शुभप्रभात राई/ललितपुुर
लेखक आर. मानन्धरको दर्शन साहित्य ‘क्षितिजको स्पर्श’ विमोचित भएको छ । शनिबार कुपण्डोलस्थित साटोआकी भवनमा एक समारोहबीच उक्त कृति विमोचन भएको हो ।
साहित्यकारहरु तेजेश्वोर बाबु ग्वंगः, मधुपर्कका सम्पादक एवं लाघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सुलोचना धिताल र प्रकाशक सम्पादक नरेशवीर शाक्यले कृति संयुक्त रुपमा विमोचन गरे ।
विमोचनपछि साहित्यकार तेजेश्वोरबाबु ग्वंगःले कृतिको चर्चा गर्दै भने, ‘‘यो साहित्य काव्यात्मक रुपले प्रस्तुत गरिएको छ । पुस्तक पढ्दा मलाई यस्तो फिल भयो कि मैले दुध, चिनी र मह घोलेर एकैचोटि खाँदैछु । र यस पुस्तकलाई अंग्रेजी भाषामा पनि अनुवाद गर्दा धेरै राम्रो हुन्छ ।’’
त्यस्तैगरी श्रीओम श्रेष्ठले किताबमा जोडको शक्ति रहेको उल्लेख गर्दै भने, ‘‘पुस्तक हेर्दा छोटाछोटा रचना भएता पनि यस भित्र गहनता छ । लेखनमा शक्ति मिसिएको छ । आर.मानन्धर जस्ता लेखकहरु झक्झकिएर निस्किनु पर्छ ।’’
त्यस्तै साहित्यकार सुलोचना धितालले किताबको प्रत्येक पानामा प्रेमको धुन भेटिएको उल्लेख गरिन् । उनले भनिन्, ‘‘यस पुस्तकमा मैले ज्ञान, बुद्धका उपदेश र प्रेमको आभाष पाएको छु । प्रत्येक पानामा धुन मिसिएको छ । उक्त कविता गद्यात्मक र पद्यात्मक दुबै प्रकारले लेखिएको छ ।’’
लेखक मानन्धरले भने आफूले यस पुस्तक पाँच वर्षअघि नै नेपाल भाषामा प्रकाशन गरेको र नेपाली भाषामा आउन भने ढिला भएको बताए । भने, ‘‘यो पुस्तक पाँच बर्ष अगाडी नै नेपाल भाषामा ‘पुलाया थिया’ नाममा प्रकाशन गरिसकेको थिएँ । यसलाई नेपाली भाषामा उतार्न थाले केहिचै ठ्याक्कै अनुमान गर्न नसकेर पुनःलेखन गर्दै त्यसैलाई ‘क्षितिजको स्पर्श’ नामक दर्शन साहित्यको रुपमा निकालेको छु ।’’
लेखकले हरेक विषयलाई चारवटा कोणबाट हेर्नुपर्ने धारणा राखेका थिए । ‘‘मैले आफूले बुझेर आत्मसात गरेर भन्नुपर्दा हामीले कुनै पनि कुरालाई हेर्दा ४ तरिका ले हेर्नु पर्छ । सुन्दरता लाई सुन्दर तरिकाले, असुन्दरता लाई असुन्दरै तरिकाले, सुन्दरभित्र सुन्दरै मात्र हुदैन असुन्दर पनि हुन्छ र ४, असुन्दरभित्र पनि असुन्दरै मात्र हुदैन सुन्दर पनि हुन्छ र यसरी हामीले जुनै पनि बस्तु कम्पिल्टि हुन्छ,’’ उनले भने ।
इलोहं पुस्तक प्रकाशनले बजारमा ल्याएको साहित्यमा जम्मा ९९ कवितात्मक लेख समावेश गरिएको छ ।
शशीकला मानन्धरले सञ्चालन गरेको कार्यक्रममा सुमी लोहनीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको समापन इलोहं प्रकाशनका सम्पादक नरेशवीर शाक्यले गरे ।