बिजयोत्सवमा साइकल यात्रा र सांगीतिक साँझ पनि हुने
काठमाडौं– ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा यही कात्तिक २४ गते मनाइने विजयोत्सवको तयारी पूरा भएको छ । समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अबसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गर्ने भएको छ । बिजयोत्सवका बेला सिन्धुलीगढीलाई राजधानीसँग जोड्न साइकल यात्रा गर्न लागिएको हो । यस बर्ष गढीयुद्धमा विजय हासिल गरेको २५० बर्ष पुग्दैछ । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको विजयोत्सवलाई भब्य बनाउन अभियानले ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा र त्यही दिन साँझ सिन्धुलीमाढीमा विजयोत्सव साङ्गीतिक समारोह गर्न लागेको अभियानले जानकारी दिएको छ ।
विजयोत्सवका कार्यक्रममा राष्ट्रप्रमुख तथा उपप्रमुख दुवैजनाको सहभागीता हुने भएको छ । साइकल यात्रा तीनकुनेबाट सुरु हुनेछ । यात्राको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले गर्नेछन् । सिन्धुलीगढीमा मनाइने विजयोत्सवमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनु हुनेछ । अभियानका संयोजक लीलानाथ घिमिरेले सिन्धुलीगढीलाई विश्वसामु चिनाउन साइकल यात्रा आयोजना गरिएको बताए । ‘हामीले हरेक बर्ष गरिने साइकल यात्रालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रयास गरेका छौं । ‘राइड टु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर यस यात्रामा विश्वभरिका साइकल यात्रामा रमाउन चाहनेहरुलाई सहभागी गराउने योजना छ’ घिमिरेले भने, ‘यसलाई राइड टु सिन्धुलीगढी नाममा ब्रन्डिङ गरेका छौं । यस बर्ष विदेशीसमेत साइकल यात्रामा सहभागी हुँदैछन् ।
सुनकोशीको तिरैतिर भएर जाने बनेपा–सिन्धुली–बर्दिबास सडकमा साइकलयात्रा निकै रोमाञ्चक हुने छ । सुनकोशी तिरैतिरको रमणीय दृष्य हेर्दै नागबेली सडकमा यात्रा गर्नुको आनन्द बेग्लै हुने गत बर्ष साइकल यात्रामा सहभागी भएकाहरुले बताएका छन् । यस साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकलयात्री पुस्कर शाहले गर्दैछन् ।
यात्रामा १ सय १० जना साइकल यात्री सहभागी हुने साइकल यात्राका संयोजक सौरभ ढकालले जानकारी दिए । अभियानले एक बर्षअघि अनलाइनबाट सहभागी हुन चाहनेहरुलाई दर्ताका लागि आह्वान गरेको थियो । ढकालका अनुसार साइकलयात्रा कात्तिक २३ गते सुरु छ । ‘साइकल यात्रीहरु खुकोर्टमा बास बसेर भोलिपल्ट सिन्धुलीगढीमा हुने विजयोत्सवमा सहभागी हुनेछन्,’ ढकालले भने ‘त्यहाँबाट माढी झरेर उनीहरु विजयोत्सव सांगितिक साँझमा रमाउने छन् ।’ साइकल यात्री काठमाडौंबाट झण्डै १ सय ५३ किलोमिटर यात्रा तय गरेर सिन्धुलीमाढी पुग्ने ढकालले जानकारी दिए ।
सांगितिक समारोहमा स्थानीय कलाकारले विभिन्न जातजातिका भेषभुषा, नृत्य, संस्कृति प्रदर्शन गर्ने अभयिानका अभियन्ता दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार त्यहाँ होटल ब्यवसायीले खाना महोत्सवसमेत गर्नेछन् । दुई दिनको यात्राले थाकेका यात्रीलाई साङ्गीतिक मनोरञ्जन लिँदै खानपिनको आनन्द लिन पाउने ब्यवस्था त्यहाँ गरिने भएको छ ।
यात्रुको सुविधाका लागि आयोजकले खाने, बस्ने, बीमा, एम्बुलेन्सहितको मेडिकल टिम, स्वयंसेवकहरु, साइकल मेकानिक्सहरुको ब्यवस्था गरेको अर्का अभियन्ता भुवन थापाले बताए ।