९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

ज्योति जंगलको पहिलो कथा सङ्ग्रह ‘छाया’ सार्वजानिक


३ चैत्र २०७४, शनिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

ज्योति जङ्गलको कथासङ्ग्रह ‘छाया’ सार्वजानिक भएको छ। शनिबार राजधानीको सर्वनाम नाटकघरमा समीक्षक राजकुमार बानिया, महेश पौड्यल, कुमारी लामा र लेखिकाले संयुक्त रुपमा विमोचन गरे ।

विमोचनमा अन्तरक्रियासमेत भएको थियो । समीक्षक वानियाले ज्योतिका कथाहरुमा  कमजोर पात्र भएको र पात्रलाई धेरै पीडा बोकाएको बताएका थिए । ११ कथामध्ये ९ कथामा नारीका वेदना र पीडा भएको वानियाले बताए ।

कथा सानो तथा थोरै भएतापनि गहनता, यथार्थवादी बोकेको समालोचक महेश पौडेलले बताए । ‘कथामा महिला हिंसा सामाजिक मुल्य मान्यता सामाजिक मुद्दा मामिलाबारे अनुभवको आधारमा दर्शाइएको छ,’ उनले भने, ‘कथा महिलावादी हैन महिलामैत्री बनेको छ ।’

साहित्य सर्जक एवं समीक्षक कुमारी लामाले ज्योतिका कथाले विद्रोह प्रस्तुत गरेको बताइन् । उनले भनिन, ‘बिद्रोह फरकफरक पाटाका हुन्छन् कथामा बिद्रोह नगरिएको जस्तो भएता पनि कथाले बिद्रोहको नै रुप लिएको छ। के देशको नागरिक भनेको मात्रै नागरिकता पाउनु हो त?  भन्ने खालका प्रश्नवाचक चिन्हहरु यो कथाले समाजलाई प्रहार गरको छ ।’

लेखक ज्योतिले समाजको परिवेशले कमजोर पात्र समेट्न बाध्य बनाएको जानकारी गराइन् । ‘समाजमा जुन घटनाले सम्पूर्णलाई भावविहोर बनाएको छ मैले त्यसैलाई कथामा उतार्ने कोसिस गरेको हो । कसैलाई होच्याएर त्यसको कुभलो चिताएर, कसैलाई गाली गर्ने हेतुले यो कथा लेखिएको हैन, मलाई १० बर्षे युद्धले दिएको दुख, बेदना, पिर, मार्का को कुराहरु समेटेर समाजलाई प्रश्नवाचक स्थितिमा पुर्याउने लक्ष्यका साथ कथा लेखेकी हुँ’ उनले भनिन् ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छायामा ११ कथा छन् । किताबको मुल्य भने २३५ रुपैयाँ तोकिएको छ । जंगलका ‘पहाडको मन’ र ‘मुक्त समय’ कवितासङ्ग्रह साथै ‘अक्षरमा तिमी’ गजलसङ्ग्रह प्रकाशित भैसकेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार  ८ : ०५ बजे