७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राजनैतिक आकाशमा उदाएका ह्योल्मो तारा: निमा लामा ह्योल्मो


२९ मंसिर २०७४, शुक्रबार  

0
Shares

तेम्बा दोङ्बा ह्योल्मो/न्युयोर्क

जनसंख्याको हिसाबले अल्पसंख्यक भएपनि ह्योल्मो जातिमाझ केही हदसम्मा राजनैतिक चेतना पहिलादेखि नै उदाएको भान हुन्छ । पञ्चायती व्यवस्थादेखि नै राष्ट्रिय राजनीतिमा ह्योल्मोहरुको सहभागिता जनाउन तत्पर रहेको देखिन्छ ।

तर सफलता भने दशकौ सम्म पनि मिलेको देखिदैन । पञ्चायती व्यवस्था ताका सिन्धुपाल्चोक जिल्लाबाट पशुपती शम्शेर जबराकै प्रतिद्वन्द्वीको रुपमा भूपू जिल्ला पञ्चायत उपसभापति स्वर्गीय दमैसिंह लामा चुनावी मैदानमा उत्रेका थिए तर विजय हासिल भने गर्न सकेनन् ।

त्यसपछि कान्छा लामाले पहिलोपटक स्वतन्त्र अनि दोस्रो र तेस्रो पटक नेपाली काँगे्रसको उम्मेद्वार बनेर तीनतीन पटक प्रतिनिधि सभामा पशुपति शम्शेरकै प्रतितिद्वन्द्वी भएर लड्दा पनि जित हासिल गर्न सकेनन् । त्यसपछि पहिलो संविधानसभा निर्वाचनमा पुनः नेपाली कांग्रेसकै उम्मेद्वार बनेर निमा ग्याल्जेन ह्योल्मो सोही क्षेत्रबाट प्रतिस्पर्धामा होमिए ।

तर जित भने माओवादीबाट उम्मेद्वार बनेका दावा तामाङले हात पारे । तामाङले तीन दशक लामो समयसम्मा त्यस क्षेत्रका सांसद बनिरहेका पशुपति शम्शेर राणालाई ऐतिहासिक हार चखाउदै पहिलो संविधानसभाको सभासद बनेका थिए । यसरी पटकपटक प्रयास गर्दापनि राष्ट्रिय स्तरको जनप्रतिनिधित्व गर्ने स्थानसम्म ह्योल्मोहरु पुग्न सकेको थिएन । यसपटक भने ह्योल्मोको ईतिहासमै पहिलोपटक राष्ट्रिय स्तरको राजनीतिमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत माओवादी केन्द्रका उमेदवार दावा तामाङलाई हराउदै निमा लामा ह्योल्मोले ऐतिहासिक जित हासिल गरेका छन् । यस जितसँगै उनी ह्योल्मोको राजनैतिक आकाशमा एउटा आशालाग्दो चम्किलो ताराको रुपमा उदय भएको छ ।

को हुन् निमा लामा ?

निमा लामा ह्योल्मो सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाँउपालिका वडा नं.२ सेर्माथाङ गाँउ निवासी चेङा लामा तथा श्रीमती फुर्पा दिकी ह्योल्मोका चार छोराहरु मध्येका जेठा छोरा हुन् । लामो समयदेखि सफल पर्यटन व्यवसायीको रुपमा परिचित निमा, श्रीमती, दुई छोराहरु र एक छोरीकासाथ विगत केही वर्ष देखि काठमाडौंको बुढानिलकण्ठा क्षेत्रमा बसोबास गर्दै आईरहेका छन् । राजनीतिमा विद्यार्थी जीवनदेखि नै लागेको भएपनि राजनीतिको अलवा उनी विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय भएको देखिन्छ । उनी धेरै देशहरुमा आफ्नो व्यवसायको सिलसिलामा वा संघसंस्थाका गतिविधिका लागि भ्रमण गरि धेरै अनुभव बटुलेका एक सफल व्यवसायी तथा अनुभवी युवा नेता हुन ।

बाम किल्लामा कांग्रेसको झण्डा

सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नं.२ को प्रदेश सभा २ ख मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको टिकट लिएर प्रदेश सभा सदस्यमा निमाले जित हात पारेका छन् । तीन दशक भन्दा बढी त्यस क्षेत्रमा एकलौटी हिसाबले प्रतिनिधित्व गर्दै आएका पशुपति शम्शेर राणालाई पहिलो संविधान सभाको निर्वाचनमा हराएका बाम गठबन्धनको तर्फबाट प्रदेशसभाका लागि उम्मेद्वार बनेका माओवादी केन्द्रका दावा तामाङलाई हराउदै निमा लामा ह्योल्मोले यो एैतिहासिक जीत हासिल गरेका हुन् । वर्तमान राजनैतिक परिदृष्यको सन्दर्भमा निमा लामाको जित ह्योल्मो समाजको लागि मात्र नभई सिन्धुपाल्चोक जिल्लाका कांग्रेस पार्टीको लागि पनि अति महत्वपूर्ण र एैतिहासिक सावित भएको छ ।

