१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

शेरबहादुर देउवा चाैथाेपटक प्रधानमन्त्रीमा निर्वाचित, सपथ भोलि


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाैथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा भएको निर्वाचनमा शेरबहादुर देउवा ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

 ५५८ मत खसेकोमा विपक्षमा १७० मत खसेको थियो ।

कहिले कहिले भए देउवा प्रधानमन्त्री ?
१.पहिलो पटक –२०५२ भाद्र २७ देखि २०५३ फागुन २० (५७४ दिन ) १८ महिना
२.दोस्रो पटक –२०५८ श्रावण ११ देखि २०५९ आश्विन १८ (४३५ दिन साढे १४ महिना )
३. तेस्रो पटक –२०६१ जेठ २१ देखि २०६१ माघ १९ (२४३ दिन) (८ महिना )

नजिकबाट शेरबहादुर

डडेल्धुरा जिल्लाको रुवाखोला (हाल गन्यापधुरा गाउँपालिका)मा विसं. विसं २००३ जेठ ३१ गते प्रधानमन्त्री देउवाको जन्म भएको थियो। पिता प्रसादसिंह र माता द्रौपतीदेवीका जेठा छोरा प्रधानमन्त्री देउवाको एक छोरा छन् भने धर्मपत्नीडा आरजु राणा देउवा व्यवस्थापिका–संसद्को सदस्य छिन्। उनी समाजिक क्षेत्रमा पनि उत्तिकै प्रसिद्ध छिन्।

सानै उमेरदेखि नै राजनीतिमा उत्तिकै चासो राख्ने देउवा विसं २०१७ पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरेर पञ्चायति व्यबस्था सुरु भएपछि कांग्रेसको सक्रिय राजनीतिमा लागे। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट नै उनले राजनीति सुरु गरेका हुन्।

उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि देउवाको राजनीतिक सक्रियता ह्वात्तै बढ्यो। त्रि–चन्द्र क्याम्पसबाट विद्यार्थी राजनीतिमा लागेका देउवा नेपाल विद्यार्थी संघको संस्थापक सदस्यमध्ये एक हुन् भने विसं. २०२८ साल असोज १ गते देखि विसं. २०३६ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष रहे।

त्रिभुवन विश्वविद्यालयबाट उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक गरेका छन् भने उनी लन्डन स्कुल अफ इकोनोमिक्सका रिसर्च फेलो हुन्।

नवनिर्वाचित प्रधानमन्त्री देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट फराकिलो मतान्तरले विजयी भएका थिए भने विसं २०६४ मा भएको पहिलो संविधान सभा निर्वानमा डडेल्धुरा र कञ्चनपुरको  क्षेत्र नं. ४ बाट विजयी भएका थिए। विसं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा डडेलधुरा र कैलाली क्षेत्र नं. ६ बाट अत्यधिक मतले उनी विजयी भएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  ६ : ५८ बजे