काठमाडौं। पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेको अडियो क्लिप यतिबेला चर्चामा छ ।
एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, ‘मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ। तर ब्लुबुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने?’ उक्त क्लिपमा उनले नगद पुरस्कारसमेत नपाएको गुनासो गरेका छन् ।
एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो नेपाल आइडलका विजेता बनेका पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथमा उनले १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्टसमेत पाएका थिए ।
गत असोजको सात गते कतारको दोहामा भएको फाइनलमा उनले उपाधिसँगै ती पुरस्कार पाउने घोषणा गरिएको थियो । उनको गुनासो भाइरल बन्दै गर्दा हामीले बुद्धसँग प्रतिक्रिया लिनका लागि प्रयास गरेका थियौ । सुरुमा सम्पर्क गर्न राजी भएपनि पछि भने सम्पर्कमा आउन चाहेनन् ।
यसबारे एपी वान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मी पौडेलले भने आफूहरुले कन्ट्रयाक्टअनुसारको सबै पुरस्कार दिइसकेको दाबी गरे। पौडेलले भने-हामीले कार दिइसक्यौं ।
उनले कर नतिरेकोले यातायातले ब्लुबुक दिएको छैन । यसैगरी चेक बाउन्सबारे बुझ्दा पौडेलले भने-उनले पटकपटक चेक बाउन्स भएको भनेका रहेछन् ।
चेक बाउन्स भयो भने कानुनी रुपमा हामीलाई पक्राउ गर्ने कानुन छ । उनले चेकमा समस्या भयो भनेपछि हामीले कन्ट्रयाक्टअनुसार क्यास नै दिइसकेका छौं। पौडेलले भिडियो एल्बमसमेत बुद्धले भनेकै व्यक्तिलाई राखेर काम सुरु भइसकेको दाबी गरे ।