काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताए । नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन् ।
प्रधानमन्त्रीले देउवाले भने, “स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ ।” प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने दाबी गरे । उनले नेपाल संवत् मौलिक संवत्का रूपमा रहेको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्को शुरुवात गर्नुभएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन रु १० लाख सरकारका तर्फबाट प्रदान गरिने छ गरे ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । यसैको खुशियालीमा विशेष गरी काठमाडौँ उपत्यकालगायत देश विदेशमा बसोबास गर्ने नेवार समुदायले भव्यरूपमा विविध कार्यक्रम गरी नयाँ वर्षको शुरुवातका रूपमा मनाउने गर्छन् ।
यस वर्षको नेपाल संवत् नयाँ वर्षको नारा ‘नेपाःया म्हसीका, नेपाःया गौरव ः राज्य हे छ्यलेमाः नेपाल संवत्’ रहेको छ ।