काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसेसहितको बृहत पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।
शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन । सोही रिट अन्तर्गत सर्वोच्चले आजउनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।
शर्माले १० अर्ब भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेषको मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।
उनलाई अख्तियारले गत जेठ १९ गते पक्राउ गरि बिशेष अदालतमा पेश गरेको थियो ।
मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्व दुई करोड बिगो दाबी गर्नु संवैधानिक व्यवस्था विपरीत भएको सर्वोच्चको ठहर छ। कर निर्धारणमा अनियमितता गरेको भन्दै शर्मालाई जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो।