२२ जेष्ठ २०८०, सोमबार | Mon Jun 5 2023

गोथम कमेडी क्लबमा प्रस्तुत हुदैं शैली बस्नेत


१७ भाद्र २०७४, शनिबार  

2
Shares

आङछिरिङ शेर्पा/न्युयोर्क

न्युयोर्कको गोथम कमेडी क्लब चर्चित मञ्च हो । चर्चित कलाकारले यस क्लबमा आएर दर्शकलाई हसाउँछन् । क्लबमा कार्यक्रम हेर्न नेपाली दर्शक खासै पुग्दैनन् र प्रस्तुति लिएर मञ्चमा पुगेका पनि छैनन् ।

यही क्लबमा पहिलोपटक आगामी सेप्टेम्बर २० मा नेपाली चेली शैली बस्नेतले हास्य कला प्रस्तुत गर्ने भएकी छन् । शैलीको ‘टप सट शो’ हेर्न दर्शकले अनलाइनबाट धमाधम टिकट लिइरहेका छन् । ‘अध्ययन र रुचिकै कारण मैले न्युयोर्कको गोथममा आफ्नो कला प्रस्तुत गर्ने मौका पाएकी छु,’ शैलीले भनिन्, ‘न्युयोर्कमा पहिलोपटक गर्न लागेको यो कार्यक्रममा नेपाली समुदायको उपस्थिति बढी भएमा मलाई थप हौसला मिल्नेछ ।’

शैलीको पृष्ठभूमि हेर्ने हो भने उनी पर्वतारोही हुन् । पर्वतारोहणमा चर्चा कमाएकी शैलीले नेपाल हुदंै न्युयोर्कमा गरेको कलाकारिता अध्ययनकै कारण यो क्लबमा उभिने मौका पाएकी हुन् । उनी समाबेशी महिला आरोहण दलबाट सात महादेशका उच्च हिमाल आरोहण गर्ने दलकी ‘टिम लिडर’ हुन ।
उनले पहिलोपटक सन् २०११ मा काठमाडौको पाटन ढोकास्थित यलमाया केन्द्रमा पहिलो स्ट्यान्ड अप प्रस्तुती दिएकी थिइन् । उनलाई त्यतिखेर चर्चित हास्य कलाकार मनोज गजुरेललगायत वरिष्ठ पत्रकार कुन्द दीक्षित तथा आसुतोष तिवारीले साथ दिएका थिए । ‘मेरो रुचि र मेहेनत देखेर नेपालमा अग्रजहरुले दिएको माया र सहयोगले यहाँसम्म आउन सजिलो भएको छ,’ उनले भनिन्, ‘सुरुसुरुमा नेपाली भाषामा गर्दै आएको पहिलो कार्यक्रम “ठट्टै ठट्टा’’ बाट अहिले थप अंग्रेजी भाषामा लगातार प्रस्तुति दिन थालेकी छु ।’
पर्वतारोहणसँगै सन् २०१३ मा चार महिने अमेरिका बसाइको क्रममा कोलोराडोको बोल्डरमा पनि शैलीले स्ट्यान्ड अप कमेडी शोमा आझ्नो प्रतिभा देखाउने मौका पाएकी थिइन् । कोलोराडोको त्यही शोमा प्रस्तुत उनको कला अमेरिकी दर्शकहरुले रुचाएका थिए । एक त सगरमाथा आरोहण गरेकी त्यसमा पनि नेपाली महिला उनलाई धेरै दर्शकहरुले मन पराए ।

सगरमाथा आरोहणपछि सातै महादेशका अग्ला हिमाल चढ्ने विश्वको पहिलो नेपाली महिला टोलीको नेतृत्व गर्ने क्रममा सन २०१४ र २०१५ मा उनले स्ट्यान्ड अप कमेडीलाई सो कार्यक्रमबाट विश्राम लिएकी थिइन् । ‘त्यतिखेरको हाम्रो प्रथामिकता भनेको सेभेन समिट पुरा गर्ने भएकोले त्यो दुई वर्ष पर्वतारोहणलाई मात्र केन्द्रित गरे,’ उनले सुनाइन् । सेभेन समिट गरेपछि सन् २०१६ देखि शैलीले आफनो कला यात्रालाई निरन्तरता दिन थालिन् । कला क्षेत्रमा विस्तारै जम्न थालेपछि शैलीले कोलोराडोपछि सहयात्री सिमा गोल्छाको साथमा गत अप्रिल १ तारिख भारतीय कमिक वासु प्रिमलानीसंगै पनि आर्कषक प्रस्तुत गरेकी थिइन् । त्यसपछि गत जुन महिनामा न्युयोर्कको कमेडी क्लबमा प्रस्तुति दिन केही महिना कमेडी क्लासको अध्ययन गरेकी थिइन । उनले न्युयोर्कको केही महिनाको अध्ययन सकेलगतै अमेरिकाकै उत्कृष्ट गोथम कमेडी क्लबका प्रोड्युसरले उनलाई शो गर्न प्रस्ताव गरेका थिए । शैली भन्छिन्, ‘मैले गरेको अध्ययनसँगै नेपाल र कोलोराडोमा प्रस्तुत गरेको अनुभव गोथमलाई सुनाएपछि उनीहरुले मलाई प्रस्तुति गर्न दिने भनेपछि निकै खुसी लाग्यो ।’ । गोथम कमेडी क्लबमा यस्तो मौका पाउछु भनेर नसोचेको तर अमेरिका जति ठुलो छ नयाँ प्रतिभाको पनि खोजी त्यतिकै हुदो रहेछ भन्ने अनुभव बटुलेको उनले सुनाइन् ।

