नयाँ दिल्ली । दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गरेका छन् ।
गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिने भएकाले समग्र दार्जलिङबासीलाई शान्त एवम् धैर्य रहन आग्रह गरे ।
“सवै सम्वद्ध पक्षले आफ्ना मतभिन्नता र गलत बुझाईलाई जिम्मेवार बनी वार्ताका माध्यमबाट सौहाद्र वातावरणमा समाधान गर्न सकिन्छ,” सिंहले भने ।
दार्जलिङका विद्यालयमा बङ्गाली भाषालाई अनिवार्य वनाउने निर्णयले विगत केही दिन यता दार्जलिङबासी व्यापक विरोधमा उत्रिएका हुन् ।
अर्ध–स्वायत्त गोर्खाल्याण्ड प्रदेश प्रशासनमा पकड रहेको जीजेएमले गोर्खाल्याण्डलाई छुट्टै राज्य बनाउन माग गर्दै विरोधको नेतृत्व लिइरहेको छ ।
आइतबार हजारौं दार्जलिङबासीले प्रहरी भीडन्तमा मारिएका जीजेएमका कार्यकर्ताको मृत शरीर लिएर स्थानीय चोक तथा बजारमा उत्रिएपछि प्राकृतिक सुन्दरताले सिँगारिएको उक्त शहर थप तनावग्रस्त बनेको बताइएको छ ।
शनिबार प्रहरी र जीजेएमका कार्यकर्तावीच व्यापक क्षेत्रमा झडपका घटना भएपछि सम्भावित दुर्घटनाबाट जोगाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
जीजेएमले दार्जलिङको सिङमरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा शनिबार आफ्ना दुई समर्थकलाई प्रहरीले गोली हानी मारेको दावी गरेको छ । प्रहरीले आफ्नो तर्फबाट गोली चलेको भन्ने भनाईको खण्डन गरेको छ र भनेको छ झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
दार्जलिङमा जुन ८ देखि शुरुभएको आन्दोलनका क्रममा शनिबार पहिलो एक जनाको मृत्यु भएको छ । दार्जलिङमा विगत केही बर्षयता यस्तो खालको विरोध देखिएको थिएन ।
होटलहरू खाली
सात दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ ।
होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् ।
जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ज्यान गएको थियो ।
दार्जिलिङ घुम्न आउने गरका पर्यटक अहिले आएका छैनन् । उता यसअघि नै आन्दोलन र आम हड्तालकै कारण त्यहाँ रहेका भारतीय र बाह्य पर्यटक पनि भागेका थिए ।
हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ । सो आन्दोलन पछिल्लो समयमा हिंसात्मक बन्दै गएपछि स्थानीयहरुमा मात्र नभएर बाह्य पर्यटकमा पनि त्रास छाएको छ ।
दार्जिलिङका रिसोर्टमा बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर गएको छन् ।
दार्जिलिङ्का रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । एजेन्सी