काठमाडौं । वर्ल्डकप क्वालिफायर अन्तर्गत क्रस प्लेअफ खेलमा नेपालले पपुअ न्यू गिनी (पिएनजी)लाई ६ विकेटले हराएको छ ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिदै अर्धशतक समेत पुरा गरे ।
११५ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । त्यसअघि टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले २७.२ ओभरमा ११४ रनमा अलआउट गरेको थियो । सुरुवात देखिनै विकेट लिन थालेको नेपालले पिएनजीलाई सम्हालिन नपाउँदै अलआउट गर्यो ।
पिएनजीलाई २७.२ ओभरमा अलआउट गर्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिए । यस्तै सोमपाल कामी र करण केसीले समान १ विकेट झारे ।
सोमपाल र करणले ओपनरलाई आउट गर्दै सुखद सुरुवात दिलाएका थिए । सोमपालले कप्ता खसद भालालई तेस्रो ओभरमा एलबीडब्लु आउट गरे भने करणले आठौँ ओभरमा टोनी उरालाई अनिलको हातबाट क्याचआउट गराए ।
त्यसपछि सन्दीप र दीपेन्द्रले कसिलो बलिङ गरेपछि पिएनजी कम स्कोरमा अलआउट भयो ।
पिएनजीका लागि चार्ल्स अमिनीद्ये सर्वाधिक १९ रन बनाए भने जासोन किलाले १५ रन जोडे ।