७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बाँदरमुढेमा मारिएका सबै सहिद घोषित: यी हुन् मन्त्रिपरिषद्को निर्णय


११ माघ २०७४, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स संवाददाता/काठमाडौं

सरकारले बाँदरमुढे घटनामा मारिएका सबै जनालाई सहिद घोषणा गरेको छ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनामा मारिएका ३८ जनालाई नै सहिद घोषणा गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भने, ‘२०७२ जेठ २३ बाँदरमुढे घटनामा मृत्यु भएका सबै ३८ जनालाई शहीद घोषणा गरिएको छ।’

त्यसैगरी सरकारले माओवादीबाट विभिन्न समयमा मारिएका १६ जनालाई पनि शहीद घोषणा गरेको छ।

 

कास्कीका कृष्णबहादुर गुरुङ, इश्वर गुरुङ, लेखबहादुर गुरुङ, सुलोत्मसिंह गुरुङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरुङ शहीद घोषित भएका छन्।

त्यसैगरी सिन्धुपाल्चोक कुभिन्डेका कृष्णप्रसाद सापकोटा, भीमटारका वीरबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजंग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी पनि शहीद घोषित भए।

सुनसरीका ब्रह्मदेव उराव, छत्र खतवे र खोटाङका कालुमान गुरुङ पनि शहीदको सूचीमा परेका छन्।

 

सातै प्रदेशमा अन्तराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र

मन्त्रिपरिषद्ले सबै प्रदेशमा अन्तराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। बिहिबार साँझ बसेको मन्त्रिपरिषद्ले सातै प्रदेशमा केन्द्र निर्माण गर्ने निर्णय गरेको हो।

प्रदेश १ को धरान, प्रदेश २ को वीरगन्ज, प्रदेश ३ को चोभार, प्रदेश ४ को दमौली, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को महेन्द्रनगर तोकिएको छ।

सचिवमा हेरफेर

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरेको छ।

बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई सार्वजनिक खरिद अनुगमनमा सरुवा गरेको हो।

त्यसैगरी सार्वजनिक खरिद अनुगमन सचिव कृष्ण देवकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा छ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार  ९ : ५४ बजे