२५ मंसिर २०८१, मंगलबार | Wed Dec 11 2024

सात प्रदेशमा सात एआइजी खटाउने तयारी


४ भाद्र २०७४, आइतबार  

0
Shares

सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई खटाउने भएको छ । प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन लागिएको हो । दुई साताअघि बढुवा भएका एआइजीहरूलाई अहिलेसम्म पदस्थापन गरिएको छैन । उनीहरूलाई प्रदेशमै पठाउने तयारी भइरहेको गृहमन्त्री जनार्दन शर्माका सल्लाहकार सुरेन्द्रबहादुर शाहले बताए ।

संघीय प्रहरी ऐनविनै प्रहरीलाई संघीय संरचनामा खटाउँदा समस्या सिर्जना हुनसक्ने भन्दै धेरै प्रहरीले असन्तुष्टि जनाएका छन् । प्रहरी नियमावली मन्त्रिपरिषद्ले संशोधन गर्न सक्ने भएकाले नियमावली संशोधन गरी एआइजीलाई खटाउन लागिएको हो । केही दिनभित्रै एआइजीलाई प्रदेशमा खटाउने तयारी छ ।

हाल प्रहरीमा ११ जना एआइजी छन् । सातजनालाई प्रदेशमा तथा एकजनालाई महानगरीय प्रहरी कार्यालयमा खटाएपछि बाँकी तीनजनालाई प्रहरी एकेडेमी र मुख्यालयमा राख्ने तयारी छ । दरबन्दी मिलाएर प्रहरी नियमावली संशोधन गर्न लागिएको छ । एआइजीलाई प्रदेशमा खटाउन कानुनी व्यवस्था गर्न छलफल भइरहेको शाहले बताए ।

यी हुन् बढुवा भएका एआइजी
गत २० साउनमा सरकारले ११ डिआइजीलाई एआइजीमा बढुवा गरेको थियो । बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, केशरीराज घिमिरे, पशुपति उपाध्याय, माधव जोशी, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, विजय भट्ट एआइजीमा बढुवा भएका थिए । तर, अहिलेसम्म उनीहरूले डिआइजी पदमा रहँदाको कार्यालयबाट काम गर्दै आएका छन् । बढुवा भएका एसएसपी र एसपीको पनि हालसम्म पदस्थापन भएको छैन । काठमाडौं परिसरलगायत मुख्य कार्यालयहरूमा कसलाई खटाउने भन्ने विवादले सरुवा र पदस्थापन रोकिएको हो । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार  ६ : १७ बजे