६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

विकास र संरक्षणको अभावमा रामग्राम स्तूप ओझेलमा


१८ कार्तिक २०७४, शनिबार  

0
Shares

पुरुषोत्तम सुवेदी/नवलपरासी

भगवान् गौतमबुद्धको एकमात्र अष्टधातु रहेको रामग्राम स्तूप विकास र संरक्षणको अभावमा ओझलमा परेका छन् ।
नवलपरासी रामग्राम नगरपालिका–७ उजैनी स्थित यो स्तूपमा पूजा तथा भ्रमण अवलोकन गर्ने विभिन्न देशका बाह्य तथा आन्तरिक पर्यटक आए पनि सम्बन्धित सरोकारवाला र स्थानीयस्तरमा समेत यसलाई महत्व नदिँदा स्तूपले काँचुली फेर्न नसकेको हो ।

रामग्राम स्तूपको विकास एवं संरक्षण गर्ने जिम्मा लुम्बिनी विकास कोषले पाएको छ । तर कोषले न आफूले विकास गर्ने, न यहाँका स्थानीय सरकारी तथा गैरसरकारी निकायलाई विकास गर्न अनुमति दिइने गरेका छन् ।

त्यसैले स्थानीवासीले स्तूपको विकास र संरक्षणका लागि स्वायत्त रामग्राम विकास कोषको गठन गर्न माग गरेको छ । यसका लागि रामग्राम स्तूप संरक्षण तथा प्रवद्र्धन विकास संस्था नवलपरासीले छलफलदेखि आमरण अनसनसम्मको दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ ।  बौद्ध धर्मअनुसार यो स्तूप आजदेखि पच्चीस सय वर्ष पहिले कोलिय राजाद्वारा निर्माण गरिएको हो । शान्तिका अग्रदूत भगवान् बुद्धको महापरिनिर्वाणपछि अन्त्येष्टि भएर बचेको अस्थि (अवशेष) ल्याएर अस्तु कलशमा राखेर यो स्तूपलाई संरक्षण गरिएको धार्मिक शास्त्रमा उल्लेख रहेको यसका जानकारहरू बताउँछन् ।

रामग्राम स्तूप संरक्षण तथा प्रवद्र्धन विकास संस्थाले स्वायत्त रामग्राम कोष गठन गर्नका लागि स्थानीयस्तरमा निर्वाचित प्रतिनिधि तथा राजनीतिक दलसँग छलफल, यस क्षेत्रका सांसदको ध्यानाकर्षण, हस्ताक्षर संकलन, लुम्बिनी विकास कोषका पदाधिकारीलाई रामग्राम स्तूपमा प्रवेश निषेध र अन्त्यमा आमरण अनशनजस्ता दबाबमूलक कार्यक्रम राखिएको छ ।

रामग्राम स्तूपको विकास नगरी लुम्बिनी विकास कोषले यसको अस्तित्व मार्न खोजेका कारण आफूहरू रामग्राम विकास कोषको माग गर्न बाध्य भएको रामग्राम स्तूप संरक्षण तथा प्रवद्र्धन विकास संस्था नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले बताए ।

यसको विकास गरे लुम्बिनीको महत्व कम हुने भन्दै लुम्बिनी विकास कोषले यो स्तूपको विकास र संरक्षणमा चासो नदिएको स्थानीयवासीको आरोप छ । सरकारले स्तूपको विकासका लागि पनि कराडौँको रकम विनियोजन गरी कोषलाई जिम्मा लगाउँदै आएको छ । तर स्तूपको विकास गर्न जिम्मा पाएको लुम्बिनी विकास कोषले यस स्तूपको विकास गर्न नखोज्दा रामग्राम स्तूपले काँचुली फेर्न नसकेको हो ।
रामग्राम स्तूप क्षेत्रको विकासका लागि आवश्यक बजेट र कार्यक्रम ल्याउने तथा स्वायत्त रामग्राम कोष गठनका लागि पहल गरिने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।

बौद्ध स्तूप अन्य स्थानमा समेत रहे पनि रामग्राम स्तूप बुद्धको परिनिर्वाणपछि विभिन्न राजाले बनाएका विभिन्न आठ स्तूपमध्ये सिंगो अस्तु भाग रहेको यो स्तूप मात्र हो । बाँकी सात वटा स्तूपको उत्खनन गराई तत्कालीन मगध सम्राट अशोक मौर्यले ती अस्थिलाई उत्खनन गराई विभिन्न देशका राज्यमा पु¥याउन लगाएका थिए ।

तर रामग्राम स्तूपको सुरक्षार्थ खटिएका नाग जातिको आग्रहमा उहाँले उत्खनन नगराइदिँदा सिंगो भाग बचेको हो । त्यही भएर रामग्राम स्तूप संसारको एक मात्र सिंगो भाग अस्तु रहेको संरक्षित स्तूप रहेको दाबी गरिन्छ ।

विशेषगरी चीन, भारत, थाइल्याण्ड, भियतनाम, जापान, श्रीलंका, कोरियालगायतका ठाउँबाट मासिक करिब ५०० पर्यटक यहाँ आउने गरेका छन् ।

स्तूपको दिगो विकास र उचित व्यवस्थापन गरें पर्यटन प्रवद्र्धनसँगै वैदेशिक आम्दानीको ठूलो स्रोत बनाउन सकिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार  ९ : ०४ बजे