विशेषगरी अमेरिकालगायत विभिन्न मुलुकहरुमा स्ट्यान्ड अप कमेडीमा विविधतालाई राम्रो स्थान दिइन्छ । यो क्षेत्रमा महिलाहरुको सहाभागिता निकै कमी छ । महिला कमी भएपनि उनीहरुको असल प्रस्तुतिले पछिल्लो वर्षको सबैभन्दा बढी कमाइ गर्ने दश कमेडियनभित्र एक जना महिला परेका छन् । ‘अमेरिकाले अझै महिला राष्ट्रपति पाएको छैन । त्यसैले यहाँ म सायद ठिक समयमा ठिक ठाउँमा आइपुगेछु कि जस्तो लाग्छ। ’ उनले कलाको प्रस्तुती बताए ।

नेपाली कलाकारको प्रतिनिधित्व गर्दै उनले प्रस्तुत गर्ने गोथम कमेडी क्लब न्युयोर्कको निकै ठुलो मञ्च हो । बिदाका दिनमा यहँ विश्वकै चर्चित कलाकारहरुको प्रस्तुति हुन्छ भने अरु दिनमा पनि नयाँ कलाकारले भने जस्तो मौका पाउदैन । ‘यो अवसरलाई सम्झेर धेरै खुसी लाग्छ,’ उनले भनिन् ‘कमेडीबाट मुलधारको मनोरञ्जन क्षेत्रमा नेपालको नाम घन्काउने मेरो सपना छ । बुधबारकै दिन भए पनि त्यो हल पुरै नेपालीले गुञ्जाउन गर्न सकिएमा नेपालको राम्रो परिचय हुनेछ ।’

यसपटकको शैलीको कमेडीमा प्रस्तुति आफैंमाथिको व्यंग्यबाट शुरु हुनेछ भने त्यसपछि म नेपाल कहाँ छ भनेर दर्शकमाथि व्यंग्य गर्नेछ । त्यसपछि तेस्रो विश्वका सामाजिक र राजनीतिक पाटोका कुरासमेत समेट्ने भएकी छन । ‘अमेरिकी करेन्ट अफेयर्सबारे पनि केही कुरा राख्छु तर अमेरिकन कमेडीमा गर्दै आएको धेरै व्यक्तिगत तथा यौनका कुराहरुमा जाँदिनँ । यहाँका सिनियर कमिकहरुले एउटा नेपालीको आँखाबाट देखिएको अमेरिकाको चित्रण नै मेरो सबैभन्दा ठुलो विशेषता हो, म त्यसैमा बढी केन्द्रित हुनेछु,’ शैलीले भनिन् ।

हिमाल आरोहणबाट बनेको परिचय पाएकी उनी नेपालमा विगत दुई बर्षदेखि बेचविखनमा परेर फर्किएका युवा महिलाहरुलाई ट्रेकिङ गाइड बन्ने तालिम दिइरहेका छन् । त्यस्तै भुकम्पपछि सिन्धुपाल्चोकको आठवटा स्कुलहरुलाई पनि सहयोग गरिरहेकी छिन् । नयाँ गन्तव्यको खोज तथा प्रचारप्रसारमा सक्रिय उनी कमेडीलाई व्यक्तिगत संवादको माध्यम मान्छिन् । ‘मेरा भोगाइ, मैले देखेको संसार र हामीले दैनिक भोग्ने नेपाललाई हसाइहसाइ स्वादिलो भाषामा पस्कने मेरो रहर छ । आगामी दिनमा यी सबै कायमै राख्दै अझै ठुला मञ्चमा पुग्ने मेरो सपना छ,’ शैलीले बताइन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०७४, शनिबार  २ : ०१ बजे