एभरेष्ट टाईम्स् ।
अमेरिकाको उत्तर पूर्वी राज्यहरु न्युयोर्क, न्युजर्सी, कनेक्टीकट, भर्जिनिया, म्यासाचुसेट्स लगायतमा हिमपात सुरु भएको छ । यसले गर्दा तापमानमा गिरावट आई निकै चिसो बढ्नुका साथै हिमहुरी समेत बढेको छ ।
प्रतिकुल मौसममा कारण जनजीवनमा प्रभाव परेको छ । बिहीबार स्कुल कजेल बन्द भए भने शुक्रवार पनि बन्द रहने घोषणा गरिएको छ । कैयौँ उडानहरु समयमा हुन सकेका छैनन् । न्युयोर्क पोष्टका अनुसार न्युजर्सीको नेवार्क बिमानस्थलबाट हुने ७५ प्रतिशत हवाई उडान रद्द भए । त्यस्तै न्ययोर्कको जेएफके बिमानस्थलबाट हुने २३ प्रतिशत हवाई उडान रद्द भए । फ्लाईटवेयर नामको साईटलाइ स्रोत उध्दृत गर्दै पोष्टका अनलाईन संस्करणले अमेरिका भरी लगभग ३ हजार हवाई उडान रद्द भएको उल्लेख गरेको छ ।
यात्रा कठिन हुने भएकोले सकेसम्म घरबाट बाहिर ननिस्कन, गाडी नचलाउँन र अत्यावश्यक परे सार्वजनिक यातायात प्रयोग गर्न सुझाव गरिएको छ । यात्रा गर्दा केहि खाना पानी सहित फ्लास लाईट र थप लत्ताकपडा जगेडाको रुपमा साथमा बोक्न सुझाव दिईएको छ ।
नेपालीको घना बस्ती रहेको न्युयोर्कको कुईन्समा १०-१२ इन्चसम्म हिउँ पर्ने र बिहीबार रातिको तापमान माईनस ५ फरेनहाईट देखि माईनस २० फरेनहाईटसम्म जाने जानकारी दिईएको छ । राष्ट्रीय मौसम सेवाले हिमआँधी समेत हुन सक्ने चेतावनी सहित शुक्रवार बिहान १ बजे पश्चात शनिवार बिहान १० बजेसम्म चिसो हावाको बहव बढ्ने उल्लेख गरेको छ ।
न्यूयोर्क, न्युजर्सी लगायतका क्षेत्रमा बस्ने नेपालीहरूले सामाजिक सञ्जाल मार्फत लगातार प्रतिकुल मौसमको बारेमा उल्लेख गर्दै सतर्क हुन सुझाव दिएका छन् । केहिले हिउँ परेको दिन पुस्तक पढ्न र साहित्य सिर्जनामा बिताएको उल्लेख गरेका छन् । साहित्यानुरागी नदिया लिवांगले पुस्तक पढ्दै गरेकी तस्वीर फेसबुकमा पोस्ट गरेकी छिन् भने अर्की साहित्यकार मनु लोहरुङ राईले सबैलाई सुरक्षीत रहन सुझाएकी छिन् । बोस्टोनबाट साहित्यकार दीपा राई पुनले हिउँमा आमा रमाएकी उल्लेख गरी फेसबुकमा पोस्ट गरेकी छिन् ।
प्राय गर्मी हुने फ्लोरिडा राज्यमा पनि तीन दशक पछि ६ ईन्च जति हिउँ पर्नुका साथै चिसो बढेको छ । बाह्रैमास खुला रहने फ्लोरिडास्थित डिस्नी वर्ल्ड, युनिभर्सल, टाईफुन लगून लगायतका थिम पार्कहरु समेत बन्द भएको समाचारमा जनाईएको छ ।
स्थानीय निकायले केही स्थानमा आपत्कालीन स्थिती समेत घोषणा गरेका छन् ।