२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

तामाङ घेदुङले भन्यो-अाज सोनाम ल्होछार होइन, फागुन ४ मा हो


४ माघ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । सरकारले अाज तामाङ ल्होछारको उपलक्ष्यमा सार्वजनिक बिदा दिएपनि नेपाल तामाङ घेदुङलगायत तामाङ समुदायले आज सोनाम ल्होछार नमनाउने भएका छन् ।

सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आज भन्दा ठिक १ महिनापछि फागुन ४ मा मात्रै ल्हो फेरिने भएकोले आज नमाइने भएको तामाङ समुदायका संघसंस्थाले जनाएका छन् ।

तामाङ घेदुङलगायत विभिन्न १ सय भन्दा बढि संघसंस्थाले यसअघि नै सरकारले दिएको सार्वजानिक बिदा सार्न अनुरोध गरेपनि त्यसको सुनुवाइ नहुनु दुखत भन्दै एक महिनापछि मात्रै मनाउने जनाएका छन् ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारको बिदा आज दिएपनि ल्होछार भने यो पटक सोनाम कृषिपात्रो अनुसार मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसँगै परेकोले त्यस दिन मात्रै मान्ने बताए ।

तर ल्होछारको अवसरमा आजैदेखि विभिन्न सामुहिक कार्यक्रमहरु शुरु भएको गोलेले बताए । नेपाल तामाङ राष्ट्रिय घेदुङले आज काठमाडौंको भृकुटी मण्डपमा ल्होछारको कार्यक्रम गर्दैछ । ह्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार यो वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुदैछ । एक वर्षमा एक ल्हो मानि १२ वर्षमा १२ वटा जनावरको नाममा चक्र पुरा हुने पम्परा छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गर्ने परम्परा रहेको खेन्पो सोनाम ग्युर्मिले जानकारी दिए।

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार  ७ : ४७ बजे