एभरेस्ट संवाददाता/न्युयोर्क
गुरुङ (तमु ) समुदायको महान पर्व तमु ल्होछारको अवसरमा गुरुङ तमु सोसाइटी अफ अमेरिकाले ल्होछार कार्यक्रमको आयोजना गर्यो । बार्षिक रुपमा आयोजना गर्दै आएको ल्होछार गत डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा सम्पन्न भएका थियो ।
गुरुङ समुदायको मौलिक सांस्कृतिक झल्केको कार्यक्रम जेष्ठ नागरिक ८० बर्षिया उमा गुरुङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन्। उदघाटनपछि उनले सबैको सुस्वास्थ्य र शान्तिको लागि आशीर्वाद दिएकी थिइन । गुरुङ समुदायले ल्होछार कार्यक्रम नयाँ वर्ष फेरिएको अवसरमा परम्परागत रुपमा मनाउदै आएको छ ।
कार्यक्रममा न्युयोर्कका वाणिज्यदुत कृषु क्षेत्रीले गुरुङ समुदायको ल्होछार पर्वको शुभकामना दिंदै, नेपालको विविध जातीय, भाषिक, साँस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारले मद्दत पुर्याएको बताएका थिए ।
गुरुङ समाजका अध्यक्ष पदमबहादुर गुरुङले ल्होछारको शुभकामना दिदै ल्होछार पर्वले गुरुङहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताएका थिए ।
ल्होछार पर्वले, तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच एउटा सुमधुर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै तमुहरुबीच एकता हुन जरुरी रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा, अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष सिदार्थ गुरुङले वाणिज्यदुत कृषु क्षेत्रीलाई र क्षेत्री पत्नी रीता सुवेदीलाई गुरुङको मौलिक पहिरन भांग्रा र घलेक ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा समाजले सन २०१५ मा नेपालमा गएको भूकम्पपछि संकलन गरेको रकमबाट नेपालको ४ वटा जिल्लामा पुननिर्माणको साथै दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँगको सहकार्यमा दुइ वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माण गरेको र ३ जिल्लामा चन्द्र गुरुङ संरक्षण कोषसँगको सहकार्यमा गोरखाको गुम्दा गाविसमा विद्यालय पुननिर्मांण, जागरण मिडिया सेन्टरसगको सहकार्यमा सिन्धुपाल्चोकमा प्राथमिक विद्यालय पुननिर्माण र सगुनसँगको सहकार्यमा काभ्रेपलाञ्चोकमा विद्यालय पुननिर्माणको काम भइरहेको जानकारी दिएको थिए ।
कार्यक्रम संयोजक प्रकाश गुरुङले ल्होछारको शुभकामना दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा न्युयोर्कका विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो । ५० जना भन्द बढी स्थानीय कलाकारहरुले विभिन्न मौलिक सांस्कृतिक झल्कने नृत्य तथा गीतहरु प्रस्तुत गरेको कार्यक्रममा गुरुङहरुको मौलिक एवं परम्परागत नृत्यहरु पच्यु, घ्याब्री, र छयाडु, कौडा समेत प्रस्तुत गरिएको थियो ।
मच्छे गुरुङ र विजय गुरुङद्वारा सञ्चालित कार्यक्रममा समाजलाई सहयोग गर्ने र विशेष योगदान पुरयाउने बिष्णु पुन मगर र रोशनी गुरुङलाई स्पेसल रिकग्निसन प्रमाण पत्रले सम्मान गरिएको थियो भने यस बर्ष समाजको आजीवन सदस्य बनेका ५ जनालाई प्रमाण पत्र र ब्याजले सम्मान गरिएको थियो । गुरुङहरुको मौलिक पोशाकलाई प्रोत्साहन गर्न उत्कृष्ट पोशाकको पुरस्कार १२ बर्ष भन्दा कम उमेरका २ जना बालबालिका र एक, एक जना महिला र पुरुषलाई प्रदान गरिएको थियो ।
१२ बर्ष भन्दा कम उमेरको बालकतर्फ देवन गुरुङ र बालिका तर्फ रक्षा गुरुङले पुरस्कार प्राप्त गरे । त्यस्तै, महिलामा सोनी गुरुङ र पुरुषमा लिलबहादुर गुरुङले उत्कृष्ट पोशाकको पुरस्कार हात पारे । त्यस्तै, राफल टिकेट पुरस्कारमा पहिलो हुनेले ल्यापटप, दोश्रो हुने एप्पल घडी र तेस्रो हुनेले एप्पलकै मिनी आइप्याड प्राप्त गरेका थिए । कार्यक्रममा समाजले बर्षभरी गरिएको विभिन्न कार्यक्रमलाई समेटर तयार पारेको बर्ष क्यालेन्डर सार्वजनिक गर्नुको साथै मैरिमो चलचित्रका निर्देशक तथा नायक प्रेम गुरुङको नयाँ गीतको सिडी पनि विमोचन गरिएको थियो ।