काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादव बस्नुभएको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त बिष्टको घर डा यादवका लागि भाडामा लिएको थियो । गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फत घर र बत्तीको भाडा भुक्तानी गर्दै आएको थियो । यस पटक विसं २०७४ साउन १ गतेदेखि घर बहाल सम्झौता नवीकरण नगरी भाडा पनि नतिरेको भनी घरधनी बिष्टले आजको गोरखापत्र दैनिकमा अहिलेसम्मको बाँकी बहाल तिरी घर खाली गर्न १५ दिने सूचना प्रकाशन गरेका हुन् । घरधनी बिष्ट अमेरिकामा छन् ।
विष्ट पारिवारिक स्रोतका अनुसार पटक पटक पूर्वराष्ट्रपति र राष्ट्रपति कार्यालयलाई बहाल तिर्ने व्यवस्था गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएकाले घर खाली गर्न सार्वजनिक सूचना जारी गर्न बाध्य हुनुपरेको हो । पन्ध्र दिनभित्र घर खाली नगरे कानूनबमोजिम हुने सूचनामा उल्लेख छ ।