न आफ्नो सशक्त पहलकदमी हुने पनि बताए ।
सो अवसरमा ललितपुर उद्योग वाणिज्य सघका अध्यक्ष सविन श्रेष्ठले आर्थिक विकासको लागि संघले अघि सारेको एजेण्डा र कार्यक्रमा निर्वाचित जनप्रतिनिधिहरुले निरन्तरता दिने विश्वास व्यक्त गर्दै जिल्लाको समृद्धि र विकासको लागि सबैसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उहाँले संघको सहयोगमा स्थानीय तहले उठाउन गरेको करको २५ प्रतिशत स्थानीय तहले व्यावसायिक वातावरण तयार गर्न खर्चिनुपर्ने पनि माग गरे ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्रकारले राजधानीसंगै जोडीएको जिल्ला भएपनि ललितपुर सदैव ओझेलमा परेको बताउनु हुंदै जनप्रतिनिधिहरुले सो खाडल पुर्न सफल हुनुपर्ने बताए । उहाँले आर्थिक समृद्धिमा जनप्रतिनिधिबाट हुने प्रयासमा संघको सदैव साथ रहने पनि बताउनु भयो ।
सो अवसरमा महानगरपालिकासहित महालक्ष्मी, गोदावरी, नगरपालिका, वाग्मती, कोञ्जोसोम, र महाकाल गाउँपालिकाका प्रमुख र उपप्रमुख सबैलाई संघका अध्यक्ष श्रेष्ठले खादा ओढाई र निर्वतमान अध्यक्ष अजरमान जोशीले पुष्पगुच्छा प्रदान गरेका थिए ।