ताप्लेजुङको खोक्लिङमा जन्मेकी जसोदा सुब्बाले एक दसकअघि ‘धरान सुनसरी, यो मनमा चल्छ नि तिम्रै मनपरी,’बाट गायनमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले पूर्वेली दोहोरी, लोक, आधुनिक गीत, लिम्बु भाषाका गीत गरी तीन सय गीतमा स्वर भरिसकेकी छन् । यसअवधिमा उनले ‘आज’, ‘धुनहरु’ गरी दुई र लिम्बु भाषाको एक एल्बममा बजारमा ल्याएकी छन् ।
हालै उनले ‘बबाल होला जस्तो छ,’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । संगीतको आरोहअवरोहमा दसकभन्दा बढी समय पार गरिसकेकी गायिका जसोदा सुब्बा ‘भर्सटायल’ हुन मनपराउँछिन् । त्यसैले होला, यसपटक उनको गीतमा रोमान्सयुक्त छ । अंग्रेजीमा एमएसम्मको अध्ययन गरेकी उनी कुनै समय सोखमा गीत गाउन थालेपनि अहिले गायन नै पेसा बनेकोमा खुसी छिन् । उनै गायिका जसोदा सुब्बासँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
भर्खरै बबाल होला जस्तो गीत युट्युबमा आएको छ, प्रतिक्रियाहरु कस्तो पाइरहनुभएको छ ?
कुमार श्रेष्ठको शब्द र संगीतमा मैले गाएको बबाल होला जस्तो गीतले दैनिक चर्चा बटुलिरहेको छ । यो गीत गाउन पाउँदा मलाई निकै खुसी पनि लागिरहेको छ । युट्युबमा कुनै प्रचारबिना राम्रै भ्युअर्स बढिरहेको छ । दर्शकश्रोताले पनि मनपराइ दिनुभएको छ । फरक स्वादको छ । यही गीतकै कारण अहिले मिडियाको ध्यान पनि तानेको छ । गीतको प्रमोटका लागि मिडियाको निम्तो पाइरहेकी छु ।
तपाईले लोकगीतबाट गायन यात्रा थाल्नुभएको थियो, पछिल्लो गीत फरक धारको छ, गायनको धार परिवर्तन गर्न लाग्नुभएको हो ?
मैले धरान सुनसरी गीत गाएर गायन यात्रा थालेकी हुँ । त्यसपछि धराने सोल्टीज्यु, पूर्व प¥यो धरान बजार, माया गर्छु, कोपिला सरी, कस्तो हुन्थ्यो होला जस्ता लोक, पप, आधुनिक गीत पनि गाएँ । म एउटै विधा र एउटै धारमा अडिन्न । मलाई भर्सटायल हुन मन पर्छ । त्यसैले पनि यसपटक अलि फरक स्वाद, फरक धारको गीत गाएँ । यो समयको माग पनि हो ।
तपाईंका गीतहरु बढी रोमान्टिक हुने गर्छन्, जीवन रोमान्समै विताउनुपर्छ भन्ने धारणा हो ?
खासमा मलाई सेन्टिमेन्टल गीतहरु गाउन मन थियो । तर, रोमान्स गीत गाउने अवसरहरु मात्र जुरिरहेको छ । जीवनलाई रमाईलो बनाउन यस्तो गीतले साथ पनि दिन्छ होला ।
तपाईंको क्षेत्रमा स्थानीय तहको निर्वाचन पनि हुदैछ, निर्वाचन माहोल तताउन विभिन्न पार्टीले सांगीतिक उत्सव पनि गर्छन्, त्यता जाने तयारी कस्तो छ ?
केही दिनमै हङकङ जानुपर्ने भएकोले निर्वाचनको माहोलमा पुग्न नपाउने भएँ । हङकङमा सांगीतिक कार्यक्रम रहेका छन् । भ्याए भने फर्केर जानुपर्छ ।
सांगीतिक कार्यक्रमको लागि बाहिरी मुलुकमा आउजाउ भइरहन्छ ?
हङकङ पहिलोपटक जाँदैछु । बहराइन पुगेकी छु । फेरि पनि जादैछु । नेपाली संगीतप्रेमीहरु विभिन्न मुलुकमा हुनुहुन्छ । ती मुलुकबाट निम्ताहरु आइरहेका छन् । धेरै देशमा जान नसकेपनि केही देशमा आउजाउ भइरहेकै छ ।
तपाईं केही समय कोरिया बस्नुभयो, केको सिलसिलामा पुग्नुभयो त्यता ?
मलाई कोरिया क्रेज लागेको थियो । यहाँको कल्चर बुझ्न मन लाग्यो र काम गर्नकै लागि कोरिया गएँ । तीन वर्ष कोरिया बसें । मैले कोरियामा कामभन्दा धेरै घुम्ने काम गरें । त्यहाँको कल्चर सिक्नमा समय विताए । त्यहाँको संगीतबारे बुझ्ने मौका पाएँ । त्यहाँको गायकगायिका पनि आफ्नो क्षेत्रमा १४–१८ घन्टा खटेको देखें । हरेक क्षेत्रमा मेहेनत गर्नुपर्दोरहेछ भन्ने कुरा कोरिया बसाइँबाट सिकें ।
सिकेका कुरा व्यवहारमा ल्याउन कतिको सकिन्छ जस्तो लाग्छ ?
काठमाडौंको समय व्यवस्थापन एकदमै कमजोर छ । आफैले समय मिलाउँदा पनि अरुको समय मिल्दैन । यसरी समय विग्रदै जाँदा अल्छी हुदै जाने रहेछ । तर, म मेहेनत गर्ने प्रयासमा छु । अबका दिनमा अझै राम्रो गीत श्रोतादर्शकमाझ ल्याउने प्रयासमा लाग्नेछु ।
अहिले तपाईं जुन अवस्थामा हुनुहुन्छ, यहाँसम्मको यात्रा कसरी तय गर्नुभयो ?
सानोमा रेडियो सुनेर गीत गुनगुनाउन सिकें । स्कुलमा पनि गीत गाउँथे । बाबाले पनि गीत सिकाउनुहुन्थ्यो । उहाँ गायक त होइन, तर मलाई गाइड गर्नुहुन्थ्यो । गीत गाउँदा गाउँदा आफ्नै स्वर राम्रो लाग्न थाल्यो । ठुलो भएर रेडियोमा गीत गाउन सक्छु भन्ने आँट त्यतिबेलै लिएँ । एसएलसी सकाएर धरान झरें । केही समय संगीत सिकें । अनि स्वर परीक्षणका लागि धरान सुनसरी गीत गाएँ । यही गीतले मलाई चिनायो । त्यसपछि अरु गीतहरु पनि गाउन सुरु गरें । चार वर्ष शास्त्रीय संगीत पनि सिकें । यही चिनारीले म आज यहाँ छु ।