राजतन्त्रको अन्त्यसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपती शम्शेरको पटकपटकको हार पछि हालको सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ बाम किल्लाको रुपमा रपान्तरण भएको थियो । पहिलो संविधान सभामा माओवादीका दावाले र पछि दोेस्रो संविधानसभामा एमालेका शेरबहादुर तामाङले जीत हासिल गरी सो क्षेत्रको प्रतिनिधि गर्दै आएका थिए । यसपालीको निर्वाचनमा पनि सो क्षेत्रबाट प्रतिनिधि सभामा एमालेका शेरबहादुर तामाङनै विजय भएपनि प्रदेशसभा २ को २ मा भने बाम किल्लालाई चुनौती दिदै काँग्रेसको झण्डा गाड्न निमा लामा ह्योल्मो सफल भए । सिन्धुपाल्चोक जिल्लाको दुबै क्षेत्रमा काँग्रेसका उमेदबारहरु पराजय भएको अवस्थामा निमाको जित काँग्रेसको लागि एउटा महत्वपूर्ण उपलब्धी सावित भएको छ ।

कसरी जिते निमाले ?

निमाको यस जितको लागि सिन्धुपाल्चोक जिल्लाका कांग्रेस नेता कान्छा लामाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । उनको जितको लागि पार्टीबाट टिकट दिलाउनेदेखि आफ्ना विगतका प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेरसँग चुनावी गठबन्धन गर्नसमेत सहमत भई चुनावी अभियान भर नै दिलो ज्यान दिई लागेका थिए । आफूले पटकपटक प्रयास गर्दा पनि असफल भएका कान्छा लामाले अन्तमा निमा लामा ह्योल्मोलाई जिताई आफ्नो क्षेत्रमा कांग्रेसको बिउ जोगाउने मात्र नभई एउटा भरपर्दो उतराधिकारी जन्माउन पनि सफल भएका छन् ।

यस अर्थमा यसपटकको चुनावी विजयको लागि आदरणिय नेता कान्छा लामा पनि बधाईका पात्र हुन् । त्यस क्षेत्रका नयाँ पुस्ताका कांग्रेसी युवा नेताहरुले उनको योगदानको हार्दिकताकासाथ कदर गर्न जरुरी छ । युवा पुस्ताले उनलाई कुन रुपमा लिन्छन् त्यो त समयले बताउला तर यस पटकको प्रदेशसभाको निर्वाचनमा निमा लामाको बिजयलाई उनले आफूले चुनाव जितेको भन्दापनि बढी खुशी मानेका छन् ।

निमाको सक्रियता र संलग्नता

निमा राजनीतिसँगै विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय रुपमा लागेको देखिन्छ । आदिबासी जनजाति महासंघको भूपू कार्यबाहक अध्यक्ष तथा विदेश सचिवको पदमा रही आदिबासी जनजातिका मुद्दाहरुमा सक्रिय रुपमा लागेका थिए । आदिबासी ह्योल्मो जातिको जातीय संघठन नेपाल ह्योल्मो समाज सेवा संघको कार्यबाहक अध्यक्ष, ह्योल्मो फाउडेसनको अध्यक्ष, ह्योल्मो समाज सेवा केन्द्रको महासचिव, माउन्टेन स्पिरिटको अध्यक्षका साथै चाइल्ड रिच नेपाल, नमस्ते नेपाल जस्ता गैरसरकारी सामाजिक संघसंस्थाहरुमा पनि उनी संलग्न छन् ।

अल्पसंख्यक ह्योल्मो जाति अझै ओझेलमै रहेको अवस्थामा माननीय निमा लामा ह्योल्मोको विजयले यस जातिको उत्थान एवं प्रचारप्रसारमा पनि केही टेवा पुग्ने आशा लिएको छ । साथै प्रदेश सभा देखि प्रतिनिधि सभासम्म ह्योल्मोलगायत अन्य पिछडिएका जातिहरुको हकअधिकारको लागि पनि योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रादेशिक सरकारमा सहभागी हुने अवसर जुर्छ वा जुर्दैन, यो त भविष्यले नै बताउला, तर एउटा जिम्मेवार प्रतिपक्षको रुपमा देश र जनताको हितका लागि सिर्जनात्मक भूमिका निभाउन सफल रहोस र आगामी दिनहरुमा प्रदेश सभाबाट पदोन्नती भई प्रतिनिधि सभा हुदै मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रा तय गर्न सफल रहोस भन्ने कामनासहित प्रदेश सभाका सांसद माननीय निमा लामा ह्योल्मोज्यूलाई हार्दिक बधाईसहित कार्यकाल सफलताको लागि हार्दिक शुभकामना ।

temba.dongba@gmail.com

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार  ८ : ०३ बजे