३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

गाैरी जोशीले फिर्ता लिए एनअारएन अमेरिकामाथि लगाएको मुद्दा


७ भाद्र २०७४, बुधबार  

0
Shares

न्युयोर्क । गैरअावासीय नेपाली संघ, अमेरिका(एनअारएन) का अध्यक्षका दाबेदार गाैरी जोशीले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका छन् ।

एनअारएन अमेरिकाको निर्वाचन समितिले अध्यक्षको अन्तिम उमेदवार सूचीमा अाफ्नो नाम प्रकाशन नगरेको भन्दै उनले एनअारएन एनसीसी बाेर्ड, निर्वाचन कमिटि र निर्वाचन कमिटिमा रहेका सबै सदस्यविरूद्ध टेनिसी अदालतमा अगस्ट ७ मा मुद्दा दायर गरेका थिए । उनको मुद्दा परेपछि अगस्ट ११ र १२ का लागि तोकिएको एनअारएन अमेरिकाको निर्वाचन स्थगित भएको थियो ।

एनअारएन विश्व सम्मेलनको अन्योलतालाइ चिर्न र एनअारएन अमेरिकाको हितका लागि अाफुले मुद्दा फिर्ता लिएको जोशीले उल्लेख गरेका छन् ।

अगस्ट २२ मा उनले विज्ञप्ति जारी गर्दै लेखेका छन्,  ‘मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।’ साथै उनले चाँडोभन्दा चाँडो निर्वाचन होस भनेर मागसमेत गरेका छन् । अाफुले उमेदवारी दिने वा फिर्ता लिने भन्नेबारे भने उनले विज्ञप्तिमा खुलाएका छैनन् ।

विज्ञप्ति जस्ताको तस्तै

आदारणीय नेपाली समुदाय
एनआरएन अमेरिका अहिले अप्ठ्यारो स्थितिमा अल्झिएको यहांहरु सबैलाई सर्वविदितै छ। अमेरिका बस्ने नेपाली समुदायको सबैभन्दा ठुलो संस्था यो स्थितिमा आओस भन्ने हामी कसैको पनि चाहना थिएन । अहिलेको स्थितिले केही साता पछि काठ्माडौ आयोजना हुन लागेको एनआरएनए विश्व सम्मेलनमा पनि अमेरिकाको प्रतिनिधित्वको विषयमा अन्यौलता आएको छ । यो अन्यौलताले हामी विश्व एनआरएन अभियानमा पछाडि पर्छौ कि भन्ने जोखिम पनि थियो। म अहिले यो अन्यौलतालाई आफूले नै निकास दिन अग्रसर हुने निष्कर्षमा पुगेको छु ।

यहांहरु सबै जानकार नै हुनुहुन्छ, विभिन्न परिस्थितिजन्य कारणले विवाद हुन पुग्यो । हुनु त समस्या नयाँ थिएनन । विगत २ वर्ष देखिनै एनआरएन अमेरिका यही समस्यामा कहीँ कतै अल्झिएको अवस्था थियो । मुद्दा मामिलामा जाने मेरो कुनै चाहना थिएन । तर, पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।

मेरो उम्मेदवारी प्रति यहाँहरूको अपार सहयोग र समर्थन थियो। यही बलले मलाई नेतृत्व लिन प्रेरित गरिरहेको थियो । एनआरएन अमेरिका वास्तवमा अमेरिका बस्ने नेपाली समुदायको हितको लागि होस भन्ने यहाँहरूको चाहना थियो । तपाईँहरूको चाहना अनुसार नै मैले यसलाई मुख्य मुद्दा बनाएको थिएँ । मैले अहिले अदालतमा दायर मुद्दा फिर्ता लिए पछि पनि समुदायको सहयोग र हितका लागि सधैँ तपाईहरुकै साथमा उभिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । एनआरएन अमेरिकालाई अझ संस्थागत, विवादमुक्त र समुदायको हितका लागि काम गर्न संस्था बनाउन म तपाईहरुसंगै एनआरएन अमेरिकामा सक्रिय भइरहने छु ।

निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ। यसबाट एनआरएन अमेरिकामा सहमति र सहकार्यको वातावरण वनोस भन्ने आग्रह पनि गर्छु । अव छिटो निर्वाचन भई नयाँ कार्यसमिति आओस भन्ने मेरो माग छ । हामी नेपाली समुदायलाई आफ्नो एनआरएन अमेरिकाको नेतृत्व छान्ने जिम्मेवारी छिटो दिन पनि म सम्बन्धित सबैलाई आग्रह गर्छु । तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न मेरो अनुरोध छ ।

अन्त्यमा, यहांहरुले दिनु भएको सहयोग सद्भाव र समर्थनको म सधैँ ऋणी रहने छु ।

धन्यवाद

गौरी राज जोशी
टेक्सस ड्यालस – अमेरिका

प्रकाशित मिति : ७ भाद्र २०७४, बुधबार  ८ : ०४ बजे