काठमाडाैं । गैरअावासीय नेपाली संघकाे निर्वाचन केहीबेरमा सुरू हुदैंछ । निर्वाचनका लागि अध्यक्ष पदमा जमुना गुरूङ र भवन भट्टले उम्मेदवारी दिएका छन् ।
अस्ट्रेलियाकी व्यवसायी जमुनाको प्रस्तावकमा टोनु गोथाने रहेका छन् भने समर्थकमा इन्द्रा वन रहेका छन् । उनलाइ नेपाली कांग्रेसको समर्थन रहेको छ । अध्यक्षका अर्का प्रत्यासी जापानका व्यवसायी भवन भट्टका प्रस्तावकमा टासी वाङ्दी लामा रहेका छन् भने समर्थनमा खगेन्द्र न्याैपाने रहेका छन् । भट्टलाइ नेकपा एमालेको समर्थन रहेको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावाली अनुसार २ उपाध्यक्षा पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा उम्मेदवारी दिनेमा कुमार पन्त, खगेन्द्र क्षेत्री, कुल अाचार्य, चिरञ्जिवी थापा, सोनाम लामा र रविना थापा रहेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राज भण्डारीले उम्मेवारी दिएका छन् ।

को हुन् जमुना गुरुङ ?
लमजुङमा जन्मिएकी गुरुङ पति शेष घलेसँगै उच्च शिक्षाका लागि सन् १९९१ मा अस्ट्रेलिया गएकी थिइन् । अस्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बिआरडब्लु म्यागेजिन’ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा आठौं नम्बरमा राखेको थियो ।
शेषसँगको साझेदारीमा उनले मेलबर्नमा ‘मेलवर्न इन्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’ कलेज सञ्चालन गरिरहेकी छिन् । उनी त्यसको प्रबन्धक हुन् । कलेजको स्थापनासँगै उनीहरुको सम्वृद्धि यात्रा अघि बढेको हो ।
जमुनाको सम्पत्तिको महत्वपूर्ण हिस्सा यही कलेजको आम्दानी रहेको म्यागेजिनले बताएको थियो । जमुना एमआईटी ग्रुप होल्डिङ्समार्फत् काठमाडौंमा निर्माण सुरु भएको ‘सेराटन काठमाडौं होटल’की मुख्य साझेदार पनि हुन् ।
नेपालमा शिक्षा र स्वास्थ्यमा परोपकारी काम गर्ने लक्ष्यसहित घले दम्पत्तीले २०७१ पुसमा नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा गरेका थिए ।
को हुन् भवन भट्ट ?
अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा व्यवसाय गर्छन् ।
जापानमा सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ । उनका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए ।
कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदियो । यसरी ६ वर्षसम्म फरक÷फरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए । विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उनले बनाए ।
नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी गरिसकेको छ । जापान गएको ६ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किनेका थिए ।
यस्तै उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी गरिसकेको छ । कारोबार दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउन्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ । हालै बिबी एअरवेजले ७५७ बोइङ विमानसमेत किनेको छ ।